दासढुंगा दुर्घटना सत्ताको भ-याङ



बिजिता थापा रिजाल

मृत्यु पनि मान्छे पिच्छे फरक हुदो रहेछ, देशभक्त छोरो मर्दा देशै रुदो रहेछ !

आज जेठ ३ गते बिहानै देखि सामाजिक संन्जालमा नेपालका लोकप्रिय कम्युनिष्ट नेता मदन भण्डारी र जीवराज आश्रितलाई श्रद्धान्जली दिनेहरुको भिड नै लागेको थियो ।हरेकले

चितवनको दासढुगामा राखिएको मदन आश्रितको शालिकसंगै खिचेको पोष्ट गरेर श्रद्धान्जली अर्पण गरेको देखेपछि मेरो मनमा केही प्रश्न उब्जिएको छ ।हरेक नेताले आज भन्दा २७ बर्ष अघि दुर्घटनामा मारिएका नेताद्धयको योगदानको चर्चा गरेर नथाकेपनि मृत्युको बारेमा अहिले सम्म केही बताउन सकेका छैनन । तत्कालिन नेकपा एमालेले दासढुंगा हत्या काण्डको छानविन गर्न माग गर्दै सडकका रेलिड भाँच्न, आगजनी गर्ने गरेका दृष्य अहिले पनि मानसपटलमा ताजै छन । म भर्खर प्रवेशिका परीक्षाको तयारीमा थिए ।

हजारौ मानिस सडकमा उत्रिए उक्त घटनाको बिरोध मात्र गरेर उक्त घटना दुर्घना नभए हत्या नै भएको भन्दै राजधानीका सडक तताएका थिए । हामी पनि दासढुंगा घटना दुर्घटना नभएर हत्या नै भएको भन्दै सडकमा निस्किएका थियौं । तर त्यो रहस्य न एमालेले पत्ता लगाउन सक्यो न सरकारले नै त्यो दुर्घटना नै भन्न सक्यो ।

तत्कालिन एमालले उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने भन्दै सडक र सदन तताएको आज जस्तो लाग्छ । २७ बर्ष बितिसके छ । आज सम्म पनि उक्त घटना रहस्यको गर्भमा नै रहेको छ । हिजो रेलिड फुटाउनेहरु आज सत्ताको बागडोर सम्हालेर बसेका छन तै पनि दासढुंगा घटनाको रहस्य बाहिर आउने छांटकांट छैन । त्यो दिन आउने पनि छैन ।

२७ बर्ष बितिसक्दापनि पूर्व एमालेका नेताहरु दासढुगा हत्याकाण्डको छानविनको बिषयबाट ठाढिँदै गएको देखिन्छ । उनीहरुका लागि त्यो दुर्घटना राजनीति गर्ने एउटा मेलो मात्र भएको आज पुष्टी हुदै गएको देखिन्छ । आज मदन पत्नी बिद्या भण्डारी यो मुलुकको राष्ट प्रमुखको पदमा आसिन छिन । उनले समेत यो दुर्घटनाको बारेमा छानविन गर्नु पर्ने बिषयमा बारेमा मौन रहनुले पनि नेपाली राजनीतिमा थप संसय पैदा गरिदिएको छ ।

उक्त हत्या काण्डका एक मात्र जिवित साक्षी अमर लामालाई पनि तत्कालिन बिद्रोही माओवादीहरुले गोली हानी हत्या गरेपछि यो दुर्घटना झन रहस्यमय बन्दै गएको थियो । अहिले पूर्व एमाले र पूर्व माओवादी मिलेर नेकपा बनेको छ । नेपाली राजनीतिमा मदन भण्डारीको नाम अमर छ । उहांले नेपाली राजनीतिमा पुर्याउनु भएको योगदानको जति चर्चा गरेपनि त्यो अपुरो नै होला ।

२०४९ जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय दुर्घटनामा निधन भएपछि अहिले सम्म उक्त दुर्घटनाको रहस्य खुल्न सकेको छैन । अव पनि नेताहरुले यो बिषयलाई सत्तामा जाने भर्याङ बनाउने होईन घटनाको बारेमा तथ्य बाहिर ल्याउने प्रयास गरिनु पर्दछ । मदन र आश्रितको शालिक अगाडि उभिएर श्रद्धान्जली दिने भन्दा पनि सच्चा कार्यकर्ताले पनि लोक हसाउने काम होईन उक्त घटनाको तथ्य बाहिर ल्याउन आफ्नै नेतालाई दवाव दिन सके मात्रै दुवै नेताप्रति सच्चा श्रद्धान्जली हुने छ ।

प्रतिक्रिया दिनुहोस्