लकडाउनको कहरः यसपालि त यस्तै भो अर्को पालि …



माधव अधिकारी

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसले अहिलेसम्म विश्वका २ सय १५ भन्दा बढी मुलुकमा आतंक फैलाइरहेको छ । यो अवस्थामा कोरोनाले नेपाललाई पनि अछूतो राखेन । यसै बीच यो भाइरस नेपालका करिब ३० जिल्लामा फैलिइसकेको छ भने हालसम्म साढे ३ सय जनाभन्दा बढीमा संक्रमण देखिइसकेको छ ।

यो भाइरसले यहाँ दुईजनाको निधन पनि भएको छ । यस अवस्थाले यहाँको शिक्षा क्षेत्रमा पनि असर पारेको छ । अब मुलुकमा कति बेरोजगारी बढ्छ भन्ने कुरा आउने दिनले देखाउनेछ ।

चीनको वुहानमा पुसमा देखिएको कोरोना विश्वमा फैलिँदै नेपालमा माघमा एकजनामा देखियो । स्वास्थ्य मन्त्रालयले चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको माघ १० गते पत्रकार सम्मेलनमा जानकारी दिएको थियो ।

मन्त्रालयका अनुसार कोरोना भाइरसबाट संक्रमित भनिएका ती व्यक्ति जनकपुरका पुरुष थिए । कोरोनाको सामान्य शंका लागेपछि काठमाडौँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आई उनले परीक्षण गराएका थिए । उनलाई कोरोना भएको पुष्टि भयो र उपचारपछि निको पनि भए । यसको दुई महिनासम्म कसैलाई कोरोनाको संक्रमण देखिएन ।

अधिकृत तहको परीक्षा भइरहेको थियो भने नासु, खरिदारलगायतका परीक्षाका लागि तयारी भइरहेको थियो । तर सबै परीक्षा कोरोनाको चपेटामा परे । यस्तै अवस्था अझै दुई–तीन महिना रहिरहने हो भने यो वर्ष कुनै परीक्षा हुने छैनन् । ‘यसपालि त यस्तै भो अर्को पालि …!’ भन्दै तयारीमा लाग्नुपर्ने होला ।

त्यति बेलासम्म नेपालले केही सतर्कता अपनाएको त थियो नै, यसले नेपालमा यत्तिमै सीमित गर्छ कि भन्ने केही अनुमानहरु पनि विभिन्न अनुसन्धानकर्ताले लगाउन थालेका थिए । त्यसको ठीक दुई महिनापछि फरि अर्को व्यक्तिमा कोरोना संक्रमण पुष्टि भयो, जुन फ्रान्सबाट आएकी एक महिलामा देखियो ।

अब भने सरकारले सतर्कता अपनाउँदै एक हप्ताको लागि लकडाउन गर्यो । त्यसपछि क्रमशः कोरोनाका बिरामी देखा पर्न थाले । यसलाई मध्यनजर गर्दै सरकारले पटक–पटक लकडाउनको समय थप्दै गयो । हिजो ५ गते लकडाउनको समय सकिएकाले सरकारले यो समय फेरि बढाइसकेको छ ।

कोरोनाबाट बच्नका लागि गरिएको यस लकडाउनले शैक्षिक क्षेत्रमा धेरै असर पुर्याएको छ । विद्यालयस्तरमा विद्यार्थीको मूल्याङ्कन गर्ने बेला भएको अर्थात् वार्षिक परीक्षा शुरु हुन लागेको थियो । शिक्षा मन्त्रालयले सबै विद्यालयलाई सचेत गराउँदै परीक्षालाई केही समय अगावै सक्न निर्देशन दियो । यसै अनुरुप माध्यमिक तहसम्मका कतिपय परीक्षा भए तर विद्यार्थी तथा अभिवावक यसको नतिजा कुर्दै बसे । ठूला शहरका महँगा स्कुलमा पढाएका कतिपय अभिभावकले यसको परीक्षाफल पाप्त गरे तर सबैले यो सुविधा कहाँ पाउथे र ?

यता शिक्षामन्त्री गिरिराजमणि पोखरेलले लकडाउन सकिए पनि दशैँसम्म विद्यालय खोल्न नसकिने बताएका छन् । मन्त्रीले भनेको नै भयो भने पनि विद्यालय अझै ६ महिना खुल्ने छैनन् । यसले उज्यालो भविष्य देखेर बसेका लाखौं विद्यार्थीको मानसिकतामा कस्तो असर पर्ला ? यतातिर पनि सोच्ने कि !

पहिला–पहिला फलामे ढोका मानिने एसएलसी वा अहिलेको एसईईको तयारीमा जुटेका बालबालिकालाई यसले यसरी पछा¥यो कि सीमा नै रहेन । अरु वर्षहरुमा विद्यार्थी यो समयमा एसईईको परीक्षाफल कुरेर बस्थे । राष्ट्रिय परीक्षा बोर्डबाट अब रिजल्ट आउँदै छ भनी बेला–बेलामा निस्कने सूचनाले जीउ नै सिरिङ्ग बनाइदिन्थ्यो विद्यार्थीको तर यो वर्ष परीक्षा नै भएन ।

शिक्षासँग सम्बन्धित विभिन्न संघ–संस्थाहरुले एसईई परीक्षा र यसको मूल्यांकनलाई विभिन्न आधार बनाउन सुझावसमेत दिइरहेका छन् ।

यो त भयो माध्यमिक तहसम्मको कुरा । माथिल्लो तहमा पनि हालत यस्तै छ । स्नातकोत्तर तह दोसो सेमेस्टरकोे परीक्षा पनि चलिरहेकै थियो तर सरकारबाट लकडाउनको उर्दी जारी भयो । अनि केही विषयको परीक्षा दिएका र बाँकी परीक्षाको तयारीमा जुटेका विद्यार्थीको मेहनत बालुवामा पानी हाल्नुजस्तै भयो ।

लोक सेवाले लिने अधिकृत तहको परीक्षा भइरहेको थियो भने नासु, खरिदारलगायतका परीक्षाका लागि तयारी भइरहेको थियो । तर सबै परीक्षा कोरोनाको चपेटामा परे । यस्तै अवस्था अझै दुई–तीन महिना रहिरहने हो भने यो वर्ष कुनै परीक्षा हुने छैनन् । ‘यसपालि त यस्तै भो अर्को पालि …!’ भन्दै तयारीमा लाग्नुपर्ने होला ।

औपचारिक भूमिका बाँधिने परीक्षा र सरकारी जागिरको लागि भइरहेका यी परीक्षाहरुले पक्कै पनि विद्यार्थीमा ‘माछो–माछो भ्यागुतो’को अवस्था हुनेछ । तर विद्यार्थीका तहगत परीक्षा र सरकारी जागिरका लागि गरिने परीक्षा ठूलो कुरा होइन । आज बाच्यौं भने भोलि त अवश्य केही गरिएला भन्ने आशा गरौं । सरकारको नियम पालना गरौं, लकडाउन उल्लंघन नगरौं । घरमै बसौं, सुरक्षित रहौं ।

 

प्रतिक्रिया दिनुहोस्