कारुणिक कृति जन्मनेछ अब



पविता मुडभरी पुडासैनी

विश्वभर फैलिरहेको कोरोना महामारीको त्रासदीबाट त्राण पाउने प्रभावकारी उपायका रुपमा सरकारले लकडाउन गरेपछि काम नभएर भोकभोकै परेको भन्दै गाउँ फर्कने मजदुरहरुको लर्को सडकभरि देखियो । रोगसँगै भोकको चिन्ताले सताइएका मजदुरहरु लकडाउनको पर्वाह नगरी काखीमा झोला र काँधमा बालबच्चा बोकेर दाङ, बाँके, बर्दिया, रोल्पा, प्युठान लगायत आ–आफ्ना गाउँमा पुग्न पैदल नै लम्किरहे ।

लकडाउनका समयमा जो जहाँ छन् त्यहीँ बस्नू भन्ने सरकारको निर्देशनको अवज्ञा गर्दै मजदुरहरु बालबालिकासहित सडक र जंगलमैखालि भुइँमा बेपर्वाह लडिरहेका तस्वीर पत्रपत्रिकामा छ्यापछ्याप्ती देखिए । कोरोना महामारीसँगै शहरबजारमा रहेका गरिब, विपन्न र मजदुरहरुको भोकमरीका पीडासँगै कोसौं टाढाको अनवरत यात्रा तत्कालीन समाचार मात्र नभई भविष्यमा कोरिने एउटा सुन्दर कृतिको दुःखद कथा पनि हो ।

भोकले सताइएका हजारौं मजदुर दिनदिनै सडक किनारामा घिस्रिरहेका कारुणिक दृश्य हाललाई बासी समाचारका रुपमा ओझेल पर्दै गएपनि समयको अन्तरालमा यस्ता कारुणिक घटनाक्रम अमर कृतिका रुपमा उजागर भइ छाड्छन् ।

कोरोना संक्रमण भन्दा भोकमरीले राजधानी तथा शहरबजार छाडी सयौं किलोमिटर पैदल हिँडेर गाउँ फर्कने मजदुरहरुका दुःख, पीडा र विवशता एकादेशका कथा बनेर अवश्य बिलाउने छैनन् । राजधानीको माटोमा आँसु चुहाउँदै चार भन्ज्याङ काटिरहेका मजदुरको भोकमरीको कथाले एउटा सुन्दर कृतिको रेखा कोर्दैछ। गरिबी र विपन्नताले पिल्सिएर शहर पसेकाहरु लकडाउनका कारण भोकभोकै परेपछि गाडी नचलेपनि हिँडेरै घर फिर्ने साहस, उत्कण्ठा र विवशताका कथाहरु कुनै अमूल्य कृतिमा नचढी त्यत्तिकै बिलाउने छैनन् ।

मजदुरका भोकर भत्किएका मनको वेदना मिश्रित इतिहास भविष्यमा एक उत्कृष्ट कृति बनेर हामी माझ आउने नै छ । राजधानीका सडक–गल्लीमा छताछुल्ल भएका भोकमरीका समस्या राहतका नाउँमा बाँडिएका दुई–चार किलो चामलर नून–बेसारका पोका तथा केही मनकारीबाट एक–दुई हजार फुत्काउन पनि भोकमरीका व्यथा कहँदै बलिन्द्रधारा आँसु बहाएका कारुणिक दृश्यले एउटा ज्वलन्त कृति कोरिरहेछ ।

बन्दाबन्दीका कारण बिहान, दिउँसोभन्दा बेलुका बाक्लिने मजदुरका ताँतीको सास्ती र सुस्केरा नदेखे, नसुनेझैँ गरेको सरकार महामारी अन्त्य नभई भोकमरी समस्या सम्बोधन गर्न नसक्ने बताइरहेछ । लोकतन्त्र तथा गणतन्त्रपछि पनि गाउँ–गाउँबाट सस्तो मजदुरी गर्न भारत पसेकाहरु कोरोना महामारीसँगै घर फर्किंदा देश छिर्न नपाई सीमामै अलपत्र परेका, नदीमा हेलिएर सीमाबाट नेपाल प्रवेश गर्दा पक्राउ परेकार सीमामा थुनिएर क्वारेन्टाइनमै आमाको काजक्रिया गरेका नेपालीका पीडाले न्याय पाउने भनेको यस्ता कारुणिक घटना कुनै साहित्यकारको कृतिमा चढेपछि नै हो । गाँस, बासको चिन्ताले संघीय राजधानी तथा अन्यत्र शहरबजारबाट पैदल हिँडेरै १५ दिनको बाटो छिचोल्दै घर पुग्न लम्किरहेका लस्करका अदम्य साहस र कहरका कथा अवश्य कोरिनुपर्छ एक दिन ।

