सानो मुलुकको भूभागमा दखल नदिए हुन्न ?



बालकृष्ण मैनाली

दुई हप्ताअगाडि सतहमा देखा परेका दुई विभिन्न घटनाक्रमले राज्यको दयनीय अवस्थालाई पुनः लज्जास्पदरुपमा चित्रण गर्ने जमर्को गरेको छ । एकातिर दक्षिण छिमेकीका धार्मिक पर्यटकहरु उत्तर छिमेकीस्थित धार्मिक पर्यटकीय स्थलसम्म सहज आवागमनका लागि भनेर बीचको एक स्वतन्त्र मुलुकको जमिनमा रहेको विवादलाई समझदारीपूर्वक साम्य हुने अवस्था रहँदा रहँदै सामान्य चर्चासम्म नचलाई दक्षिणी छिमेकीले मिचाहा प्रवृत्तिमार्फत आफ्नो भन्दै जबर्जस्ती बाटो निर्माणमा घुसाइ छाडेकोमा गर्व गर्दै भिडिओ कन्फरेन्समार्फत सडक उद्घाटनको प्रचार गराइएको अभिदृश्य र सँगसँगै एक छिमेकीको जमिन अर्को छिमेकीले हडपेर आफ्नो संघारमा बाटो ल्याइपुर्याउँदा उत्तरको छिमेकी मख्ख परेर मौन ताली बजाउँदै स्वागत गरेको विषयले एउटा स्वतन्त्र सार्वभौम देशका जनताले वर्तमान महामारीविरुद्ध जति सकिन्छ त्यति जोगिने प्रयास गरिरहेको अवस्थामा ती जनतामाथि थप पीडा प्रदान गर्ने कार्य गरेर संसार हँसाइ गरेको विषयले प्राथमिकता पायो ।

दुवै छिमेकीको आ–आफ्नो व्यवहारलाई मनन गर्दा दुवैतर्फत राज्य नीति कमजोरीको कारण आश्रित बन्न पुगेको एउटा कमजोर छिमेकीका जनतामाथि गरिएको पछिल्लो व्यवहारले शक्तिशाली छिमेकीहरुले कमजोर छीमेकीलाई सहयोग र आवश्यक समर्थन गरेर विगतमा आ–आफ्ना तर्पmबाट भएका त्रुटीहरुलाई सुधारेर प्रायश्चित्त गरी सहयोग पु¥याउनुको साटो चोटमाथि चोट थप्ने कार्य गरेर संसार नै अचम्मित पर्ने कार्यमा दुई ठूला छिमेकीहरु अन्ततः संलग्न भइछाडे ।

विशेष गरी कमजोर तथा अविकसित देशहरु शक्तिशाली कहलिएका देशहरुको डरलाग्दो कुदृष्टिबाट सम्बन्धित देशका जनजनहरु मुक्त हुन सकेका छैनन्, यो सही सत्य हो । तर यो पनि सही सत्य हो कि त्यस किसिमका कुदृष्टिविरुद्ध त्यहाँका सम्पूर्ण राज्यका अंगहरु यथासमयमा विनाढिलाइ प्रतिकारमा उत्रिएका छन् । वार्ताबाट समस्या समाधान नभएका अवस्थामा उक्त विवादलाई पालेर राख्नुभन्दा अन्तर्राष्ट्रियकरण गर्ने जर्मको गरेका छन् । त्यति मात्र होइन, आवश्यकताअनुसार अन्तर्राष्ट्रिय अदालत पनि गुहारेका छन् ।

विडम्बना ! हाम्रो देश नेपाल भने ठीक–ठीक कुरा उठाउने र समयमा सम्बोधन नभए अन्तर्राष्ट्रिय निकाय एवं अदालत गुहार्ने कुरामा सदैव पछाडि पर्ने÷पारिने कार्यमा परिचित्रित हुँदै आएको छ । आवश्यक परे हामी यो र त्यो निकाय गुहार्छौं भन्ने ओठेबोलीबाहेक थप कार्य गर्ने हिम्मत गर्ने सक्दैन ।

कम्तीमा काम नलाग्ने भनेर फालिएको पञ्चायत व्यवस्थाका सञ्चालक राजारजौटाले बरु कहिलेकाहीँ बेलामौकामा छिमेकी देशमार्फत आफ्नो देशलाई अप्ठ्यारो पारेको विषयमा आवाज उठाउने जमर्को गर्थे, भलै ती आवाज यो वा त्यो नाउँमा दबाइन्थे । छयालीस सालपछि बनेका जनताका सरकार भनाउँदा राजनीतिक व्यवसायीहरुले पञ्चायत जतिको जमर्को गर्न पनि सकेनन् । त्यो भन्दा लाजमर्दो विषय अन्य के हुन सक्ला ? भन्ने जनजनमा उठेको जिज्ञासा सही साबित भएको छ ।

