सतर्कता अपनाउने तर कामकाज नछोड्ने नीति उपयोगी



भोला धिताल
वैदेशिक रोजगार, युएई

भोला धिताल विदेशी भूमिमा रहेर कोरोना भाइरस र आर्थिक मन्दीको सामना गरिरहेका लाखौं नेपालीमध्यै एक हुनुहुन्छ । स्थायी ठेगाना काभ्रेपलाञ्चोक जिल्ला शंखु पाटीचौर धुलिखेल नगरपालिका वडा नं. १२ भएका धिताल मध्यमवर्गीय किसान परिवारका सदस्य हुनुहुन्छ । बाबुआमाका तीनजना सन्तानमध्ये सबैभन्दा जेठो छोरा धितालको घरमा आमा, बुबा, श्रीमती र दुई बच्चा हुनुहुन्छ । कलेज पढ्ने छोरी र स्कुल पढ्ने छोराका पिता धिताल संयुक्त अरव इमिरेट्स (युएई) को रस अल खेमा अन्तर्राष्ट्रिय विमानस्थलमा इलेक्ट्रोमेकानिकल इन्जिनियरिङ विभागमा शिफ्ट ईन्चार्जको रुपमा विगत ८ वर्षदेखि कार्यरत हुनुहुन्छ । धितालसँग नेपाल समाचारपत्रका लागि भगवती तिमल्सिनाले गरेको कुराकानीको सारसंक्षेप :

युएईमा नेपालीहरु कोरोनासँग कसरी जुधिरहेका छन् ?
विश्वमै आएको कोरोना भाइरसकोमहामारीबाट त्रसित भैरहेको अवस्थामा युएईजस्तो पर्यटकीय गन्तव्य स्थल अछुतो हुने त कुरै भएन ।
यहाँ विषेशगरी दुबई प्रान्तमा कोरोनाको बिरामीहरुको संख्या अप्रत्यासितरुपमा बढेको छ । तैपनि यहाँको सरकारले तत्काल धेरै सुरक्षात्मक उपायहरू अवलम्बन गरेकोले यति सानो तर विदेशी जनसंख्याको ठूलो चाप भएको देशमा विश्वपरिवेशमा हेर्दा सामान्य नै हो ।

तपाईं काममा गइराख्नुभएको छ कि बिदामा हुनुहुन्छ ?
हामीले इमर्जेन्सीमा पनि एयरपोर्ट सुचारु राख्नुपर्ने भएकाले हाम्रो ड्युटी कोरोनाको कारणले कम भएको छैन । हस्पिटल, डिपार्टमेन्टल स्टोर, औषधि पसल र खाद्य उद्योगबाहेक अरु कम्पनीहरु प्रायः बन्द छन् ।

नेपालमा जस्तो लकडाउन छ कि छैन ?
नेपालमा जस्तो लकडाउन छैन । पहिला साँझ ८ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म हुने गथ्र्यो, अहिले रमादानको समय भएकोले राति १० बजेदेखि बिहान ६ बजेसम्म गरिएको छ, इमर्जेन्सी सेवा २४ घन्टै चालु छ ।

तपाईं कार्यरत कम्पनीले कर्मचारीहरुको सुरक्षाको लागि कस्तो व्यवस्था गरेको छ ?
हाम्रो कम्पनीले एकदम उच्च सुरक्षात्मक तरिकाले कर्मचारीहरु परिचालन गरेको छ । मास्क, ग्लोभ्स र स्यानिटाइजरको कमी हुन दिएको छैन । साप्ताहिकरुपमा डिसइम्फेक्सन स्प्रे गराउँछ । गाडीमा सोसियल डिस्टेन्स मेन्टेन गराएको छ । प्रत्येक दिन ड्युटीमा संलग्न हुनुभन्दा पहिला परीक्षण अनिवार्य हुन्छ । सबै कर्मचारीको निःशुल्क कोभिड १९ टेस्ट दुई चरण गरेर सम्पन्न गरियो । अरू सतर्कता त आफूले अपनाउने र अवलम्बन गर्ने विषय हो ।

 

कोरोना नियन्त्रणका विषयमा देशको नीति के छ ?
कोरोना नियन्त्रणको लागि सरकारी नीति प्रायः संसारका सबै देशहरूले झैं, अवलम्बन गरेको छ । अत्यावश्यक कामका लागि बाहेक घरबाहिर ननिस्कनु, कुनै किसिमको ज्वरो आएमा तुरुन्त अस्पताल जानु, सोसल डिस्टेन्स कायम राख्नु, कतै जानै परेमा पीपीई प्रयोग नगरी नजानू लगायतका हेल्थ टिप्सहरु जारी गरेको छ । सतर्कता अपनाउने तर कामकाज नछोड्ने नीति उपयोगी पनि छ ।

