अनलाइन शिक्षा एक अवसर



डा. लाक्पा शेर्पा ।

परिचय

वर्तमान सन्दर्भमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट संसारको कुनै पनि मुलुक मुक्त रहन सकेको स्थिति छैन । यसले शैक्षिक, आर्थिक, सामाजिक, पर्यटन र कृषिलगायत थुप्रै क्षेत्रमा प्रभाव पारेको छ ।

यद्यपी शैक्षिक क्षेत्रलाई भने निकै नराम्ररी असर पुर्‍याएको देखिन्छ । यो महामारीको त्रासबाट जोगिनका लागि संसार भरका मानिस र करोडौं बालबालिकाहरु घरमै बस्न बाध्य भएकाछन् । विशेष गरी विद्याालय जाने बालबालिकाहरुका पठनपाठन र शैक्षिक क्यालेण्डरहरु पूर्ण रुपमा अवरुद्ध भएको छ । यसरी घरमै बसेका असंख्य वालवालिकाहरुका लागि थुप्रै मुलुकहरुले अनलाइन पठनपाठन शुरु गरेकाछन् । नेपालमा पनि अहिले यसको चर्चा भइरहेको अवस्था छ । राज्यको तर्फबाट पनि प्रयासहरु भएको देखिन्छ ।

सूचना प्रविधिमा राज्यको नीति

सरकारले २०५७ मा नै सूचना तथा प्रविधि सम्बन्धी नीति अगाडि सारेको देखिन्छ । सञ्चार र प्रविधिलाई विकासको पूर्वाधारको रुपमा जोडेर शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि लगायत बिभिन्न क्षेत्रमा सूचना र प्रविधिको पहुँच बिस्तार गर्नु यसको मुख्य लक्ष्य रहेको थियो ।

यसै गरी पन्ध्रौ पञ्च वर्षीय योजनामा पनि सूचना र प्रविधि सम्बन्धी नीति उल्लेख भएको देखिन्छ । सरकारले तत्काल आइटि पार्क निर्माण गर्ने योजना पनि अगाडि सारेको थियो । सरकारी तथा गैह्रसरकारी कार्यालयमा सूचना र प्रविधिको प्रयोग बढिरहेकै स्थिति देखिन्छ ।

यद्यपी नेपाल जस्तो भौगोलिक विविधता भएको मुलकका लागि सबै ठाँउमा सूचना र प्रविधिको पहंँच बिस्तार गर्न निकै चुनौतीपूर्ण रहेको देखिन्छ । यसै सन्दर्भमा अनलाइन शिक्षाको चर्चा पनि भइरहेको छ । हुन त यसका केही चुनौतीहरु छन् ।

अनलाइन शिक्षाको पहुँच

सूचना र प्रविधिकै सम्वन्धमा कुरा गर्दा अहिले अनलाइन शिक्षाको सम्बन्धमा चर्चा भएको पाइन्छ । इन्टरनेट मार्फत कम्प्युटर,स्मार्टफोन, ल्यापटप, मोवाइल जस्ता सामाग्रीको प्रयोग गरी विद्यार्थी र शिक्षक बीच अन्तरक्रिया गर्दै पठनपाठन गर्ने प्रक्रियालाई अनलाइन शिक्षा भन्ने गरिन्छ ।नेपालमा झण्डै ७० लाख भन्दा बढी वालवालिकाहरु घरमा बसिरहेकाछन् । यसरी घरमा बसेका वालवालिकाहरुलाई अनलाइनको माध्यमबाट शिक्षा दिनु पर्ने जरुरी भएको छ । यद्यपी नेपालको सबै भागमा इन्टरनेटको पहुँच पुग्न सकेको अवस्था छैन ।

आज करिब ३५प्रतिशत जति वालवालिकाहरुले इन्टरनेटको माध्यमबाट शिक्षा लिन सक्ने आंकलन गरिएको छ । यसकारण सबै वालवालिकाहरुको अनलाइन शिक्षामा पहुँच पुग्ने अवस्था देखिन्न र दुनियामा कहीं पनि समान पहुँच भएको उदाहरण देख्न सकिन्न र अफलाइनमा पनि जोड दिनुपर्ने देखिन्छ । साथै यसका लागि अवसरहरु पनि नभएका होइनन् ।

अफआइन शिक्षा र प्रविधि

बालबालिकाहरुलाई अनलाइन शिक्षाका लागि पर्याप्त मात्रामा आवश्यक सामग्रीहरुको आवश्यकता पर्दछ । अमेरिकामा समेत अहिलेको परिस्थितिमा ६० हजार भन्दा बढी बालबालिकाहरुका लागि अनलाइन सामाग्रीहरुको पहुँच पुग्न नसकेको हुंदा ती गरीब बालबालिकाहरुलाई आवश्यक सामाग्रीहरु सङ्घसंथाहरुले बिभिन्न उपायबाट उपलब्ध गराउँदै आएको देखिन्छ ।

