अक्टोबरको वर्ल्ड मिलिटरी गेम्समा कोरोना फैलिएको आशंका



लन्डन, एजेन्सी।

चीनको उहान शहरमा सन् २०१९ को अक्टोबर महिनामा सम्पन्न वर्ल्ड मिलिटरी गेम्समा बेला नै कोरोना भाइरस फैलिएको आशंका गरिएको छ । बेलायती सञ्चार माध्यम डेलिमेलको एक रिपोर्ट अनुसार उक्त प्रतियोगिता दौरान नै कोरोना फैलिसकेको भन्ने आशंका गरिएको हो । उक्त प्रतियोगितामा भाग लिएका अधिकांश खेलाडीहरू बिरामी परेपछि गरिएको अध्ययनबाट यस्तो खुलासा भए बताइएको छ ।

चीनले भने गत डिसेम्बर महिनामा मात्र कोरोना भाइरसको नयाँ स्ट्रेन फैलिएको भनेर सार्वजनिक गरेको थियो । मानिसबाट मानिसमा सर्ने यो रोग भनेर वर्ल्ड मिलिटरी गेम्स सम्पन्न भएको दुई महिनापछि मात्र डिसेम्बरमा चीनले स्वीकार गरेको जनाइएको छ ।

गत अक्टोबरमा भएको वर्ल्ड मिलिटरी गेम्समा १ सयभन्दा बढी देशका लगभग १० हजार सैनिक खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उक्त प्रतियोगितामा सहभागी अधिकांश खेलाडीहरुलाइ ज्वरो आउने र सास फेर्न गाह्रो भएको लक्षणहरु देखा परेको बताइएको छ। तीमध्येका जर्मनीको भलिबल खेलाडी ज्याकलिन बोकले उहानमा आफू र आफ्ना साथी बिरामी परेको बताइन् । देश फर्केपछि उनका पिता पनि बिरामी परेकोले उनले आफूलाई कोभिड–१९ नै लागेको बताइन् ।

त्यस्तै फ्रान्सको पेन्टाथलिट खेलाडी एलोडी क्लाउभेलले पनि उनी र उनका पार्टनर भ्यालेन्टिन बेलाउदलाई उक्त प्रतियोगितामा नै भाइरस संक्रमण भएको बताइन् । इटालीका फेन्सिङ खेलाडी म्यात्तियो ताग्लिआरिओलले उहानमा रहेको अपार्टमेन्टमा सबैजना कोभिड–१९ कै जस्तो लक्षण देखिएर बिरामी परेको बताए । त्यो संक्रमण पछि उनको छोरो र प्रेमिकामा पनि सरेको थियो । लक्जेम्बर्गका ट्रायथलिट ओलिभर गोर्जेजले पनि आफू रुघा जस्तो लक्षणका साथ बिरामी परेको बताए।

कोरोना भाइरस फैलिएको विषयलाई लिएर यसअघि चीन र अमेरिकाले एक अर्कालाई दोष दिएका थिए । चीनले वर्ल्ड मिलिटरी गेम्स बेला अमेरिकी सैनिक खेलाडीले कोरोना भित्राएको आरोप लगाएका थिए भने अमेरिकाले पनि कोरोना फैलिनुमा चीन नै जिम्मेवार रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्