बेलायत नेपालीका लागि बढी जोखिम



-बलराम अधिकारी, बेलायत

अन्य देशको तुलनामा बेलायत यसकारण पनि नेपालीका लागि धेरै जोखिममा रहेको देश हो किनकि यहाँ प्रायः भूपू गोर्खाहरुको बसोवास बढी छ र हामी अधिकांश नेपाली सामूहिक परिवारमा बस्छौं साथै अलि बढी उमेर पुगेका बाजेबज्यैको बसोवास पनि यहाँ अरु देशको तुलनामा निकै बढी छ ।

कोरोना भाइरस महामारीका कारण सिर्जित आर्थिक तथा जनजीवनमा पर्ने प्रभाव र चुनौतीको सामना गर्दै बेलायतमा रहेका नेपाली जनतालाई सुरक्षित राख्नेतर्फ सबै निकायको ध्यान जानु अति नै आवश्यक देखिन्छ । यो हामी सबै नेपालीको साझा चुनौती हो । यस चुनौतीलाई ध्यानमा राखी ढिलै भए पनि एनआरएनए यूकेले जुन विषयको उठान गरेको छ यसले बेलायतमा बसोबास गर्नेमध्ये केही गम्भीर परिस्थितिको सामना गरिरहेका नेपालीका लागि यो अति नै लाभदायक हुन सक्छ ।

समय सान्दर्भिक यस्ता विषयलाई समयमा नै निकास दिन सके गैरआवासीय नेपाली संघप्रति आम नेपाली जनताको हेर्ने दृष्टिकोणमा समेत सकारात्मक प्रभाव पर्न सक्दछ । गैरआवासीय नेपाली संघले नेपाल सरकार तथा नेपाली दूतावासले भन्दा अगाडि नै विषम परिस्थितिमा रहेका आफ्ना नागरिकलाई नेपाल लैजानको लागि जुन पहल गरेको छ यो अति नै सराहनीय कार्य हो ।

पहल गर्दैमा सफल नै हुन्छ भन्ने विश्वास पनि छैन तर पहलै नगरे त सफल हुने कुरै भएन । यस चुनौतीलाई सामना गर्न आरएनए यूकेले सबैभन्दा पहिला नेपाल सरकार, परराष्ट्र मन्त्रालय र नेपाली दूतावासको सहयोगमा अति नै संवेदनशील परिस्थितिमा रहेका बेलायतमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सुसूचित गराई सम्बन्धित निकायमा पहल गर्नुपर्दछ ।

अहिलेको अवस्थामा यी सबै चुनौतीको सामना गर्न त्यति सजिलो छैन । नेपाल सरकारको सहयोगविना एनआरएनए यूकेले मात्र चाहेर पनि यो सबै सम्भव नहुन सक्छ । बेलायतमा बस्दै आएका गैरआवासीय नेपाली पनि नेपालका नागरिक हुन् नेपाल जान पाउने अधिकार उनीहरुलाई पनि छ । नेपाल सरकारले हामी बेलायतमा विभिन्न सन्दर्भले बसोबास गर्दै आएका नेपालीलाई नेपालीकै रूपमा व्यबहार गर्नुपर्दछ ।

यदि नेपाल सरकार र नेपाली दूतावास बेलायतलाई अलिकति पनि आफ्ना नागरिकप्रति माया छ भने गम्भीर परिस्थितिमा परेका बेलायतमा हुने नेपाली जनतालाई सम्भव भएसम्म छिटो नेपाल झिकाउने बातावरण बनाउनका लागि एनआरएनए यूके र नेपाल सरकारले एकआपसमा हातेमालो गर्नुपर्ने देखिन्छ ।

विश्वमा रहेका हरेक देशले आफू र आफ्नो नागरिकको संरक्षण र खोजी गरिराखेको देखिन्छ । साथै विदेशमा अलपत्र आफ्ना नागरिकलाई आफ्नै देश भित्राउने, विदेशमा खान र बस्नको सुविधा, नागरिकको सुरक्षा र उद्धार कार्य गरिरहेको पाइन्छ त्यस्तै हरेक देशले यो कार्य गर्न र गराउनका लागि आफ्नो दूतावास र आफ्नै राजदूतलाई जिम्मेवारी दिएका हुन्छन् ।

हो, संकट र महामारीका बेलामा मात्र नभई विदेशमा कुनै पनि नागरिकले दुःख पाउँछ र हारगुहार माग्छ भने उसको खोजी गर्नु दूतावासको काम हो कुनै पनि परदेशीले आफू समस्यामा पर्दा सम्झने भनेको आफ्नो देश, आफ्नो अभिभावक, आफ्नो परिवार, आफ्नो देशको सरकार नै हो । सरकार केका लागि यस्तै आफ्ना नागरिकहरुलाई समस्या परेको बेलामा त हो नि ।

