जीवन ठप्प भो, काठमाडौं खोलौं !

लक्ष्मण अधिकारी



‘यसपालिको त ह्याप्पी बर्थ डे काउन्ट नै हुँदैन, लकडाउनमा बिताएको जीवनको के भ्यालु ?’ मैले ह्याप्पी बर्थडे भनी नसिध्याउँदै अमेरिकामा बस्ने साथीले प्रतिवाद गर्दै भन्यो, ‘जीवनको गति रोकेर बाँचेको जीवन कसरी ह्याप्पी हुनु ?’ जीवन कति बाँच्यो भन्दा पनि कसरी बाँच्यो भन्ने कुराले महत्व राख्छ भन्ने पूर्व अमेरिकी राष्ट्रपति अब्राहम लिंकनको भनाइलाई आज संसारका धेरै मानिसले आत्मसात् गरेर सोचिरहेछन्, ‘यस्तो जिन्दगी खै के जिन्दगी ?’

महामारी रोक्न लकडाउन एउटा राम्रो हतियार भए पनि यो हतियारको एकल प्रहारले मानिसको जीवनलाई गति दिन र जीवनको गुणात्मकता कायम गर्न सक्तैन भन्ने कुरा संसारमै प्रमाणित भइकेको छ । त्यसैले युरोपका कतिपय मुलुक, अष्ट्रेलिया, भेतनाम, सिंगापुर, चीन, न्युजील्याण्ड, दक्षिण कोरियामा रोग नियन्त्रणका विविध प्रयाससँगै लकडाउन खुकुलो पारेर नागरिकको जीवनलाई गतिशीलता प्रदान गरेका छन् । उनीहरुले लकडाउनसँगै कन्ट्राक्ट टे्रेसिङ, हट स्पष्टहरुको घेराबन्दी, अन्तर्राष्ट्रिय बोर्डर पूर्ण रुपमा शिल्ड गर्ने काम गरे, जसले गर्दा विरामीहरुको अनावश्यक आवत—जावत हुन र संक्रमण फैलिन पाएन र रोग नियन्त्रण हुँदै आयो । तर नेपालमा आन्तरिक लकडाउनमा कडाइ गरेता पनि अन्तर्राष्ट्रिय बोर्डर विशेषगरी स्थलमार्ग पूर्ण रुपमा शिल्ड गर्ने र परीक्षणपछि मात्र मानिसहरुलाई प्रवेश दिने कार्य प्रभावकारी हुन सकेन । यसले गर्दा वीरगञ्ज, कपिलबस्तु, नेपालगञ्ज आदि क्षेत्रमा लकडाउन पछि बोर्डर पारिबाट लुकेर छिरेका मानिसबाट संक्रमण फैलिएको छ ।

पछिल्लोपटक, कपिलबस्तुमा २९ गते कोरोना संक्रमणको पुष्टि भएका १० जना नै लकडाउनकै बेला अघिल्लो हप्ता भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेका संक्रमितहरु हुन् । त्यसैगरी अघिल्लो हप्ता कपिलबस्तुमै फेला परेका पाँच जना संक्रमित पनि सुरक्षाकर्मीको आँखा छलेर भारतबाट आएका थिए । सीमा सुरक्षा खकुलो पारेर संक्रमितहरु भित्रिन दिइरहने अनि त्यसकै आडमा महामारी बढ्यो भनेर पूरै देशलाई लकडाउन गरिराख्ने कत्तिको विवेकपूर्ण र युक्तिसंगत हुन्छ ? त्यसकारणले पनि शंकास्पद क्षेत्रलाई शिलबन्दी गरेर लकडाउन गर्ने र रोगमुक्त क्षेत्रलाई घेराबन्दी गरी सामान्य रुपमा सञ्चालन हुन दिनुपर्छ, एउटा क्षेत्रमा परेको प्रभाव देखाएर अर्को क्षेत्रको जनजीवन ठप्प पार्नु हुँदैन ।

