जीवन जिउने उत्तम तरिका



प्रेम रावत

जीवनमा चारवटा कुराहरू अत्यन्तै महत्वपूर्ण छन् । पहिलो त तपाईं आफूले आफूलाई चिन्नुहोस् । तपाईंले आफूलाई नचिनेसम्म मनुष्य जीवनको वास्तविकता के हो भन्ने कुरा तपाईंलाई थाहा नै हुँदैन ।

दोस्रो, तपाईंको जीवनमा जे प्राप्त भएको छ, त्यसका लागि आभारी हुनुहोस् । किनभने, हिजोआज हामी आफूसँग के छैन भन्ने कुरालाई मात्र हेर्छौँ । हामीसँग के छन्, तिनलाई हामी हेर्दैनौँ ।

यो हामीभित्र आइरहने अनि गइरहने श्वासको मूल्य कति छ ? यदि मानिसले आफ्नो अमूल्य श्वासलाई बेच्न सक्ने भएको भए यो संसारमा कोही पनि गरिब हुने थिएन । तर, यो सम्भव नै छैन किनभने यो बहुमूल्य चीज हो । दुःखको कुरा– यसका लागि हामीमा कुनै आभारको भावना नै छैन । मानिसभित्र ‘म आज जीवित छु र आज मलाई केही गर्नलाई अवसर प्राप्त भएको छ’ भन्ने कुराप्रति आभार हुनुपर्छ ।

पति–पत्नीका बीचमा आभार हुनुपर्दछ । आफ्नो देशप्रति आभार हुनुपर्दछ । जुन चीज राम्रो छ, त्यसप्रति आभारी हुनुपर्दछ । हाम्रो जीवनमा सधैँभरि यो हृदय आभारले भरिपूर्ण हुनुपर्दछ । जब हामी प्रत्येक दिनका लागि कृतज्ञ हुन्छौँ तब मात्र यो कुरा सम्भव हुन्छ ।
तेस्रो चीज हो आवाज– एउटा आवाज जुन बाहिरको आवाज हो, जसलाई शान्त पार्न सकिन्छ । तर, एउटा आवाज छ, जुन दुईवटा कानको बीचमा हुन्छ । जसलाई शान्त पार्न सकिँदैन । त्यहाँबाट आवाज आइरहन्छ र मानिस त्यो आवाजका कारणले बेचैन भइरहन्छ तर त्यसलाई शान्त पार्नै सक्दैन ।

‘तपाईं त यस्तो हुनुपथ्र्याे, तपाईं उस्तो हुनुपथ्र्याे’ भनेर कसैले भन्यो भने हामी त्यसै कुराका पछि लागेर सोच्न थाल्छौँ । मानिसहरूले मेरा बारेमा के भन्छन्् या के सोच्छन् भनेर त्यसका लागि चिन्तित हुनु आवश्यक छैन ।

चौथो कुरा हो– हामीले आफ्नो जीवनमा असफल र असफलतामा के फरक छ भन्ने कुरालाई थाहा पाउनुपर्दछ । हामी असफल हुन्छौँ तर असफलतालाई कहिल्यै पनि स्वीकार नगरौँ । जस्तो– हामी बच्चामा हिँड्न सिकिरहेका थियौँ । त्यतिखेर कैयाँै पटक लड्दै–उठ्दै, फेरि लड्दै–उठ्दै गर्दथ्यौँ । कुनै बेला असफल भयौँ तर हामीले कहिल्यै पनि त्यसबाट हार मानेनौँ । अन्त्यमा हामीले हिँड्न सिकेरै छाड्यौँ ।

ठीक त्यसै गरी, हामीले आफ्नो जीवनमा ती कुराहरूलाई बुझेर तिनलाई आफ्नो व्यवहारमा पनि उतार्न थाल्यौँ भने हाम्रो जीवन पनि आशाले भरिपूर्ण र आनन्दमय हुन सक्दछ ।

