निर्मला पन्तहरुले कहिल्यै न्याय नपाउने नै हो ?



कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको साउनमा दुई वर्ष पुग्न लागेको छ । विगतको एक वर्षमा निर्मला पन्तको हत्या प्रकरणबारे सडकदेखि सदनसम्म चर्को आवाज उठिसकेको छ । सडक आन्दोलनदेखि चरणबद्ध संघर्षका कार्यक्रम गरिए, रिले अनशनदेखि हरेक क्षेत्रबाट सरकारको ध्यानाकर्षण गराइसकिएको छ । तर न निर्मलाका हत्यारा पत्ता लागे, न त निर्मलाले न्याय पाइन् ।

निर्मला प्रकरण एउटा प्रतिनिधि घटना हो । निर्मलाजस्ता सयौँ चेली अपराधीको सिकार भइरहेका छन् । हत्या, हिंसा, बलात्कार, अपहरणजस्ता दर्जनौँ आपराधिक घटना बढोत्तरी हुँदै छन् । कतिपय बलात्कारका घटना प्रहरीसम्म आइपुग्दैनन् ।समाजका भद्रभलाद्मी, सामाजिक अगुवा र राजनीतिक दबाबमा पनि दण्डहीनता बढिरहेको छ ।

विडम्बना ! ‘निर्मला घटनाका प्रकरणहरू यसअघि पनि थिए, आज पनि छन् र भोलि पनि केही समयसम्म रहन्छन्, हामी जुन ढंगको अवस्थामा छौँ, त्यस किसिमको अपराधलाई पूर्णरुपमा निषेध गर्न सक्दैनौँ’ भनेर एक राजनीतिक व्यक्तित्वबाट गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आएको थियो ।

निर्मला पन्तको हत्यारा पत्ता नलागेको घटनालाई लिएर अझै पनि प्रहरी प्रशासनको आलोचना हुँदै आएको छ । गृहमन्त्रीले आफ्नो मन्त्रालयको प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पीडितको पीडा कसरी कम गर्ने र अपराधीलाई पक्राउ गर्नेभन्दा हल्काफुल्का टिप्पणी गर्दै निर्मला हत्याकाण्डको अनुसन्धानमा प्रहरीको बचाउ गरेका थिए । सो अभिव्यक्तिलाई लिएर न्यायप्रेमी जनता, महिला अधिकारकर्मी, नागरिक समाजलगायत चौतर्फीरुपमा आलोचना बढेको छ ।

निर्मला प्रकरणमा प्रहरी र उसको अनुसन्धान चुक्दै जानु, नक्कली पीडक खडा गरेर नेपाली समाजलाई भ्रमित बनाउनु, न्यायका लागि अभियन्ताहरुले पोस्टर सार्वजनिक गर्दा शासकहरु चिढिनु न्यायसंगत थिएन । प्रायलाई थाहा छ, गृहकार्य गर्न साथीको घर गएकी छोरी नफर्किएपछि प्रहरीकोमा पुगेकी निर्मलाकी आमाले त्यसयता छोरीलाई न्यायका लागि निकै संघर्ष गरिन् । यसै क्रममा निर्मलाका बुबा विक्षिप्त मात्रै भएनन्, उनको मानसिक उपचारसमेत गर्नुपरेको थियो ।

यस्तो बेलामा आडभरोसा र पीडामा मलहमपट्टी लगाउने जिम्मेवारी राज्यको हो । दोषी पत्ता लगाउने निकाय गृह प्रशासनबाटै गैरजिम्मेवार अभिव्यक्ति आउँदा पीडित परिवार झन् आहात बन्न पुगे । यस घटनाको अझै टुंगो लाग्न नसक्नु हाम्रो विडम्बना नै मान्नुपर्छ । अब निर्मला पन्तहरुले कहिल्यै न्याय नपाउने हो त ?
– मन्दिरा बस्नेत, बर्दिया ।