चीनमा कोरोना भाइरस देखिएको केही हप्तापछि नै दक्षिण कोरियाले समुदाय लेवलमा आकस्मिक परीक्षण कार्य सुरु गरेको थियो, विरामी भेटिएपछि पनि व्यापक परीक्षण गरेर कोरोनाको संक्रमणलाई आफ्नो पकडमा राख्न सक्यो । चीनले पनि उहानलाई शिलबन्दी गरेर परीक्षण कार्यलाई व्यापक बनाएपछि महामारी नियन्त्रणमा राख्यो । हामीकहाँ समुदाय लेवलमा परीक्षण व्यापक हुन सकेन । रोग भएको र नभएको सबै क्षेत्रलाई लकडाउन गरेर ठप्प पारिएको छ । काठमाडौं उपत्यकामा दुई जनालाई रोग देखिएकोमा निको भइसकेको छ र त्यस क्षेत्रको कन्ट्राक्ट टे«सिङ पनि सम्पन्न भई नेगेटिभ रिपोर्ट आएको छ । यस अर्थमा काठमाडौं उपत्यका प्रमाणित रुपमा रोगमुक्त छ । यदि कहीं कतै शंकास्पद विरामीहरु छन् भने उनीहरुलाई आइसोलेसनमा राखेर उपचार गर्ने र कन्ट्राक्ट टे्रसिङ सुरु गर्नुपर्ने हो, तर सरकारले त्यो पनि गरिरहेको देखिदैन । यसको मतलव काठमाडौं रोगमुक्त छ । अब कोही काठमाडौ आउँछ भने कोरोना नभएको परीक्षण रिपोर्ट देखाउने व्यवस्था हुनुपर्‍यो ।

अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाइमार्ग बन्द गरिएको छ । यस स्थितिमा काठमाडौं वरिपरिका स्थल मार्गमा प्रभावकारी परीक्षण र निगरानीमा कडाइ गरेर उपत्यकाको जीवन सामान्य बनाउनु नै मुलुक र मुलकवासीको भलाइको कार्य हो । गौंडा रुङ्नेहरुले रोगीहरु छोडिदेलान् भनेर पूरा उपत्यका नै गतिहीन बनाएर राखिरहँदा यसले त हाम्रो सुरक्षा तथा प्रशासनयन्त्र फितलो भएको प्रमाणित हुँदैन र ? यस्तो स्थिति कहिलेसम्म राखिरहने ?

प्रसिद्ध बैज्ञानिक अल्बर्ट आइन्सटाइनले भनेका थिए, ‘जीवन भनेको साइकल चढ्नुजस्तै हो, सन्तुलन कायम राख्न साइकल चलाइरहनुपर्छ’ अर्थात जीवनले गति पाएन भने लडिन्छ, असफल भइन्छ । अहिले काठमाडौंको जीवन हिलोमा लडेको साइकलजस्तै भएको छ । लकडाउनको नकारात्मक प्रभाव सबैतिर परेको छ, तर काठमाडौं राजधानी हो, देशको मुटु । मुटु ठप्प भएपछि देशै अपाहिज जस्तै बनेको छ ।

देशको अर्थतन्त्र, प्रशासन, न्याय, रोजगारी, उद्योग, ब्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य आदि हरेक क्षेत्रको बाग्डोर राजधानीमा छ । अहिले राजधानी राजनितीक रुपले चुनौतिपूर्ण होला, तर महामारीका हिसावले तुलनात्मरुपमा बढी सुरक्षित छ । त्यसकारण पनि राजधानीमा लकडाउनलाई निरन्तरता दिइरहनु आवश्यक छ जस्तो लाग्दैन ।