अहिलेको यो महामारी हामीलाइ मात्र होइन त्यो पनि हामी सबैलाई थाहा छ तर समस्यामा परेका नागरिकलाई आ आफ्नै देशका सरकारले उद्दार पनि त गरिरहेकै छन् । त्यसैले अति नै गम्भीर परिस्थितिमा रहेका नेपाली नागरिकहरुको पहिचान गरी नेपाल लैजानका लागि ढिलै भए पनि गैरआवासीय नेपाली संघ बेलायतले उपाध्यक्ष रामचन्द्र पोखरेलको संयोजकमा भएको पहलकदमी प्रसंशनीय योग्य छ ।

तर यो निकै कठिन यात्रा हो । जुन हालसम्म नेपाल सरकार र नेपाली दूतावास बेलायतले सहयोग गर्ने कुनै प्रतिबद्धता जनाएका छैनन् ।
विगतलाई फर्केर हेर्दा गैरआवसीय नेपाली संघको कार्यसमितिमा रहेका कोही व्यक्तिहरूबाट काम गर्ने क्रममा केही कमीकमोरी भएकै हो । जसका कारण जनतासँग प्रत्यक्ष सरोकार राख्ने कतिपय विषयको समयमा नै सही परिणाम दिन सकेको देखिँदैन। तर हामी आशा गरौं त्यस्ता कमजोरी सधैं दोहोरिन्छ भन्न पनि सकिन्न र दोहोरिन पनि हुँदैन । संस्था आफैंमा नराम्रो होइन ।

त्यसैले व्यक्ति फेरिएपछि चरित्र पनि अवश्य फेरिन्छ र फेरिनु पर्दछ । विगतका कमजोरीलाई आत्मसात् गर्दै सुधार गर्ने पनि गल्ती गर्नेले नै हो । विदेशमा बस्ने नेपालीको रेमिट्यान्सले देश चलाउने तर तिनै नेपालीलाई मानवीय समस्यामा पर्दा नेपाल सरकार चुप लागेर बस्न मिल्दैन । अलपत्र परेका नेपालीलाई नेपाल झिकाई क्वारेन्टाइनमा राख्नुपरे पनि राख्नुहोस् ।

आवश्यकताअनुसार चेकजाँच गराउन परे पनि गराउने नेपाल सरकारको दायित्व हो । विश्व नै कोरोना भाइरसको महामारीमा परेको छ त्यसमा पनि बेलायत हामी नेपालीको सबैभन्दा बढी जोखिममा रहेको मुलुक हो । बेलायतमा हाम्रा धेरै नेपाली नागरिकले यसै भाइरसका कारण ज्यान गुमाइसकेका छन् ।

अन्य देशको तुलनामा बेलायत यसकारण पनि नेपालीका लागि धेरै जोखिममा रहेको देश हो किनकि यहाँ प्रायः भूपू गोर्खाहरुको बसोवास बढी छ र हामी अधिकांश नेपाली सामूहिक परिवारमा बस्छौं साथै अलि बढी उमेर पुगेका बाजेबज्यैको बसोवास पनि यहाँ अरु देशको तुलनामा निकै बढी छ ।

अघिल्लो पुस्ताको बसोबास बढी हुँदा नेपालबाट उहाँलाई भेटघाट गर्न आउने क्रम पनि बढी नै हुने भो ।जो लकडाउनका कारण अहिलेसम्म पनि बेलायतमा नै हुनुहुन्छ । यी सबै कारणले गर्दा पनि कोरोना भाइरस संक्रमण नेपालीमा बढी मात्रामा देखिएको छ । त्यसैले उद्धारको हिसाबले पनि बेलायत नेपाल सरकारको पहिलो प्राथमिकता पर्नुपर्दछ ।

यस विषम परिस्थितिमा विद्यार्थीलगायत सिंगो नेपाली समुदायमा सचेतना तथा सहयोगका लागि समस्त संघ, संस्था र समाजहरु एवं समाजसेवी महानुभावको सहयोगमा एन आरएनए यूकेले अति नै गम्भीर परिस्थितिमा रहेका नेपालीको समस्यालाई पहिचान गरी प्राथमिकताका आधारमा कुनै राजनीतिक दल बिशेष, म र मेरो, कुनै जाति, कुनै धर्म बिशेष नभनी यी सबै भन्दा माथि उठेर गर्न लागेको यो मानवीय कार्यमा सहयोग गरौं र बेलायतबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीको एउटै आवाजले सहयोगका लागि नेपाल सरकार र नेपाली दूतावास बेलायतलाई अनुरोध गरौं । जय जन्मभूमि !!!

प्रतिक्रिया दिनुहोस्