अब यहाँ राजतन्त्रदेखि लिएर कसैको पनि पृष्ठपोषण गर्न आवश्यक नै छैन । यहाँ उत्तर–दक्षिणका दुवै छिमेकी के कुरामा प्रस्ट भैसकेका छन् भने, जुनसुकै नामको सरकारले नेपाल भन्ने देशको सत्ता आफ्नो हातमा लिए पनि अन्नतः हामीले चालेका हरेक कदम चाहे त्यो गलत नै किन नहोस्, त्यस विपरीत जान सक्ने हैसियत गुमाइसकेका छन् ।

त्यसैले हामीले आफ्नो हितको निमित्त जुनसुकै अप्रिय कदमलाई अपनाए पनि हुन्छ भन्ने अवधारणाबाट अभिप्रेरित भई कार्य गर्दै आएको कुरा पछिल्लो यी घटनाक्रम र त्यो घटनाप्रति सरकारले देखाएको रबैयाले प्रस्ट पारेको छ । दुवैतर्पmका सँधियार मित्रहरुले लिएको नेपालप्रतिको नीतिलाई हेर्दा मेरो नातिले मलाई क्यारेमबोर्ड खेल्दा अपनाएको नीतिभन्दा श्लेष भिन्नताबाहेक केही भिन्नता देखिँदैन ।

हाम्रो देशका वास्तवमा विगतका इतिहासलाई मनन गर्दा हाम्रा उत्तरी र दक्षिणी क्षिमेकी मुलुक यस्ता मुलुकहरु हुन्, जसमा एक देशका जनतालाई अप्ठ्यारो पर्दा अर्का देशको जनताको आँखा रसाउने सम्बन्ध कायम भएका मुलुकहरु हुन् । झन् वर्तमान समयमा त कोरोनाको कारण विश्व रोइरहेको छ । एउटा संक्रमित देशका नागरिकले कोरोनाको कारणले ज्यान गुमाउँदा संक्रमित नभएका देशका नागरिक रुन पुगेको अवस्था छ ।

यस्तो मानवीय सम्बन्ध विकसित भएर अब विश्व नागरिक नै एक हुनुपर्ने अवस्था सिर्जित भैरहेको अवस्थामा समेत आफ्नो सानो कुत्सित उद्देश्य पूरा गर्नको लागि सानो देशका जनतालाई अनाहक पीडा दिने कार्य गरिन्छ भने कसरी शक्तिशाली देशहरु अविकसित तथा कमजोर मुलुकलाई विकासमा सहयोग गर्छन् भनेर विश्वास गर्ने ? प्रत्येक नेपाली जनले सरोकारवालासँग प्रश्न गरिरहेका छन् ।

थाहा छैन, कुन बेला र कहिलेदेखिको नेपाली जनजनमाथि प्रतिशोध साँध्ने कार्य छिमेकी मुलुकबाट बारम्बार भैरहेको छ । आफ्नो निश्चित उद्देश्य प्राप्तिको लागि यो बन्दाबन्दीको समयमा मेरो नातिले कुनै खेलको विषयमा अपनाएको नीति र आफ्नो सामान्य स्वार्थपूर्तिको लागि मेरो देशलाई छिमेकी मुलुकका शासकहरुले अपनाएको नीतिमा खासै भिन्नता पाँउदिन ।

मेरो चार वर्षको नातिले अपनाएका नीतिविरुद्ध मैले अपनाएका र देखाएका देखावटी विरोधले कुनै अर्थ र काम गर्दैन । बेला–बेलामा विरोध त गर्छु तथापि उसका गलत नीति र नियमविरुद्ध कदम चाल्ने मसँग आँट नै छैन । यदि मैले कहिलेकाहीँ उसको नीतिविरुद्ध कदम चालिहाले पनि उसले लगाएको गुनिलो मायाको कारण मेरा ती कदम स्वतः बन्द हुन पुग्छन् ।

लकडाउनको समय व्यतीत गर्न मेरो नातिले मलाई दिनको एकचोटि क्यारेमबोर्ड खेल्न अनुरोध गर्छ । म पनि उसको अनुरोध स्वीकार्छु । खेल शुरु हुनुअघि सधैँभरि ऊ आफू बदमासी नगर्ने, खेलको नियम पालना गर्ने प्रतिबद्धता जनाउँछ । क्यारेम खेलका आफ्ना अनिवार्य नियमहरु छन् । जस्तै– स्टाइगरले गोटी पालोपालो हान्नुपर्ने, आफ्नो गोटी छिराएपछि पुनः दोहो¥याएर हान्न पाउने, स्टाइगर नै छिरेमा एउटा गोटी जरिबाना तिर्नुपर्ने, आफ्नो एउटा गोटी मात्र बाँकी नरहेसम्म रातो क्वीनलाई हान्न नपाउने, आदि ।
म र मेरो नातिबीच हुने क्यारेम खेलमा खेल शुरु भएपछि कुनै पनि यी नियमले उसलाई छुँदैन । तर मैले भने अनिवार्यरुपमा यी नियम पालन गर्नै पर्छ । ऊ मलाई छलकपट गर्नुहुँदैन भनेर अर्ति–उपदेश दिन्छ, आफूचाहिँ आफ्नो भागमा परेको गोटी नछिरे पनि नथाकुन्जेलसम्म हानिरहन्छ । थाकेपछि अब तिम्रो पालो भनेर मलाई स्टाइगर दिन्छ ।

