लकडाउनमा नहोस् स्वास्थ्य ‘डाउन’

डा. अरुणा उप्रेती



नुहाएर, बाहिरबाट अनेक सुगन्ध लगाएर, सजाएको शरीरको भित्री पार्टपुर्जाहरु कस्ता छन्, हाड जोर्नीमा ठिक छ कि छैन, हाडहरु लचिला छन् कि छैनन्, फोक्सोमा प्राण वायु पुगेको छ कि छैन कहिले वास्ता नगर्ने हामी लकडाउनको बेला चाहिं कसरी स्वस्थ रहने भनेर छलफल शुरु गर्न थालेका छौं । हामी मोटर र मोटरसाइकल धेरै जतन गर्छौं तर स्वास्थ्यमा चाहिं खासै महत्व दिदैनौं ।

योग भनेको त एक जीवन पद्धति हो, यसले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । तर यसले सम्पूर्ण रोग र समस्या निको पार्न सक्दैन भन्ने तथ्यलाई आत्मसात गरी योगलाई जीवनमा प्रयोग गरे राम्रो हुन्छ । सबै योग गर्ने मानिसलाई कुनै पनि रोग लाग्दैन भन्ने पनि सम्पूर्ण सत्य होइन । योगासन गर्ने भन्दैमा आधुनिक विज्ञान र औषधिलाई नकार्नु पनि होइन ।

काम गर्दा गर्दा ढाड दुख्ने समस्या भएकी काठमाडौंकी रेखा श्रेष्ठलाई एक स्वास्थ्यकर्मीले लामो समयसम्म कम्प्युटरमा काम नगर्ने, काम गर्दा समय–समयमा हल्का योगासन, व्यायाम गरे बेस हुन्छ भनेर बुझाउँदा उनले मानिनन् । स्वास्थ्यकर्मीले चेतावनी त दिएका थिए । “पछि लामो समय बिरामी परिएला है” भनेका थिए ।

पछि ढाडको अति पीडा भएर रेखा १० महिना नै बिरामी भइन् । अनि बल्ल उनले बुझिन्– स्वास्थ्यको महत्व र योगासन त दिनदिनै गर्नुपर्छ” भनेर । अहिले कोरोनाको बेलामा घरमा नै बसेर काम गर्दा उनले दिन दिनै योगासन गर्दैछिन् । लकडाउनमा, हिंडडुल गर्न नपाउँदा घरमा नै योगासन गर्नु उत्तम हुन्छ । यसले पछिसम्म स्वास्थ्यमा फाइदा पुग्छ । योगासन गर्दा शरीरमा लचिलोपन आउँछ ।

तपाईंहरूलाई थाहा छ होला, प्रायजसो आसनहरु जनावरको नाममा हुन्छन्– जस्तो ‘मार्जरी आसन’ अर्थात बिरालो आसन । यस आसनमा बिरालोले ढाड माथि पार्दा गर्ने क्रियाकलाप गरिन्छ र यसले ढाडको दुखाइ कम गर्न मद्दत गर्छ । सामान्य प्रसवपछि यो आसन गर्दा महिलाको शरीरको लचकता आउँछ । त्यस्तै प्रकारले शशकासन (अर्थात खरायो आसन) ले पनि पेटलाई स्वस्थ राख्न र मेरुदडको लचकता बढाउन मद्दत गर्छ । मन मस्तिष्क शान्त राख्न पनि यो आसनले मद्दत पु¥याउँछ भनेर योग गुरुहरू भन्छन् ।

कम्प्युटरमा बसेर वा लगातार एउटै आसनमा बसेर काम गर्दा ढाडमा असजिलो पना आउँछ र त्यसलाई हटाउन पनि शशकासनले मद्दत गर्छ । मुसलमानहरुले पनि प्रार्थना गर्दा शशकासनजस्तै गरेर निउरिन्छन् । प्रसव अवस्थापछि कतिपय महिलाहरुको शरीर मोटो हुनजान्छ । शिशुलाई दूध ख्वाउनु परेकोले प्रायः खाना बढी नै खाइन्छ र बढी चिल्लो र गुलियो खानाखाएपछि तौल बढ्छ ।

त्यसैले प्रसवपछि तर चिल्लो कम भएको खानाको प्रयोग र विभिन्न योगासनजस्तो बसेर र उठेर टाउकोले घुँडा छुने (जानु शीर्षासन र पाद–हस्तासन), पर्वतासन, गोमुखासन, वज्रासन आदिले पनि तौल कम गर्नमा मद्दत गर्छन् । यसले अहिलेको लकडाउनको बेलामा शारीरिक र मानसिक स्वास्थ्य राम्रो पार्न मद्दत गर्छ । तर सबैले बुझ्नुपर्छ कि लकडाउनको बेला स्वस्थ रहन योगासनले केही मद्दत त गर्छ तर स्वस्थ रहन जीवनमा खानपान, काम र आराम बीचको संतुलन, अनुशासनले ठूलो भूमिका रहन्छ ।