तपाईं नेपाली भएको कारण कोरोना संक्रमणका बेला विभेद भएको छ कि छैन ?
मैले आफूले व्यक्तिगतरुपमा यो समयमा कुनै किसिमको विभेद भोग्नुपरेको छैन । सरकारले यो समय सबैलाई समानरुपले व्यवहार गरेको छ, । अन्यत्र यस्तो भए गरेको भए कम्पनीको कारणले हुनसक्छ ।

नेपालीलाई काम गराउँदा सेवा–सुविधा कस्तो छ ?
कामको सेवा–सुविधा कामदारको कामको वर्गीकरणअनुसार हुन्छ । कुनै सानो कम्पनीमा उस्तै खालको काममा तलब र सुविधा कम हुन्छ भने ठूलो कम्पनीमा बढीनै हुन्छ । प्रोफेसनल हिसाबले आउनेहरुको सुविधा राम्रै हुन्छ ।

कतिपय देशमा नेपाली हो मरे यही मर्छ, यसलाई काममा लगाउने भन्नेसम्म गर्छन् रे ! तपाईंकोमा त्यस्तो छ कि छैन ?
नेपाली नै भएको नाताले त त्यस्तो विभेद सुनेको छैन, सरकारी तबरबाट भन्दा पनि कुनै–कुनै कम्पनीको तर्फबाट चाहिं हुनेगरेको सुनिन्छ । पहिलानै कुनै थाहा नभएको कागजमा सही गराएर कानुनीरुपमा कम्पनीहरुमाथि पर्छन् । यो चाहिं वैदेशिक रोजगारीमा विदेशिने नेपालीहरुको समस्या हो ।

त्यहाँ कोरोना नियन्त्रणका लागि गरेको व्यवस्था हेरेर नेपाललाई के गर्न सुझाव दिनुहुन्छ ?
हामी नेपालीहरुमा चेतनास्तर बढेको भए पनि आ होस् केही हुँदैन भन्ने प्रवृत्तिले नेपाल साँच्चै चरम जोखिम र संकटमा छ ।

नेपाली दूतावासको भूमिका कस्तो छ ?
नेपाली दूतावासको भूमिका अन्य देशका दूतावासको जस्तो पक्कै छैन । कुन–कुन कामदार कता–कता के–के गर्दै छन्, यी सब कुराहरुको रेकर्ड नै छैन । खालि नजिककाहरुले जे भन्यो त्यही वास्तविकता हो भन्ने छ । सही धरातलीय र वास्तविकता अनुमानभन्दा धेरै फरक छ भन्ने कुरामा शायद दूतावास अनभिज्ञ छ ।

सबै खाले समस्या सम्बोधन गर्न नसक्नु दूतावासको कमजोरी हो र कृत्रिम समस्या पैदा गरेर दूतावास गुहार्नुचाहिं श्रमिकहरुको कमजोरी हो । दूतावासको भूमिका नपुगेको चाहिं पक्कै हो । आजका मितिसम्म हाम्रो श्रमिकको हितमा दूतावासले के ग¥यो, के गर्दैछ भन्ने कुराको जानकारी हामीलाई छैन ।

अहिले शत प्रतिशत मुलुकबाहिर जानेहरुले फेसबुक चलाउँछन्, कम से कम एउटा आधिकारिक फÞेसबुक पेज बनाएर त सम्प्रेषण गर्न सकिन्छ नि ? त्यसपछि आउँछ समस्याहरु धरातलमा, यदि फेसबुक पेज छ भने पनि मलगायत कैयौं साथीहरुलाई थाहा छैन । यस्तै कुराहरु समयसापेक्ष गराउँदै लैजानु दूतावासको कर्तव्य हो ।

अन्त्यमा केही भन्नुछ कि ?
कोरोनाबाट डराउने हैन, यसबाट सतर्क हुने हो, लागिहालेछ भने पनि इच्छाशक्ति बलियो बनाउँदै डक्टरको निर्देशन पालना गरौं, आफू संक्रमित भएमा अरुलाई संक्रमित नपारौं ।

प्रतिक्रिया दिनुहोस्