पैसामा ‘डिसइन्फेक्सन’ गराउन राष्ट्र बैंकको निर्देशन



नेपाल समाचारपत्र, काठमाडौं ।

लकडाउनका समयमा बैंकको सेवालाई निरन्तरता दिनका लागि केन्द्रीय बैंकले ‘बैंक सेवा सञ्चालन मार्गदर्शन, २०७७’ जारी गरेको छ । कोरोना भाइरस रोकथाम तथा न्यूनीकरणका लागि सरकारले जारी गरेको लकडाउनका कारण सुरक्षित ढंगले बैंकिङ सेवा सञ्चालन गर्नका लागि नेपाल राष्ट्र बैंकले सो मार्गदर्शन जारी गरेको हो ।

जारी मार्गदर्शनमा बैंक सञ्चालन गर्नका लागि बढीमा एक तिहाइ कर्मचारी सहभागी हुनुपर्ने व्यवस्था गरेको छ । बैंकमा अत्यावश्यकबाहेक अन्य कर्मचारी घरमै सुरक्षितरूपमा राख्नका लागि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

कर्मचारीहरूले न्यूनतम भौतिक दूरी कायम गरी काम गर्नुपर्ने, सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रहने बैंकिङ तथा मुद्रा व्यवस्थापनसम्बन्धी कार्य सञ्चालन गर्दा न्यूनतम भौतिक दँरी कायम गर्र्दै अनिवार्यरूपमा ग्लोभ्स र मास्क लगाई सेवा प्रवाह गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थाबाट नगद दाखिला बुझिलिंँदा शुरूमा शिलबन्दी बाक्सा नै बुझिलिने र केही दिनपछि मात्र गणना गरी बुझिलिने व्यवस्था गर्नुपर्ने मार्गदर्शनमा उल्लेख गरिएको छ ।

नोटबाट कोरोना संक्रमण फैलन सक्ने बताउँदै राष्ट्र बैंकले संक्रमण फैलन नदिन प्राप्त हुने नोट गणना गर्नुअघि डिसइन्फेक्सन गराउन अनिवार्यरूपमा स्प्रे गराउनुपर्ने व्यवस्था गरेको छ ।

यस्तै सेवाग्राहीहरूमा समेत दूरी कायम गर्नका लागि रेखांकन तथा क्यू रडको तत्काल व्यवस्थापन गर्न बैंकहरूलाई राष्ट्र बैंकले निर्देशन दिएको छ । कर्मचारीले समेत अत्यावश्यकभन्दा बाहेकका कामका लागि कसैसँग भेटघाट नगर्न मार्गदर्शनमा उल्लेख गरिएको छ ।

बैंक प्रवेश गर्दा अनिवार्यरूपमा इन्फ्रारेड थर्मोमिटरबाट शरीरको तापक्रम मापन गर्न लगाउने र कार्यालय प्रवेश गर्ने हरेक सेवाग्राहीले अनिवार्य मास्क प्रयोग गरेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

सम्भव भएसम्मका काम घरबाटै सञ्चालन गर्न व्यवस्था मिलाउन बैंकहरूलाई केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्