अहिले लकडाउनमा महिलाले बढी काम गर्दा तनाव नहोस् भनेर घर परिवार र पुरुषले सहयोग गर्नैपर्छ । तर योगासन गरेर महिलाको क्यान्सर निको हुन्छ, पाठेघरमा उल्टो बसेको शिशु सुल्टो हुन्छ भनेर आँखा चिम्लेर विश्वास नगर्नोस् किनभने योगासनले सबै रोगहरू र समस्या निको चाहिं पार्न सक्दैन ।

कसैलाई क्षयरोग लाग्यो भने योगासान गरेर मात्र क्षयरोग निको हुन सक्दैन । गर्भवती महिलाको बच्चा पेटमा उल्टो वा तेस्रो गरेर बसेको छ भने योगासन गरेर प्राकृतिक तरिकाले बच्चा जन्मिन सक्दैन । योगासनमा गरिने केही प्रक्रिया जस्तो अनुलोम–विलोम आदि श्वास–प्रश्वास प्रक्रियाले शरीरमा पर्याप्त अक्सिजन पु¥याउँछ पक्कै हो, स्वस्थ्य रहन मद्दत गर्छ, हो ।

तर अनुलोम–विलोम गरेर छारेरोग निको हुन्छ भन्ने कुरा चाहिं विश्वास गर्ने योग हुदैन । यस्तो भ्रममा परेर छारे रोगको औषधी खाइएन भने जीवन नै जानसक्छ । कतिपय डाक्टरले “योगासनले स्वास्थ्य समस्या निको हुन्छ भन्नेमा वैज्ञानिकता छैन” भन्नेजस्ता भाव व्यक्त गर्छन् । तर नेपालका अहिले कति मुटुरोग, मानसिक रोग, मधुमेह रोग विशेषज्ञ र मृगौला रोग विशेषज्ञले आफ्ना बिरामीलाई आधुनिक औषधीको साथै योगासन र प्राणायाम पनि गर्नुस् भनेर सल्लाह दिन्छन् ।

तर कतिपय व्यक्तिहरुलाई प्रसिद्ध योगगुरुले योगासन र अनुलोम–विलोम गरेपछि उनीहरुले खाइरहेका औषधी छोडिदिए पनि हुन्छ भनेजस्तो गलत ज्ञान दिन्छन् र बिरामीले औषधी छोडिदिएपछि एकदम समस्या पर्छ । कहीले काहीं त जीवन नै समाप्त हुन्छ ।
“योगासन सिकाउने एक महिला डिप्रेसन भएर मसँग उपचारका लागि आउँछिन् ।

उनी ठिक समयमा आउँछिन्, अरु बिरामीभन्दा बढी अनुशासित छिन् । योगासन पनि उनको जीवन शैलीको अंग हो । उनी ठिक छिन् । योगसान गर्ने मानिसलाई कुनै पनि मानसिक रोगमा समस्या नै नहुने भन्ने गलत हो” एक मानसिक रोग विशेषज्ञले सुनाएका थिए ।
महिलाहरुको महिनावारी सुक्ने बेलामा हुने कतिपय समस्यालाई योगासान गरेर जीवन शैली परिवर्तन गरेर कम गर्न सकिन्छ भन्ने कुरा निर्विवाद छ ।

अहिले लकडाउनको बेला मोटोपन घटाउन जीवन शैली परिपर्तन गरेर, खानामा कम चिल्लो, बढी तरकारी खाने र योगासन गरेर तौल ठिक राख्न सकिन्छ । “योगलाई केही पनि होइन” वा “सबै थोक हो” भन्ने विवाद गर्नै पर्दैन । आधुनिक औषधी, आयुर्वेद, योग, घरेलु औषधीको प्रयोग सबैका लागि सकारात्मक पक्ष छन् ।

कुनै एउटै विधाले मात्रै सबै स्वास्थ्य समस्या समाधान गर्न सक्दैन । त्यसैले स्वस्थ भएर बाँच्न एउटा उपचार पद्धतिलाई अबलम्बन गर्छु भन्नुको साटो बुद्ध धर्ममा भनेजस्तै योगासनका साथै आधुनिक औषधीको आवश्यकताअनुसार प्रयोग गरेर मध्य मार्ग अपनाउनु उचित हुन्छ ।

प्रतिक्रिया दिनुहोस्