लकडाउनका बेला कवि तथा कलाकारहरू !



एलिसा ढुङ्गाना

मा के गर्दैछन् विश्वलाई नै सन्त्रस्त बनाइरहेको देसान (महामारी रोग) कोरोना भाइरस (कोभिड–१९)का कारण गत चैत ११ गतेदेखि नेपालमा लकडाउन जारी छ । सुरुमा एक हप्ताका लागि लकडाउन भनिए पनि संक्रमित बढ्दै जान थालेपछि अर्को हप्ता, अर्को हप्ता गर्दै लकडाउन निरन्तर जारी छ । यसबिचमा देशमा देशमा कोरोना भाइरस (कोभिड–१९)का सङ्क्रमति बढिरहेका छन् । ११० जना सङ्क्रमित देखिएका छन् भने ३ जना निको भइसके्का छन् । अन्य देशमा जस्तो नेपालमा जटिलता देखिएको त छैन तैपनि सावधानी र लकडाउन जारी छ । समस्त गतिविधि र जनजीवन नै ठप्प हुने यस्तो लकडाउनको बेला कवि, लेखक तथा कलाकारहरूचाहिँ के गर्दैछन् त ? फेसबुकका पानाहरू मैला पार्दै सत्तारुढ दल र सरकारको निन्दा गरेरै दिन कटाइरहेका छन् कि अरु केही सृजनात्मक काम पनि गर्दैछन् ? यसै सम्बन्धमा मैले एउटा लेख तयारी पारेकी छु । आशा छ पढेर प्रतिक्रिया दिनुहुने छ

लकडाउनका कारण बन्दव्यापार, कार्यालय आदि सबै पूर्ण रूपमा बन्द रहेका बेला साहित्य वा सङ्गीत सृजना जस्ता कार्यहरूमा स्रष्टा तथा सर्जकहरू पूरै साधनारत रहेका होलान् ! हामीलाई यस्तै लाग्छ । यस सम्बन्धमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राई कोरोना भाइरस (कोभिड–१९)ले सृजना गरेको त्रासदीपूर्ण अवस्थामा समय जति पाए पनि अरु बेलाजस्तो सृजना गर्न सहज नुहने अनुभव सुनाउँछन् । ‘घरि घरि समाचारहरूमा आँखा गइरहन्छ ।

अशोक राई

कहाँ के भयो होला ? अब के के होला ? भन्ने लागिरहन्छ । सुरुको एक हप्ता खासै केही गरिएन । त्यसपछि एउटा राष्ट्रिय गीत रचना गरी संगीत एरेन्ज गर्ने काम गरेँ । अन्य दुईओटा गीत कम्पोज गरी फाइनल गर्दैछु ।’ उनले सुनाए– ‘त्यसै गरी मुस्ताङ र ओलाङचुगोलामा प्रचलित लोकलयमा आधारित धुन तयार गरेँ । जसलाई सामाजिक सञ्जालमार्फत् सार्वजनिकसमेत गरेको छु । पूर्वेली मारुनी लयमा र सातै प्रदेश समेटिएको धुन तयारीमा छ । धेरै पहिलेदेखि रहर लागेको तर समय अभावले सिक्न नपाएको ‘उकुलीले’ भन्ने बाजा बजाउँन सिकँे ।’

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य, सञ्चार एवम् डायस्पोरा संयोजक, ‘पहाडबूढो’ र ‘तपस्वी पहाड’जस्ता कविताकृतिका स्रष्टा शशी लुमुम्बू लकडाउनको समयलाई सकेसम्म सृजनशील बनाउने प्रयत्न गरिरहेको बताउँछन् ।

उनले पनि पहिलो हप्ता खासै केही गर्न नसकेको तर पछिल्लो हप्तादेखि चाहिँ अध्ययन तथा लेखनको काममा मन लगाएको बताए । उनले प्रज्ञा–प्रतिष्ठानको तीन महिने समाचारप्रधान पत्रिका ‘प्रज्ञा गतिविधि’को पछिल्लो अङ्कको तयारी, केही डायास्पोरिक लेखकका कृतिको सम्पादनका साथै केही लेख र कविताहरू लेखेको बताए ।

उनले भने– ‘लकडाउनका बेला कैयौँँ दिन लगाएर मानसिहरू भोकैतिर्खै आफ्ना गाउँतर्फ हिँडिरहेका, कोरोना संक्रमितका सङ्ख्या बढिरहेका, विश्वभरि कोरोनाबाट मानिसको अकल्पनीय मृत्यु भइरहेको, पशुपंक्षीहरू भोकभोकै भएको आदि समाचारले स्तब्ध बनाइरहन्छ । यस्तो बेला कल्पनाशक्ति र संवेदनशीलता नै शून्यजस्तो हुँदोरहेछ । तैपनि केही कविता रचना गरेँ, दुई वटा लेख लेखेँ । यसका साथै केही जीवनदर्शन बोेकेका सिनेमाहरू हेरियो । केही पुस्तक पढियो र बाँकी समय फूलहरूको स्याहार गर्दै र कृषकका रूपमा समेत व्यतीत गरियो ।’

