वैज्ञानिक खाेजः पूर्वीय धार्मिक वस्तुमा अद्भूत शक्ति



रोहिणी घिमिरे

धार्मिक कार्य गर्दा होस् वा मन्दिरमा पूजा गर्दा, शङ्ख–घण्ट बजाउने गरेको हामीलाई थाहा भएकै कुरा हो । त्यस्तै गङ्गाजललाई पवित्र जल मानेर सेवन गरेको, वेदका ऋचा पढ्दै कुशले कलशको जल सेचन गरेको हामीले देखेका छौं । यस्ता अनगिन्ती धर्म–संस्कृति छन्, जसबाट मानव स्वास्थ्यमा अद्भूत लाभ मिलिरहेको हुन्छ । यस्ता केही पूर्वीय धर्म–संस्कृतिबाट स्वास्थ्य लाभ हुने कुरा वैज्ञानिक अनुसन्धानबाट समेत पुष्टि भइसकेको छ ।

शङ्खध्वनिले जीवाणु नष्ट
शङ्खध्वनिका बारेमा सन् १९२८ मा जर्मनीमा अनुसन्धान भएको थियो । त्यहाँको बर्लिन विश्वविद्यालयको अनुसन्धानले शङ्खध्वनि गर्दा कीटाणु नष्ट हुने कुरा पुष्टि गरिसकेको छ । प्रतिसेकेन्ड २७ घनफिट शक्तिको जोडले बजाइएको शङ्खध्वनिले १ हजार २ सय फिटसम्म टाढा रहेका जीवाणु नष्ट हुने र २ हजार ६ सय फिटसम्म टाढाका जीवाणु मूच्र्छित हुने कुरा सो विश्वविद्यालयले गरेको अध्ययनले देखाएको छ ।

यसका साथै औलो, हैजाका कीटाणु भगाउन र छारेरोग, मूच्र्छा पर्ने रोगका लागि पनि शङ्खध्वनि प्रभावकारी हुने कुरा ‘दैनिक पूजाविधि तथा वार्षिक पर्व निर्देशिका’ नामक पुस्तकमा समेत यसका लेखकले उल्लेख गरेका छन् ।

शङ्खलाई ब्रह्माण्डकै प्रतीक मानिन्छ । यसको आवाज ओम (ॐ) को उच्चारण गर्दा आउने आवाजजस्तै हुन्छ । जसरी ॐ उच्चारण गरी भ्रामरी प्राणायाम गर्दा स्वास्थ्यलाभ हुने कुरा योगगुरु रामदेवले बताएका छन्, त्यसै गरी शङ्खको ओमकार आवाजका तरङ्गहरुले वातावरण कीटाणुरहित बनाउन मद्दत मिल्छ भने स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्न मद्दत पुग्छ ।

शङ्खध्वनि हुने ठाउँमा प्रेतात्माको बास नहुने र वातावरण पवित्र हुने कुरा देवीभागवत महापुराणमा समेत उल्लेख गरिएको दोलखाका पं. रामप्रसाद सुवेदी बताउनुहुन्छ । उहाँका अनुसार धार्मिक आस्थाले नै शङ्ख बजाएको किन नहोस्, शङ्खध्वनिबाट उत्पन्न हुने तरंगले वातावरण कीटाणुरहित बनाउन मद्दत पुगेको हुन्छ ।

शङ्ख आफैं औषधिमय भएको कुरा आयुर्वेद चिकित्सक डा. रामदेव पण्डित बताउनुहुन्छ । उहाँका अनुसार यसको आवाज संगीतमय छ, सङ्गीतमय आवाजबाट स्वास्थ्यलाभ लिन सकिन्छ । शङ्खको आवाजको कुरा मात्रै होइन, यसमा राखिएको पानीमा पनि कीटाणु नष्ट गर्ने अद्भूत शक्ति रहेको हुन्छ । ब्रह्मवैवर्त पुराणका अनुसार पनि शङ्खमा राखिएको जल छर्कंदा सो जल छर्किएको स्थानको वातावरण शुद्ध हुन्छ ।

अनिल खरेद्वारा लिखित ‘मिराकुलस साइन्टिफिक बेनेफिट अफ ब्लोइङ कन्च’ शीर्षकको एक लेखमा बताइएअनुसार गर्भवतीलाई शङ्खमा भरेको पानी खुवाउने ग¥यो भने जन्मने सन्तानको वाणी अर्थात् बोलीमा समस्या आउँदैन र उसको बोली स्पष्ट हुन्छ । तर गर्भमा दबाब पर्ने हुँदा गर्भवती महिलाले शङ्ख बजाउनुहुँदैन ।

तोते बोल्ने र भकभके बोल्ने बच्चाले शङ्खको पानी पिउने र शङ्ख बजाउने गरेमा उसको यो समस्या निराकरण हुन मद्दत मिल्छ । शङ्ख बजाउँदा फोक्सोको व्यायाम हुन्छ । शास्त्रका अनुसार शङ्खघोषबाट निक्लने ॐ आवाज मानसिक रोगीका लागि फाइदाजनक हुन्छ ।