यसबाट पनि सबैलाई समान रुपले अनलाइन शिक्षाका लागि आवश्यक सामाग्रीहरु पुर्‍याउन कठिन छ भन्ने बुझ्न सकिन्छ । यद्यपी नेपालमा मोवाइलको प्रयोग अत्यधिक मात्रामा रहेको देखिन्छ । तथापि ती सबै मोवाइलहरु अनलाइन मैत्री नहुन सक्दछ । यसका लागि अफलाइनमा पनि पठनपाठन गर्ने व्यवस्था हुन जरुरी देखिन्छ ।

हुन त सरकारले धेरै पहिलादेखि एनटिभिबाट एसईईका विद्यार्थीका लागि कक्षाहरु संचालन गरिरहेको छ । त्यसैगरी केही नीजि कम्पनीले डिस होमबाट कक्षा संचालन गर्न थालेको देखिन्छ । वास्तवमा अहिलेको सन्दर्भमा जुनसुकै माध्यमबाट चाहे अनलाइन अथवा अफलाइनबाट भए पनि वालवालिकाहरुलाई पठनपाठन गराउन जरुरी देखिन्छ । इन्टरनेटको सुबिधा भएको ठाउंमा अनलाइन र इन्टरनेटको सुबिधा नभएको ठाउंमा अफलाइनमा समेत पठनपाठको व्यवस्था गर्न जरुरी देखिन्छ ।

अनलाइन शिक्षाको चुनौती

अनलाइन शिक्षा आजको अपरिहार्य विषय हुँदा हुँदै पनि सबै ठाउंमा इन्टरनेटको समान बितरण हुन नसक्दा यसबाट सम्पूर्ण बालबालिकालाई शिक्षा प्रदान गर्न निकै चुनौती रहेको देखिन्छ । त्यसैगरि शिक्षकका लागि पनि चुनौती रहेको पाइन्छ किनभने धेरै शिक्षकहरु पुरानै पद्धति र ढाँचामा शिक्षण गरिरहेको अवस्थामा त्यस्ता शिक्षकहरुले अनलाइनबाट शिक्षण गर्नु पर्दा असजिलो महसुस गर्ने र त्यसलाई अवलम्वन गर्न निकै चुनौती ठान्ने संभावना रहेको देखिन्छ ।

त्यसै गरी अनलाइन सेवा प्रदायकहरुका लागि पनि यो एउटा चुनौतीको बिषय बन्न सक्दछ किन भने यसका लागि भरपर्दो, सर्व स्वीकार्य र गुणस्तरीय सेवा प्रदान गर्न निकै कठिन पर्नसक्दछ । यसका साथै सबै उमेरका विद्यार्थीहरुलाई यस प्रक्रियामा ढाल्न पनि चुनौती रहेको देखिन्छ । अभिभावकहरुका लागि पनि यो एउटा चुनौतिको विषय हुनसक्दछ किन भने गृहकार्य, परियोजना कार्य पठनपाठनमा समेत फरक पर्नजाने हुनाले असहज महसुस गर्ने सम्भावना रहन्छ ।

अनलाइन शिक्षाको अवसर

विश्वमा सूचना र प्रविधिको माग बढिरहेको सन्दर्भमा नेपालमा पनि त्यसको प्रभाव र प्रवेग अवश्य परेको हुन्छ । यसबाटनेपाली जनताले पनि सूचना र प्रविधिको उपयोग गर्न चासो राख्ने संभावना रहेको देखिन्छ । वर्तमान अवस्थामा करिव ४ करोड जति मोवाइल सिमहरु प्रयोगमा आएको भनिन्छ र यसबाट के देखिन्छ भने नेपालमा पनि प्रविधिको मागमा बृद्धि भइरहेकोछ र बिस्तारै अनलाइनको प्रयोग पनि बढाउन सकिन्छ भन्ने विश्वास गर्न सकिन्छ ।भागवत गीतामा उल्लेखित एउटा ‘जे हुने छ त्यो पनि राम्रै हुनेछ’ भन्ने वाक्यांसा लाई स्मरण गर्दै कोभिड-१९को कारण अहिले शिक्षक कर्मचारीहरु लामो समय घरै बसिरहेको सन्दर्भमा उनीहरुले अनलाइनको सम्वन्धमा जान्न रसिक्नका लागि आफूलाई अभ्यस्त राख्न सकेको खण्डमा सबैले अनलाइनको प्रयोग गर्न जान्नेछन् र यसबाट घरमा बसेका लाखौ वालवालिकाहरु पनि लाभान्वित हुनेछन् ।

साथै विद्यालय खुल्ने बेला विद्यार्थीका सामुअरु नयाँ प्रस्तुतिका साथ प्रस्तुत हुन सक्नेछन् र त्यतिबेला विद्यार्थीहरुलाई पहिले भन्दा बढी विश्वसनीय ढंगबाट पठनपाठन गर्न सक्षम हुनेछन् ।यसको अर्थ कोभिड-१९ राम्रो भन्न खोजिएको अवश्य होइन ।

प्रतिक्रिया दिनुहोस्