आँखा बचाउन हरप्रयास गरौं
आँखा मानिसको सबैभन्दा महत्वपूर्ण अंग हो । यो अत्यधिक महत्वपूर्ण अंग भएकाले यसको संरक्षणमा उचित ध्यान दिनुपर्छ । एकैछिन् कल्पना गरांै त, आखा बन्द भयो भने के होला ? त्यो पीडादायी अवस्थाको कल्पना गर्दा पनि सबैजना झसङ्ग हुने गर्छन् । मानिस गम्भीर प्रकारको बिरामी हुँदा समयमा नै उपचार भएन भने त्यसको साइड इफेक्ट आँखामा परेर पनि आँखा बन्द हुने वा आँखामा दीर्घकालीन समस्या देखा पर्ने हुन सक्छ । अन्य विभिन्न प्रकारका लापार्बाहीपूर्ण कार्यले पनि आँखामा विभिन्न प्रकारका समस्या सिर्जना हुन सक्छ ।

तर, अहिले अवस्था फेरिएको छ । बढ्दो वातावरण प्रदूषण एवम् धूलोधुवाँका कारण त्यसको सीधै असर आँखामा पर्ने गरेको छ । यद्यपि, धूलोधुवाँले फोक्सोमा समेत गम्भीर प्रकारको असर पारिरहेको छ । त्यसैले, धूलोधुवाँ मानिसलाई दीर्घरोगी बनाउने खतरनाक माध्यम बनिरहेको छ । अहिले पनि मौसम परिवर्तनको समय भएकाले चर्को घाम लाग्दा धूलोधुवाँको प्रकोपले राजधानीवासीदेखि देशभरका शहरी क्षेत्रका बासिन्दा बढी पीडित भइरहेका छन् । त्यसो त धूलोधुवाँको प्रकोपबाट गाउँले पनि पीडित हुने क्रम बढ्दो छ ।

सरकारकै विभिन्न अध्ययनअनुुसार नेपालमा हाल ३० लाख व्यक्तिमा आँखासम्बन्धी समस्या देखिने गरेको छ । कतिपयलाई त आँखाको क्यान्सरसमेत भएको दुःखदायी अवस्था छ । यदि आँखाको उचित संरक्षण हुन सकेन भने आँखामा क्यान्सरसमेत हुन सक्ने चिकित्सकहरूले बताएका छन् । विश्व स्वास्थ्य संगठन र आँखारोग विशेषज्ञका अनुसार कुल जनसंख्याको १० प्रतिशत नागरिकमा आँखासम्बन्धी विभिन्न समस्या देखिने गरेको छ ।

आँखाको समस्या नजानिदो किसिमले बढ्दै जाने भएकाले आँखामा कुनै समस्या देखियो भने छिटोभन्दा छिटो चिकित्सककहाँ गएर देखाउनुपर्छ । सन्चो भइहाल्छ भनेर त्यसै बस्न हुँदैन । बच्चाहरूमा त झन् यो रोग चाँडै नै बल्झिने भएकाले अभिभावकहरू समयमा नै सचेत र सतर्क रहनुपर्छ । आँखारोग विशेषज्ञका अनुसार सबैले वर्षमा एकपटक अनिवार्य आँखा परीक्षण गर्नुपर्छ । त्यसै गरी बच्चा जन्मेको एक वर्षभित्र अनिवार्य आँखा परीक्षण गराउन लैजानुपर्छ । यसै गरी सुगर र रक्तचाप भएका बिरामीले ६–६ महिनामा आँखाको परीक्षण गराउनुपर्छ । त्यसै गरी आँखालाई सुरक्षित राख्न लामो समयसम्म कम्प्युटर तथा मोबाइल प्रयोग गर्नुहँुदैन ।

सरकारका सरोकारवाला निकायले शहरी क्षेलाई धूलोधुवाँबाट मुक्त गराउने किसिमका योजनाहरू तर्जुमा गरी ती योजनाको सशक्त कार्यान्वयन गर्न सक्नुपर्छ । शहर बजारलाई धुवाँबाट मुक्त गराउन विद्युतीय यातायातका साधनमा बढी जोड दिनुपर्छ । जनताले धूलो र धुवाँबाट मुक्ति पाए भने पनि धेरै हदसम्म उनीहरूको आँखा सुुरक्षित हुन सक्ने विश्वास गर्न सकिन्छ । अर्कोतर्फ आफ्नो आँखालाई स्वस्थ राख्न नागरिकले पनि आँखाको सरसफाइमा विशेष जोड दिनुपर्छ भने आँखाको नियमित परीक्षण गराइरहनुपर्छ ।
– सुरजराज भण्डारी, एमबीबीएस विद्यार्थी ।

 

प्रतिक्रिया दिनुहोस्