श्वासप्रश्वासको समस्या हुनेले नियमित शङ्ख बजाउनाले उसलाई लाभ मिल्छ । त्यस्तै कलेजोको समस्या, इन्फ्लुएन्जाजस्ता रोगका लागि समेत शङ्ख बजाउनु लाभदायक मानिन्छ । शङ्खनादबाट मनमा सत्वगुणको सञ्चार भई सकारात्मक विचार उत्पन्न हुन्छ । व्यक्तित्व विकासमा समेत मद्दत पुग्ने हुन्छ । शायद शङ्खध्वनि कोरोना संक्रमितका लागि पनि फाइदाजनक हुने तर्क पं. सुवेदीको छ ।

घण्टको आवाज कति लाभदायक ?

सन् १९१६ मा बकिङ्घमका एक क्षयरोगीलाई नजिकैको गिर्जाघरमा बजाइने गरेको घण्टको आवाजले आफ्नो स्वास्थ्य झन् खराब हुँदै गएको अनुभूति भएछ । ती क्षयरोगीले घण्टको आवाजका कारण आफ्नो स्वास्थ्यमा नकारात्मक असर परेको उल्लेख गरी अदालतमा मुद्दा दायर गरे । अदालतले तीनजना विशिष्ट वैज्ञानिकलाई घण्टको आवाजको प्रभावबारे अध्ययन गर्न लगायो ।

ती वैज्ञानिकले सात महिना लगाएर घण्टको आवाजले क्षयरोगीलाई लाभ पुग्ने निष्कर्ष निकाले । क्षयरोग मात्र नभएर घण्टको आवाज अन्य रोगहरुमा पनि उपयोगी हुन सक्ने ती वैज्ञानिकले बताएपछि अदालतलाई मुद्दा छिन्न सजिलो भएको कुरा ‘दैनिक पूजाविधि तथा वार्षिक पर्व निर्देशिका’ पुस्तकमा उल्लेख गरिएको छ ।

गङ्गाजलमा ब्याक्टेरिया नाश गर्ने शक्ति

हिन्दू परम्परामा गङ्गा नदीलाई पवित्र मानिन्छ । यहाँको जल तीर्थजलका रुपमा ल्याएर कुनै पनि धार्मिक कार्य गर्दा कलशमा हाल्ने चलन छ । कलश पूजा गर्दा तीर्थादि जलं प्रक्षिपेत् भनिएको पनि छ । नयाँ कुवा, पोखरी निर्माण गरेपछि त्यहाँ तीर्थस्थलको जल ल्याएर हाल्ने गरिन्छ । नेपालकै कुरा गर्दा प्रताप मल्लले रानीपोखरी निर्माण गराएपछि भारतको गङ्गा नदीलगायत नेपालका विभिन्न तीर्थका गरी १०८ नदीको जल यस पोखरीमा हाल्न लगाएको इतिहास छ ।

भगीरथ राजाले स्वर्गबाट गङ्गा ल्याएर मरेका ६० हजार अग्रजहरुको मुक्ति गरिदिएकाले गङ्गानदीलाई महत्वपूर्ण तीर्थजलका रुपमा लिने गरेको पुराणोक्ति छ । त्यसैले हजारौं तीर्थयात्री यहाँ गएर डुबुल्की लगाउने गरेका छन् । धार्मिक आस्थाबाट डुबुल्की मार्ने, सेचन गर्ने अथवा सेवन गर्ने, जे गरे पनि सो जलबाट तीर्थयात्रीलाई स्वास्थ्यलाभ पुगिरहेको हुन्छ ।

बीबीसी फ्युचरबाट साभार गरी ताजा रिपोर्ट डट कममा सन् २०१८ मा प्रकाशित एक लेखमा गङ्गाजलको वैज्ञानिक अनुसन्धानबारे उल्लेख गरिएको छ । सो लेखमा उल्लेख भएअनुसार सन् १८९० को दशकमा प्रसिद्ध बृटिस वैज्ञानिक अर्नेस्ट ह्यान्किनले गङ्गा नदीको पानीबारे अनुसन्धान गरिरहेका थिए । त्यस बेला हैजाको महामारी फैलिएको थियो । यसबाट मृत्यु भएका शवहरु व्यवस्थापन गर्न नसकेर गङ्गा नदीमा फालिएको अवस्था थियो ।