रोग देखा परेको लामो समयसम्म आवश्यक औषधि उपकरण भित्र्याउने, स्वास्थ्य पूर्वाधार र जनशक्ति तयारी अवस्थामा राख्ने, समुदायमा परीक्षण कार्य गर्ने, संभावित संक्रमण क्षेत्र छुट्याएर लकडाउन गर्ने जस्ता तयारी गर्ने कार्यमा सरकार ज्यादै सुस्त र निम्छरो देखियो । लकडाउन गरेपछि महामारी नियन्त्रण भइहाल्छ भन्नेतिर मात्र सरकार एकोहोरिएको देखिन्छ । अहिले पनि त्यही मनोबिज्ञानले प्रधानता पाइरहेको आभास भइरहेछ ।

वास्तवमा नेपालमा लकडाउन अचानक र विना तयारी नै आयो भन्दा पनि हुन्छ । लकडाउनपछि पनि औषधि, उपकरण खरिद, जनशक्ति व्यवस्थापनमा सरकार चुस्त हुन सकेन । त्यसकै मार अहिले आम जनताले भोगनु परिरहेको छ । औषधि उपकरण खरिदमा पनि सरकार भ्रष्टाचारको आरोप खेप्ने स्थितिमा पुग्यो । महामारी नियन्त्राण गर्ने जस्तो कार्यमा प्रयोग गर्ने सामग्री खरिद कार्य व्यावसायिक क्षेत्रबाट चुस्त रुपमा हुनुपर्नेमा अव्यवसायिक क्षेत्रलाई सुम्मेर सारकारले पानीमाथि ओभानो हुन खोज्यो, जसले गर्दा आवश्यक सामग्रीको आपूर्ति समयमा हुन नसक्दा समुदाय तहको परीक्षणले ब्यापकता पाउन सकेन र लकडाउन लम्बिदै गएको छ ।

सरकारले लकडाउनसँगै सवैको जीवन सुचारु गर्ने अरु उपायहरु पनि सँगै ल्याएको भए सायद यो लडकडाउन यति कष्टदायक हुने थिएन । फुटपाथ र झोपडीहरुमा साना व्यावसाय गर्नेहरु, असंगठित क्षेत्रका मजदूरहरु, घरबारविहिनहरुको जीवन अहिले ज्यादै कष्टप्रद बनेको छ । उनीहरुको भरण पोषणका लागि बजेट अभाव भएको भनेर स्थानीय निकायहरु गुनासो गर्न थालेका छन् । राहत वितरणमा राजनीतिक पक्षपोषण भएको भनेर ठाउँठाउँबाट गुनासाहरु सार्वजनिक भइरहेका छन् ।

कतिपय संगठित क्षेत्रमा काम गर्नेहरुको पनि छ–सात महिना सम्मको लागि रोजगारी गुमिसकेको छ । ब्यापार व्यावसाय ठप्प हुँदा लगानीकर्ताहरुमा आर्थिक विपत्ति आउनुका साथै भावनात्मक रुपमा पनि रित्तो बनिसकेको स्थिति छ । सरकारी तलव खाएर घरमा कुँजिएर बस्नेहरु पनि मानसिक तनावमा परिरहेको भेटिन्छ । उनीहरुमा रोगले मर्ने त्रास भन्दा पनि भावनात्मक रुपमा मरिरहेको अनुभूतिको भार बढी देखिन्छ । यस सन्दर्भमा अमेरिकी लेखक नोम्र्यान कजिन्सको भनाइ निकै सान्दर्भिक लाग्छ, ‘मृत्यु जीवनको एकदमै ठूलो क्षति होइन, एकदमै ठूलो क्षति भनेको त त्यो हो जुन जीवित हुँदा हामीभित्र मरिरहेको हुन्छ ।’

वास्तवमा अहिले काठमाडौंको स्थिति हेर्दा लकडाउनले जाम नै गरेर राखिरहनुपर्छ जस्तो लाग्दैन । जनस्वास्थ्यका सिद्धान्तहरुको परिपालन गराएर मुलुकको मुटुरुपी राजधानीलाई सामान्य र गतिशीलतातिर फर्काउन परिपक्व भइसकेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्