दैनिक मृत्यु !



कोरोना भाइरस (कोभिड–१९) संक्रमित दुई व्यक्तिको हिजो र अस्ति दुःखद निधन भयो । दिनदिनै संक्रमितको मृत्युको खबर सुन्नुपर्ने हो कि भन्नेजस्तो त्रासद् स्थिति सिर्जना भयो । विश्व नै महामारीको अवस्थामा रहेका बेला विगत महिनामा सुरक्षित देखिएको नेपालमा जसरी दुई घटना देखिए, त्यसलाई हेरेर लकडाउनलाई गम्भीर रुपमा पालना गर्नुपर्ने देखिएको छ । कोरोना भाइरसको सम्भावित जोखिम रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको निर्णय सही भए पनि कार्यान्वयन तहमा कमजोरी रहनु चिन्ताको विषय भएको छ ।

कोरोना भाइरसको जोखिम फैलिन नदिन सरकारले पुनः लकडाउनको अवधि बढाउने भएको छ । सरकारले सवारी पासको नाममा गरेको हेलचेक्र्याइँका कारण आज शहर र गाउँ दुवै त्रसित छन् । लकडाउनकै बीचमा शहरमा रहेका नागरिकलाई गाउँ लैजाने काम गरियो । शहरमा अलपत्र परेका नागरिकलाई गाउँ लैजाने काम ठीक थियो तर सुरक्षा सतर्कता अपनाउन नसक्दा गाउँमा झन् भय फैलिएको छ । शहरबाट गाउँ पुगेकाहरू निर्बाधरूपमा हिँडडुल गरिरहेका छन् ।

कोरोना भाइरसको संक्रमण फैलिन न्यूनतम तीन साता भनिए पनि महिनौं दिनपछि संक्रमण देखापर्ने गरेको घटना बाहिर आएका छन् । रोग लाग्नुभन्दा रोग नै लाग्न नदिनु जाति भनेझैं सरकारले समयमा नै लकडाउन गरेको जोखिम फैलिन नदिन लिएको निर्णय सही हुँदाहुँदै पनि सवारी पासको नाममा राजधानी भित्रने र बाहिरिने नागरिकका कारण जोखिम झन् बढेको छ । लकडाउन पालना गर्नमा नागरिकको तर्फबाट शुरूको चरणमा देखाइएको तत्परता अहिले देखिएको छैन ।

सामाजिक दूरी कायम गर्न हेलचेक्र्याइँ गर्ने, पसलमा भीडभाडमै किनमेल गर्ने कार्यले जोखिम झन् बढाएको छ । सरकार आफंैले लकडाउनको मोडालिटी परिवर्तन गर्दै उद्योगधन्दा, कलकारखाना सञ्चालन गर्नदिने निर्णयको कारण सवारीसाधनको आवत–जावतसँगै नागरिकको चहलपहलसमेत बढाउने काम भयो । यतिसम्म कि यही मौका छोपेर नागकिरक काठमाडौं आउने र काठमाडौंमा रहेका नागरिक गाउँ जाने काम भएको थियो ।

पछिल्लो समयमा कोरोना भाइरसका झन्डै ३ सय संक्रममित फेला परिसकेका छन् । पछिल्लो संक्रमितहरू काठमाडौंबाहेक अन्य जिल्लाबाट भित्रिएका पाइएका छन् । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण ३ लाखभन्दा बढी मानिसको मृत्यु भएको छ भने ८४ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । नेपालमा पनि कोरोना संक्रमितका कारण एक जना सुत्केरी महिला र एक पुरुषको निधन भएको छ । जुन घटनाले सिंगो नेपाललाई नै स्तब्ध बनाएको छ ।

यी घटनाबाट पाठ सिक्दै सरकारले नागरिकको जीवन रक्षाका लागि लकडाउनलाई थप प्रभावकारी बनाउनुपर्छ । उद्योगधन्दा कलकारखाना चलाउँदै गरौंला, पूर्वाधार निर्माणको काम पनि गराैंला । तर, त्योभन्दा पनि महत्वपूर्ण काम भनेको नागरिकको जीवन रक्षा गर्नु हो । सरकारले राज्यका सम्पूर्ण स्रोत र साधनको परिचालन गरेर लकडाउनलाई अझै प्रभावकारी बनाउन जरुरी छ । तर, यो काम सरकारले मात्र गरेर पूरा हुन्न, नागरिक सचेतना र सोअनुसारको व्यवहार अनिवार्य छ ।

प्रतिक्रिया दिनुहोस्