यस नदीमा नुहाउनेहरुमा पनि हैजा सर्ला भन्ने भय ह्यान्किनमा थियो । तर त्यहाँ त्यस्तो भइरहेको थिएन । त्यस बेला गङ्गा नदीको पानीको प्रभाव देखेर उनी चकित परेका थिए । कुनै कारणवश त्यतिखेर उनको अनुसन्धान पूरा हुन नसकी अधुरै रहेको थियो ।
त्यसको २० वर्षपछि एक फ्रान्सेली वैज्ञानिकले ह्यान्किनको अनुसन्धानलाई पुनः अगाडि बढाए । उनले गङ्गाको पानीमा पाइने भाइरसले हैजा फैलाउने ब्याक्टेरियाभित्र छिरेर त्यसको नष्ट गरिरहेको पत्ता लगाए । त्यही गङ्गा नदीमा पाइने भाइरस यहाँको पानीलाई शुद्ध बनाइराख्न जिम्मेवार भएको रहस्य खुल्यो । ती भाइरसलाई आजकल निन्जा भाइरस भनेर चिनिन्छ, जसले ब्याक्टेरियालाई मारिदिन्छ ।

यसले गर्दा गङ्गा नदीमा नुहाउँदा रोग लाग्ने होइन, बरु रोग लाग्ने सम्भावना कम हुन्छ । यहाँको निन्जा भाइरसले हाम्रो शरीरमा रहेको हानिकारक ब्याक्टेरिया मार्ने हुन्छ । त्यसैले पनि गङ्गा नदीमा नुहाउनु र यहाँको जल सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक हुन्छ । भनिन्छ, गङ्गाको पानीमा कीरा पर्दैन, बिग्रँदैन, यसबाट दुर्गन्ध आउँदैन, यसमा लेउ लाग्दैन ।

मानिसको मृत्यु हुने बेलामा गङ्गाजल उसको मुखमा हालिदिने चलन पनि हानिकारक ब्याक्टेरिया नाश गरेर शरीर पवित्र बनाउन रहेछ भन्ने कुरा हामीले बुझ्नुपर्छ । एन्टिबायोटिक औषधिले काम गर्न छोडेको अवस्थामा गङ्गाजलमा पाइने भाइरसलाई उपयोगमा ल्याएर उपचार गर्ने दिन पनि नआउला भन्न सकिँदैन ।

शायद अहिलेको कोरोना भाइरसलाई पनि गङ्गाजलबाट उपचार हुन सक्ला कि ! गङ्गा नदीको पानीमा मात्र होइन, नेपालका तातो पानीका कुण्ड एवं प्रसिद्ध हिमनदीहरुमा पनि अद्भूत शक्ति हुन सक्छ । यसको अनुसन्धान भई पुष्टि हुन सके नेपालको पानीको महत्व झन् बढ्नेछ ।

कुशमा समेत अनुसन्धान

धार्मिक कार्यमा कुश–पानीको प्रयोग अनिवार्यजस्तै छ । पानीमा कुश डुबाएर राख्दा सो पानीमा अक्सिजन सजिलै घुल्न सक्ने अनुसन्धानले पुष्टि गरेको छ । भारतको एक कलेजका बोटानी विभागका सहप्राध्यापक सचिन सखाल्कर र सोही कलेजकी नैना काम्बलेद्वारा आयुर्वेदको आधारमा कुशको बायोलोजिकल अध्ययन गरी शोधपत्र तयार गर्ने क्रममा यो अनुसन्धान गरिएको थियो ।

अनुसन्धानअनुसार कुश नहालेको पानीको घोलमा अक्सिजनको मात्रा २.६८ ग्राम प्रतिलिटर र कुश हालेपछि अक्सिजनको मात्रा १९.०४ ग्राम प्रतिलिटर देखियो । कुश नहाल्दाभन्दा कुश हाल्दा ७ सय प्रतिशतले अक्सिजन बढेको देखियो ।

उता कुशले हानिकारक विकिरण शोषण गर्न सक्ने कुरा भारतका डा. सदाशिव रावले गरेको प्रयोगबाट पुष्टि भएको छ । डा. रावले आफ्नो हात कुशले बेरेर एक्सरे गराउन लगाए । एक्सरेबाट आउने ६० प्रतिशत विकिरण कुशले पो शोषण गरेर लिएछ । कुशमा हानिकारक विकिरण शोषण गर्न सक्ने क्षमता धेरै हुने रहेछ । सूर्यबाट आउने विकिरणबाट जोगाउनकै लागि ग्रहणको समयमा पानीमा कुश डुबाउने र धार्मिक कार्यमा कुश–पानीको प्रयोग गर्ने परम्परा बसेको यसबाट पुष्टि हुन्छ ।

धार्मिक क्रियाकलापमा उपयोग हुँदै आएका यस्ता धेरै वस्तुमा अद्भूत शक्ति रहेको हुन्छ । त्यसको प्रयोग कर्मकाण्डीरुपमा मात्र हुने गरेकाले हामीले लाभ लिन नसकिरहेको अवस्था छ । अन्धविश्वास र कुरीति भनेर आफ्नै संस्कार नमान्नेलाई भोलि पश्चिमी मुलुकले प्रमाणित गरेपछि पुनः त्यसलाई अंगीकार गर्नुपर्ने दिन आउनेछ । जस्तै– पूर्वीय संस्कृतिको ‘योग’ पश्चिमाबाट ‘योगा’ भएर आएपछि नेपालमा त्यसको अनुसरण गर्न थालियो ।

प्रतिक्रिया दिनुहोस्