आफ्नो गोटी छिराए पनि मैले दोहो¥याएर हान्न पाउँदिन, तिम्रो पालो सकियो भनेर मलाई फेरि हान्न दिँदैन । उसले हान्दा गोटी छि¥यो भने दोहो¥याएर हान्न पाइन्छ भन्दै हान्छ । उसले हान्दा स्टाइगर छि¥यो भने जरिबाना तिर्नुपर्दैन तर मैले हान्दा छि¥यो भने जरिबाना तिर्नुपर्छ । उसले अपनाएको यस्तो नीतिविरुद्ध मैले विरोध गरें भने ऊ रुन थाल्छ ।

यत्तिमा मात्र ऊ सीमित बस्दैन । उसलाई खेल्न मन लागेन भने सबै गोटीलाई आफ्नोतिरको दायाँ–बायाँ रहेका प्वालनिर लगेर राख्छ अनि स्टाइगरले घच्याट्दै सबै गोटी छिराउँछ । त्यसपछि मलाई भन्छ, ‘देख्यौ मैले जितें, बुद्धि हुनुपर्छ बुद्धि जित्नलाई ।’ जित्छु मात्र भनेर हुन्छ र ? भन्दै अर्तिसमेत दिन्छ । म केही बोल्न सक्दिन । अवाक हुन्छु । मनमनै तेरो दादागिरी भन्छु र उसको जीतलाई नतमस्तक भएर स्वीकार गरी अन्य दिनचर्यामा भुल्न थाल्छु ।

मेरो नातिले मलाई क्यारेममा खेलाएजस्तै दुई छिमेकी मुलुकले हाम्रो मुलुकलाई किन यसै गरी खेलाइरहेका छन् ? थुप्रै जनजनको मथिंगलको माथापच्चीले भेउ नै पाउन सकेको छैन ।

नेपालजस्तो सानु मुलुक, जहाँ राज्य प्रणाली नै कमजोर अवस्थाको माध्यमबाट गुज्रिरहेको छ । हामी स्वीकार गर्छौं । व्यवस्था अब्बल भए पनि हाम्रा राजनीतिक व्यवसायीहरु राजनीति सेवामुखीमा रुपान्तरण हुन सकेनन् । तर हामी हाम्रा छिमेकीलाई जनस्तरको माध्यमबाट जनस्तरमै प्रश्न गर्छौं, किन पटक–पटक तपाईंहरुको निमित्त सामान्य विषयलाई लिएर हामीलाई पीडा दिइरहनुहुन्छ ?

वर्तमानमा देखिएको नेपाली भूमिको प्रयोगसम्बन्धमा पनि वार्ताको माध्यमबाट अन्तिम टुंगोमा पु¥याई बाटो खोल्नै परे पनि हामी नेपाली जनको स्वीकृति लिएर अगाडि बढेको भए सम्भवतः हामी नाइँ भन्दैनथ्यौं । कम्तीमा पहिला सँधियारको विवाद मिलाएर जग्गाधनीको स्वीकृतिमा मात्र बाटो बनाई हाम्रो स्थानसम्म आऊ भनी पहल गरिदिएको भए कसैको केही बिग्रने थिएन । कमजोर देशको जग्गा भाडामा लिएबापत केही रकम भाडाबापत प्रदान गर्दा के फरक पथ्र्यो र ?

यस्ता कार्यबाट न त उत्तरीलाई कुनै घाटा थियो, न त दक्षिणीलाई नै ? कम्तीमा यति कार्य मात्र अवलम्बन गरिदिएको भए पनि तीनवटै छिमेकी देशहरु लाभान्वित हुन्थे । तीनवटै छमेकी देशहरु एक–अर्कालाई दुःख पर्दा काम लाग्ने छिमेकीको रुपमा थप परिभाषित हुन सक्थे । यस्तो कार्यको संसारले अनुसरण गर्ने अवसर प्राप्त गर्न सक्थ्यो । विश्व भाइचारा सुदृढ गर्ने कार्यमा एउटा कोसे ढुंगा साबित हुन सक्थ्यो ।

विडम्बना ! दुवै उत्तर र दक्षिण छिमेकी देशहरुले ‘बीचका छिमेकी भनेका छिमेकी होइनन्, त्यो त हामी दुई अंशियारको सम्पत्ति मात्र हो, आवश्यकता परेका बखत भागवण्डा गर्ने नै छौं’ भन्ने आशयले घर गर्न पुगेको छ भन्न अब कन्जुस्याइँ गर्न परेन । सामान्य एउटा छिमेकी नागरिकको दुवै छिमेकीहरुलाई अनुरोध यो छ कि सकिन्छ भने छिमेकीहरुले केही नहुनेलाई थप सहयोग गरौं, यदि थप सहयोग गर्न नसके कम्तीमा प्रत्येक देश र नागरिकको अस्तित्वलाई स्वीकार गरी हातेमालो गर्दै छिमेकी भ्रातृत्वलगायत विश्व भ्रातृत्व कायम राखौं ।
(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्