कूटनीति र सीमा विवाद



सिर्जना काफ्ले ।

केही समय अघि चिया गफको सन्दर्भमा जापनीज प्रोफेसरसंग नेपालको विविध पाटोमा छलफल गर्दै थिए । नेपाललाई अत्यन्त माया गर्ने जापानीज भएकोले नेपालको कुटनैतिक क्षेत्रको बारेमा पनि छलफल भयो ।

यही क्रममा जापानीजले पनि नेपाल–भारत–चीनको बारेमा चासो राख्नु स्वभाविक थियो । छलफलको क्रममा उनले- ‘इन्दो तो च्यूगोकुवा नेपारुकारा ज्याजुनी चुखाएवा हात्तेन नो ओकिई चान्स गा आरिमासा’ भनाईको अर्थ नेपालले इन्डिया र चाइना संगको सम्वन्धलाई कलात्मक, सन्तुलित, होसियारी तवरले उपयोग गर्न सक्यो भने नेपालको तिव्र विकास सम्भव छ किनकी चाइना र इन्डिया वर्तमान विश्वको ‘सुपर पावर’ वन्ने क्रममा रहेको यथार्थ बुझ्न गाह्रो छैन । उक्त प्रोफेसरको भनाई नेपालको लागि कुटनैतिक सम्वन्ध बिस्तारलाई गहिरो सुझाव हो भन्ने मनमा लागिरह्यो ।

यद्यपी संसार प्रसिद्ध कुटनीतिज्ञहरुको भनाई पनि यो भन्दा धेरै फरक छ जस्तो लाग्दैन । वाह्य शक्ति विशेषज्ञहरु, विदेशीहरु के भन्छन् त्यसलाई गुण र दोषको आधारमा ग्रहण गर्ने र सूचनालाई प्रशोधन गर्ने हक हामी मै नीहित छ ।

कुटनीति कला हो, यसभित्र ठूला ठूला संभावनाहरु लुकेको हुन्छ । सैद्धान्तिक रुपमा सह अस्तित्वमा आधारित राष्ट्रिय हितलाई सर्वोपरी ठानेर अन्य मुलुक संग व्यापार सीमा लगायत विकास, संमृद्धी, संस्कृतिको प्रवद्र्धननै हो ।

नेपाल भारत सम्वन्धमा इतिहास देखि आज सम्म विभिन्न ढंगले समस्या उत्पन्न भएको छ । अहिले पनि भारत सरकारले नेपालको अनुमति विना नेपालको भूमि प्रयोग गरेर जाने मानसारेवरको वाटोको उद्घाटन गरेर नेपालको सार्वभौमिकता माथि प्रहार गरेको छ । यो एउटा नेपाल राष्ट्रको निम्ति गंभीर विषय हो ।

विज्ञहरुको अनुसार १८१६ को सुगौल सन्धिलाई आधार मान्ने हो भने लिपुलेक, लिम्पियाधुरा र महाकाली नेपाली भूभागमा पर्दछ । मानसारोवर तिव्वतको भूभागमा पर्दछ, जुन चीनको स्वशासित क्षेत्र हो । वि.सं.२०१५ सालमा भारत र चीन सरकारले लिपुलेकलाई दुई देश वीच व्यापारिक मार्गको रुपमा विकास गर्नेसम्झौता गर्दा नेपालको असहमती रहेको थियो ।

केही समय अगाडी ओली सरकारको सफलता स्वरुप चाइना संग गरिएका सन्धि, सम्झौता वी.आर.आई. मा नेपालको संलग्नता चाइनाको नेपालको आन्तरिक रणनीतिमा चासो लगायतका विषयवस्तु इन्डियाको निम्ति पेचिलो बन्नु र विआरआईमा साउथ एशियामा भुटान र इन्डिया मात्र अनुपस्थित रहनुले पनि यस्ता कुटनैतिक पक्षलाई बढावा दिइरहेको हुन्छ ।

यस विषयमा चाइनिज पक्षको मौनताले पनि इन्डिया–चाइनाको व्यापारिक सम्वन्धमा आउन सक्ने समस्या हुन सक्छ भनेर बुझ्नको लागि प्रसस्त ठाउं छ । यद्यपी चाइनाको प्रतिक्रिया केही समय पश्चात आउन पनि सक्छ त्यो कसन रुपमा आउनेछ त्यसको आधारमा धारणा वनाउनु नै उपयुक्त हुन्छ भन्ने लाग्छ ।