विश्वलाई नै त्राहिमाम बनाइरहेको कोरोनाको कहरले आगामी साहित्य, कला, संगीत र संस्कृतिका साथै हाम्रा चिन्तन रसिर्जनामा ठूलै बदलाव ल्याउनेछ । भोक र शोकका अभिशप्त भावना कृतिहरुमा मुखरित हुनेछन् । अमर कलाकृति यस्तै कहरले जन्माउँदा रहेछन् । यस्ता कृति तत्कालीन विषम परिस्थिति र पीडाका दस्ताबेज मात्र नभई आगामी शासकीय प्रवृत्ति र शासन प्रणाली सुधारका लागि कोसेढुंगा साबित हुन सक्छ । चप्पल पड्काउँदै शहर छाड्ने लस्करका भोेको पेटका कथा–व्यथा महामारीबाट सिर्जित तत्कालीन समस्या उधिन्ने टिपोट मात्र नभई भावी नेतृत्वका लागि हरेक संकट र महामारीपूर्व अपनाउनुपर्ने सावधानीका सबक पनि बन्न सक्छन् ।
महामारीले मानवीय र भौतिक सर्वनाश सँगै मौलिक कृति तथा नवीन सोच, संस्कृति पनि जन्माउँछ । इतिहासदेखि नै यस्ता खाले बिफर, हैजा, दादुरा, औलोलगायतका महामारीले मानव मूल्य र सांसारिक संस्कारमाथि खतराको ढोल बजाइरहँदा सर्जकहरु यही विषयलाई लिएर सुन्दर कृति र नवीन सभ्यताको रेखा कोरिरहेका हुन्थे । महामारी र भोकमरीका विषम परिस्थितिमाझ पनि सर्वमान्य कृतिहरुको उदय भएको इतिहास छ हामीसँग ।

रोजगारीका लागि गाउँ नै उजाड बनाउँदै बसाइँ सर्ने, मुग्लान पस्ने र शहरबजार तथा राजधानीमा भौतारिनेको इतिहास बोकेकाकैयौँ कृतिहरु साक्षी छन् हामीकहाँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन, लिलबहादुर क्षत्रीको बसाइँ, जगदिश घिमिरेको सकस,कृष्ण धरावासीको संघर्षलगायत पछिल्ला समय लेखिएका अनेकौँ कृतिझैँ कोरोना महामारी र मजदुरका भोकमरीका कहरलाई लिएरअर्को कृति अवश्य जन्मिनेछ । संकट र महामारीजस्ता यस्तै निष्ठुर समयका पेरिफेरिमा रचिएका कृतिहरु कालजयी बनेका छन्।

दोस्रो विश्वयुद्धताका अस्तित्ववादी रुसी साहित्यकार जाँ पाल सात्र्रले द्वन्द्वात्मक कृतिका समालोचना नामक आफ्नोकृतिमा माक्र्सवादको खरो आलोचना गर्दै युद्ध, विद्रोह र महामारीका समयमा पनि नागरिकका स्वतन्त्रता र मानवीय अस्तित्वको रक्षासँगै न्यूनतम आर्थिक व्यवस्थापनको जोहो गर्न नेतृत्व सक्षम हुनुपर्ने जिकिर गरेका छन् । विडम्बना! विश्वविद्यालयसम्म नटेकेका हठी कम्युनिस्ट पात्र सरकारको नेतृत्वमा छन्हाम्रो मुलुकमा ।

विगतका विपद्बाट पाठ सिकेर राजनीतिक लिप्सा र अहंकार त्याग्दै महामारीसँगै सतहमा देखिएका समस्या अनि अप्ठ्याराहरुको सम्बोधन गर्नुपर्ने समयमा वर्तमान नेतृत्व संवैधानिक निकाय तथा दल विभाजनसम्बन्धी विधेयक ल्याएर आफ्नै साख, अवसर एवं उचाइ धुलिसातपार्ने अनि सरकारको जग हल्लाउने कर्ममा उद्यत् देखियो । विपद् तथा महामारीका समयमा अझ घातक ठहरिने विचारमाथि बन्धन र लेखनमाथि लगाम कस्दै छ लोकतान्त्रिक जलपको सरकार ।

सन् २०१९ को डिसेम्बरदेखि चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणले एकै पटक हजारौँका संख्यामा मानिसको मृत्यु हँुदा विश्व नै कोलाहलमय बनेको छ । यो संक्रमणले आफन्तसँगै तर्सनुपर्नेर टाढिनु पर्ने बनाएको छ । संक्रमणका डरले मृत्युमा पनि मलामी नपाइनेर काजक्रियासमेत नहुने अवस्था निम्तिएको छ ।

२ सय १० देशमा फैलिसकेको यो संक्रमणले उच्च ज्वरो आउने, रुघा लाग्ने, घाँटी दुख्ने, सुख्खा खोकी लाग्नेर फोक्सोमा आक्रमण भएर सास फेर्न कठिन भई मानिसको मृत्यु हुन्छ। चीनबाट इटली, स्पेनलगायत जर्मन, बेलायतहुँदै पछिलो समय अमेरिकामा फैलिएको व्यापक संक्रमण र मृत्युका घटनाले शक्ति सम्पन्न मुलुकमा समेत महामारीविरुद्धको उपचार प्रणाली र आम उपायहरु कमजोर साबित भइरहेको छ ।