धेरै वर्षअघिको कुरा हो एकजना राजा थिए । उनलाई छिमेकी राजासँग युद्ध गर्न जानुपर्ने भयो । त्यसका लागि ती राजा तयारीमा लागिरहेका थिए । रात परेपछि उनको मनमा एउटा विचार आयो । यदि भोलि लडाइँमा म मरेँ भने– म स्वर्गमा पुग्छु कि नर्कमा ? रातभरि यही कुराले राजालाई सताइरह्यो ।

अर्काे दिन ती राजा सेनाहरूसँग युद्धका लागि निस्कँदा पनि उनको मनमा त्यही विचार आइरहेको थियो । ‘म मरेँ भने स्वर्गमा पुग्छु कि नर्कमा ।’ यस्तो गर्दागर्दै उनको मनमा ‘स्वर्ग र नर्क भन्ने ठाउँ कस्तो हुन्छ होला ?’ भन्ने विचार घुम्न थाल्यो ।

त्यति नै बेला एकजना सन्त कतै गइरहेका उनले देखे । उनले आफ्नो घोडाको लगामलाई त्यतैतिर मोडेर घोडालाई दौडाए । सन्तका अगाडि गएपछि आफ्नो घोडालाई टक्क रोकेर सोधे, ‘कृपया मलाई बताइदिनुहोस्, स्वर्ग भनेको कस्तो अनि नर्क भनेको कस्तो हुन्छ ?’

सन्तले भने, ‘राजन ! मलाई धेरै टाढा जानु छ । मलाई तपाईंसँग कुरा गर्ने फुर्सद छैन ।’
सन्तको कुरा सुनेर राजालाई रिस उठ्यो । उनको अनुहार रिसले रातो–पिरो भयो ।

उनले रिसाएर कड्किँदै भने, ‘कस्ता सन्त हौ तिमी ? म को हुँ, तिमीलाई थाहा छ ? म यहाँको राजा हुँ राजा ! मैले एउटा सानो प्रश्न सोध्दा तिमीलाई त्यसको उत्तर दिने फुर्सद छैन ?’
त्यसपछि सन्तले भने, ‘महाराज ! तपाईं यस बेला नर्कमा हुनुहुन्छ ।’

त्यसपछि राजालाई आफूले ठूलो गल्ती गरेको जस्तो भान भयो । यी सन्त त निकै ज्ञानी पो रहेछन् । मैले यिनीसँग यस्तो व्यवहार त गर्नुहुँदैन थियो । साँच्चै नै मैले पनि नर्कमा नै भएको जस्तो महसुस गरिरहेको छु ।
राजा घोडाबाट तल ओर्लिए । सन्तका अघि घुँडा टेक्दै झुकेर भने, ‘मलाई माफ गर्नुहोस् ! मलाई थाहा थिएन । मबाट ठूलो भूल भयो । साँच्चै नै त्यो रिसको झोकमा म नर्कमा नै थिएँ ।’
त्यसपछि सन्तले भने, ‘महाराज ! तपाईं अब स्वर्गमा हुनुहुन्छ ।’

मानिसहरूले जुन नर्कका बारेमा कुरा गर्छन्, जुन नर्कबाट हामी बच्न चाहन्छौँ– त्यसबाट बच्नका लागि स्वर्गको आवश्यकता पर्दछ । जसले ती सृष्टिकर्तालाई चिन्दछ उसका लागि त यहीँ नै स्वर्ग हुन्छ । त्यसका लागि विश्वासको होइन अनुभवको आवश्यकता हुन्छ । चिन्ने तरिका थाहा नहुन्जेलसम्म मात्र विश्वास ठीक हुन्छ । त्यो शक्तिलाई चिन्नुहोस् जुन हामीभित्रै छ । त्यसलाई आफ्नो जीवनमा अनुभव गर्नुहोस् । त्यसपछि सबै कुरा सम्भव हुन्छ ।