गृहकार्यमा व्यवस्थापकीय क्षमता

१. सर्वप्रथम केही समय अगाडी देखि भनिएको लिपुलेक लिम्पियाधुरा र महाकालीको स्पष्ट विवरण सहित नेपाल सरकारले नक्सा प्रकाशन गर्न प्रयास गर्नु पर्‍यो । विविध कारणले प्रकाशन गर्न समस्या रहेको भनिएको प्रसंग अव तत्काल गर्न आवश्यक छ ।

२. ऐतिहासिक दस्तावेज, पुष्टि, प्रमाण दलील, तथ्य, नक्सा सम्पूर्ण दस्तावेज तयार गर्नको लागि सीमा विद, कुटनीतज्ञ र सम्वन्धित सरोकारवालहरु संगको व्यापक परामर्श आवश्यक छ । विज्ञहरु मुलुक भित्र मात्र नभएर अन्तराष्ट्रिय स्तरमा समेत खोजी गरिनुपर्ने ।

३. अन्तराष्ट्रिय जनमत : राष्ट्रियता, सार्वभौमिकता जस्ता विषय माथि वारम्वार आक्रमण हुनु सामान्य विषय होइन त्यसैले नेपाललाई मायां गर्ने, नेपालको प्रगतीको कामना गर्ने, चासो राख्ने नेपाली जो विदेशमा हुनुहुन्छ, जो विषय विज्ञ हो वा विदेशीहरु जसले वारम्वार यी विषयहरुमा दख्खल र आफ्ना दलीलहरु पेश गर्दै आउनु भएको छ उहांहरु संगको तर्क, तथ्य र आधारहरुको प्रयोग गर्दै नेपालको पक्षमा जनमत तयार गर्नु आवश्यक छ ।

४. दक्ष कुटनीतिज्ञहरुको अभाव भएको कारणलेनै यस्ता समस्याहरु वारम्वार देखिएका छन् त्यसैले अव भरपर्दो दक्ष कुटनीतिज्ञहरु निर्माणमा जोड दिन आवश्यक छ । अहिलेको समस्यालाई हेर्ने हो भने कुटनैतिक रुपमा भारतसंग आन्तरिक तयारीका लागि पठाउने कुटनीतिज्ञको अभाव नै देखिन्छ वा भारतमा रहेका नेपाललाई माया र समर्थन गर्ने कुटनीतिज्ञ परिचालन गर्न आवश्यक छ ।

५. सीमा विवाद सम्वन्धि अध्ययन, अनुसन्धानको आवश्यकता देखिन्छ । केही भएका भए पनि राज्यको सूचनाको श्रोतको रुपमा उपयोग गर्न सकिने परिणाममुखी अनुसन्धानको आवश्यकता छ ।

६. राष्ट्रिय सहमती सिंगो देशलाई एकताको सुत्रमा वांध्ने एउटा आधार हो । मुलुकको सार्वभौमिकता, अखण्डता र एकतामा कुनै पार्टी विशेष वा सरकारको भूमिका मात्र पर्याप्त नहुन सक्छ । सिंगो देशको लडाईमा सरकार वाहिर रहेका सवै शक्तिहरुलाई साथमा लिएर राय सल्लाह र सुझावको आधारमा अघि वढ्नु आवश्यक छ ।

अन्त्यमा, कोभिड १९ पश्चात विश्व प्रणाली व्यवस्थाको धु्रवीकरण कसरी होला यसको प्रक्षेपण गर्न केही समय अवश्य लाग्नेछ । अवश्य पनि विगतको धु्रवीकरणमा फरक पर्न आउनेछ । सरुवा रोग भनेको गरीव राष्ट्र भोकमरी भएको देशमा, फोहोरी देशमा मात्र हुनछ भन्ने धारणाले यूटर्न गरिसकेपछि सरुवा रोगले आज विकसित सभ्य र सफा भनिने राष्ट्र र व्यक्तिलाई पनि छाडेन । दम्भ, घमण्ड र दुस्साहसलाई कोभिड १९ ले झड्का दिएको छ ।

कोभिड १९ ले एउटा सन्देश दिएको छ कि मानव जाती सर्व समान छन् । आज मानव जातीको एकता अपरिहार्य बन्यो । ‘लकडाउन’जस्तो साझा रणनीति नै कोरोना विरुद्ध लड्ने साझा हतियार वन्यो जुन सफलता तर्फ उन्मुख छ । त्यसैले यो विषम परिस्थितिमा सिर्जित सीमा सम्वन्धी समस्याको समाधान वर्तमान परिस्थितिको यथार्थलाई नभुलिकन गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्