नेपालमा हालसम्म २ सय जना भन्दा बढीमा कोरोना संक्रमण भइसकेकोमा मृत्यु भने कसैको नभएपनि विश्वभर पौने ३ लाख व्यक्तिको ज्यान गइसकेको छ । संक्रमणले उच्च जोखिममा रहेका लाखौँ मानिस मृत्युशैय्यामा छट्पटाइरहेछन्। उपचारपछि घर फर्किनेको संख्या उल्लेख्य रहेपनि मृत्युका आँकडाबाट भयभित भई विश्वभर नै लकडाउन, क्वारेन्टाइन र आइसोलेसनमा राखेर मानिसलाई संक्रमणबाट जोगाउन स्वास्थ्यसेवा विस्तार र आर्थिक सहयोगका हरसम्भव प्रयास भइरहेछन्।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका ग्रामीण भेगकाहजारौँ विपन्न नागरिक मजदुरीका लागि छिमेकी मुलुक भारत छिरेका छन् । खाडी मुलुक त नेपालीको रोजगारीको केन्द्र नै बनिसकेको छ । महिलाका लस्करसमेत घरखेत र बालबच्चा छाडेर मजदुरीका लागि विदेशी भूमिमा रगत–पसिना बगाइरहेछन् । कामका सिलसिलामा तिनले भोगेका हिंसा, उत्पीडन र अत्याचारका घटनाहरु बारम्बार समाचारमा आइरहन्छन् ।

कोरोना महामारीले स्वदेश धकेलिएका ती लाखौँ मजदुरहरुलाई अब सरकारले के–कसरी व्यवस्थापन गर्ला ? २०७२ सालको भूकम्पका समयमा झैँ गाउँ फर्किएकाहरु दुःख भुलेर फेरि आ–आफ्नै कर्मक्षेत्रफर्किहाल्छन् नि भन्दै हाइसन्चो मानेर विगतकै शासकीय प्रवृत्ति दोहोरियो भने अहिलेको महामारीको त्रासले घिस्रँदै गाउँ पुगेकाहरु फेरि शहरबजार र राजधानीमा थुप्रिने छन्अनि बाँझा खेतबारीले न्याय नपाई भोकमरीको अर्को महामारीबाट हामी ग्रस्त हुनेछौँ ।
कोरोना महामारीविरुद्ध नेपाल सररकारले चैत्र ११ गतेदेखि लागू गर्दै आएको लकडाउन समय जेठ ५ गतेसम्म थपेको छ ।लकडाउन

अवधि लम्बिएसँगै सरकारले गर्नुपर्ने अनगिन्ती कार्यभार पनि थपिएका छन् । विशेषतः हालको समय कोरोनाविरुद्ध लामो समय घरभित्र थुनिएर बस्नेमात्र नभई भोकमरीविरुद्ध माटोसँग जुझ्दै हिँउदे बाली भित्र्याउने र बर्खे बाली लगाउने चटारोको समय पनि हो यो । विगतमा पनि भूकम्पका भयले शहर छाडेर गाउँ पसेका लाखौँ मजदुरलाई कृषि तथा पशुपालन व्यवसाय, ग्रामीण विकास र स्वरोजगार उद्यममा केन्द्रित गराउन सकेन सरकारले ।

हालकोरोना महामारीसँगै भोकमरीले पिल्सिएर शहरबजार र राजधानी छाडी गाउँ पसेका लाखौैं मजदुर तथा विपन्नलाई गाउँमै जीवन धान्ने र थमाउने कुनै योजना र रणनीति देखिँदैन सरकारसँग ।
अब लकडाउन खुलेसँगै कुद्ने गाडीका लस्करले त्यो दुःख–कष्ट झेल्दै आफ्नो ग्रामीण थातथलो पुगेकासबैजसो मजदुरलाई क्रमशः उतार्नेछ विभिन्न शहरबजार र राजधानीमा । कृषि र पशुपालनसँगै ग्रामीण विकास कार्यक्रमहरु ओझेलमा पर्दा सस्तो मजदुरीका खोजीमा परिवार र खेतीपाती छाडेर शहर पस्नेलाई अब गाउँघरमै रोक्न कृषि क्रान्ति, लघु उद्यम र ग्रामीण विकासका रणनीतिक योजना सरकारले अघि सार्नुपर्छ ।

कृषिमा आधुनिकीकरण र व्यवसायीकरण गर्न बीउ, विषादी र मल सुलभ रुपमा उपलब्ध गराउने, किसानको उत्पादन स्थानीय सरकारमार्फत बजार पु¥याउने र किसानको लगानी तथा मुनाफाको सुनिश्चितता गरी तिनको जीवनस्तर उकास्ने रणनीति अबसरकारले अवलम्बन गर्नुपर्छ । फेरिपनि कोरिया, मलेसिया र भारतमा मजदुर पठाएर हाइसन्चोमा रमाउने प्रवृत्ति त्यागी लाखौँ किसान मजदुरले आफ्नै थात थलोमा काम गरेर जिउनेरणनीति अख्तियार गर्न सरकार नचुकोस्।

 

प्रतिक्रिया दिनुहोस्