पटक–पटक एकै प्रकारको काम गरिरहने तर प्रतिफलचाहिँ भिन्न होस्, राम्रो होस् भनेर आशा गर्ने केही यस्ता पनि मानिसहरू छन्– यस संसारमा । राम्रो प्रतिफलको आशामा बिहानदेखि बेलुकासम्म त्यही काम गरिरहन्छन् तर आजको दिन राम्रोसँग बितोस् भन्ने चाहना राख्छन् । एकक्षणको मूल्य नै थाहा छैन भने आजको दिन राम्रोसँग व्यतीत हुन्छ कि हुँदैन भनेर कसरी थाहा होला र ? तपाईं आफ्नो एकक्षण, एउटा श्वास न त कसैलाई दिन सक्नुहुन्छ, न कसैसँग किन्न नै सक्नुहुन्छ । त्यसको मूल्य कति छ ? अत्यन्तै अनमोल !

एउटा सानो कथा छ । एकजना राजा थिए । एकपटक उनलाई आफ्नो राज्यमा एकजना मानिसले यस्तो चीज पत्ता लगाएको खबर प्राप्त भयो, जसको सेवन गरेपछि मर्नु नै पर्दैन । यो खबर सुनेर राजाले आफ्नो दूतलाई तुरुन्त त्यो चीज लिएर आउन आदेश दिए । राजाका दूत त्यहाँ पुगुन्जेलसम्ममा ती मानिस त मरिसकेका थिए । दूतले त्यहाँबाट फर्केर राजालाई सबै घटना बताएपछि त्यो कुरा सुनेर राजाले एकदमै रिसाउँदै भने, ‘तैँले त्यहाँ पुग्न किन ढिलो गरिस् ? अब तँलाई मृत्युदण्ड हुन्छ ।’ यत्तिकैमा एकजना ज्ञानी मानिस दरबारमा आइपुगे । सबै कुरा बुझिसकेपछि उनले भने, ‘राजन ! यो कुरा विचारणीय छ । यदि उनीसँग साँच्चै अमर हुने चीज हुँदो हो त ती मानिस अहिले पनि जिउँदै हुन्थे । वास्तवमा उनीसँग अमर हुने कुनै चीज नै थिएन । समय आएपछि सबैले जानै पर्छ ।

जुन चीज साथमा छ, वास्तविक छ, त्यसलाई तपाईंले बुझिरहनुभएको छैन । तपाईं आफ्नो धारणामा फसिरहनुभएको छ ।’
कतै हामीलाई पनि यस्तो हुँदैन ? मानिसहरू आफ्नो कल्पनामा रुमल्लिरहेका हुन्छन्– ‘यस्तो छ, उस्तो छ, यो छ, त्यो छ ।’ तर, वास्तविक कुरा के हो ? वास्तविक चीज त भित्र छ । सोच्नुहोस्, तपाईं जन्मनुहुँदाको समयमा सबैको ध्यान कुन कुरामा गएको थियो ? केवल श्वासमा । त्यो चलिरहेको छ कि छैन ? श्वास नचलेको भए के तपाईंलाई घरसम्म लगिन्थ्यो ? श्वास चलेपछि सबै राम्रो भयो । अनि, अन्तिम समय आएपछि प्रश्न यही नै हुन्छ– श्वास चलिरहेको छ कि छैन ? चलिरहेको छ भने सबै ठीक छ । त्यसैले के बुझ्नुहोस् भने, श्वास चलुन्जेलसम्म सृष्टिकर्ताको कृपा छ । के तपाईंलाई थाहा छ, यो कुन सृष्टिकर्ताको कृपा हो ? ती सृष्टिकर्ता जो तपाईंभित्र छन्, उनैको कृपा हो ।

जबसम्म तपाईं आफूभित्रको कुरालाई बुझ्नुहुन्न, तबसम्म आफ्नो समय, श्वास र सृष्टिकर्ताको कृपालाई बुझ्न सक्नुहुन्न । त्यसैले यो विवेकका साथ जिउन सिकौँ र अधुरो कथालाई पूरा गरेर आफ्नो जीवनलाई सफल पारौँ । आनन्दसँग बाँचौँ ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण डा. प्रेमराज ढुङ्गेल ।)

 

प्रतिक्रिया दिनुहोस्