विशेष गरी आर्थिक तथा स्वास्थ्यसम्बन्धी लेखहरू लेखिरहने नेपाली वाङ्मय प्रतिष्ठान, बेलायतका अध्यक्ष विकलचन्द्र आचार्य कोरोना भाइरसले विश्व आक्रान्त बनाइरहेको र त्यसबिरुद्ध जारी लकडाउनको समयमा अध्ययन तथा लेखनमा नै अधिकांश समय व्यतित गरिरहेको बताउँछन् ।

जन्मभूमि तथा कर्मभूमिको मायाले उद्देलित भई अनेक किसिमका ज्वारभाटा मनभित्र आउँछन्, भूत, वर्तमान र भविष्यको कल्पना तथा सपनाहरूले उद्वेलित बनाइरहे पनि लकडाउनको समयमा आफूले महाकवि लक्ष्मीप्रसाद देवकोटाको महाकाव्य ‘सुलोचना’, कविशिरोमणि लेखनाथ पौड्यालको खण्डकाव्य ‘तरुण तपसी’ धेरै कालपछि पुनः पढेको सुनाउँछन् ।

उनले भने– ‘यसका साथै कोरोना भाइरसले मुटुलाई पार्ने असरबारे केही आर्टिकल पनि लेखेँ,्र साथीभाइको सम्पर्क तथा सामाजिक सञ्जालमा केही समय दिएपनि बाँकी समय बगैँचाको स्याहारमा बिताउने गरेको छु । मन नै स्तब्ध भएको समयमा महामारी समाप्तिको कामना गर्दै समस्त मानव जातिको सुखद् भविष्यको कामना गरिहेको छु ।’

‘डम्बरी’, ‘बेकर स्ट्रीटका दुई आँखा’ अनि ‘भर्जिनिया उल्फ र आँसुका फूल’की कृतिकार जया राई बेलायतमा बसेर नेपाली भाषा साहित्यको श्रीबृद्धिमा लागी परिरहेकी स्रष्टा हुन् । पेसाले डेन्टल नर्स राई समस्त विश्वलाई नै आतङ्कित पारिरहेको महामारी रोग कोरोना भाइरस (कोभिड–१९)का कारण पढाई तथा लेखाईमा ध्यान जान नसकेको बताउँछिन् ।

जया राई

भन्छिन्– ‘हरेक दिनको समाचारले आतङ्कको सन्देश लिएर आउँछ । यहाँ (बेलायत) रहेका चिनेका केही आफन्त र नेपाली दाजुभाइ तथा दिदीबैनीहरू धेरै जनालाई कोरोना भाइरस (कोभिड–१९)ले हामीबिचबाट सधैँका लागि लगिसकेको छ ।

    वसन्त मुकारुङ

न आफन्तको मलामी जान पाइन्छ, श्रद्धान्जली र समवेदना दिन जान पाइन्छ । सर्वत्र त्रास नै त्रास छ । अकल्पनीय पीडा छ । भोलि कसको पालो आउने हो कुनै निश्चित छैन । यस्तो बेला पढाई र लेखाईमा मन केन्द्रित गर्न निकै कठिन हुँदो रहेछ । तैपनि यसबिचमा केही महिनाअगि आफैँ विरामी भएर अस्पतालमा बस्दा लेखेको अस्पताल डायरीको फिनिसिङ गर्नुका साथै केही लेखहरूको खाका तयारी पारेको छु ।’

लोकप्रिय सङ्गीतकार वसन्त मुकारुङचाहिँ गीतकार गौरब गुरुङसँगको सहकार्यको तेस्रो शृङ्खला ‘मीतज्यू–३’को अन्तिम तयारीमा रहेको बताउँछन् । यसैगरी गीतकार श्याम तमोट, कवि तथा गीतकार भूपाल राई, गीतकार वसन्त थाम्सुहाङ र गीतकार टीका चाम्लिङका नयाँ गीतहरूमाथि सङ्गीत भर्ने काम लकडाउनको बिचमा सकेको सुनाए । उनले भने बाँकी करेसाबारीमा तरकारी खेती र फूलहरूको रेखदेख र स्याहार सम्भारमा बिताएँ ।

सुरेश हाचेकाली

लकडाउनकै समयमा गीतकार विमला गौचन र गायिका अन्जु पन्तको स्वरमा सजिएको गीत ‘कहिले खहरेझैँ’को म्युजिक भिडियो सार्वजनिक भयो । निकै कर्णप्रिय रहेको उक्त गीतको सङ्गीत मुकारुङकै रहेको छ । ‘सीमान्त आमाहरू’, ‘चक्रव्युह नगरमा अभिमन्यु’ र ‘पृथ्वी सवाई’जस्ता कविताकृतिका स्रष्टा कवि, समालोचक एवम् उपप्राध्यापक सुरेश हाचेकाली लकडाउनको समयलाई भाषा तथा वाङ्मयकै लागि उपयोग गरिरहेकोे सुनाउँछन् ।

उनी भन्छन्– ‘मैले लकडाउनको समयमा नेपाल प्रज्ञा–प्रतिष्ठानको परियोजनाअन्तर्गतको काम क्यारोल टिन्जीको कृति ‘द हार्टबिट अफ नेपालः पन्चैबाजा’को नेपाली अनुवाद कार्य सम्पन्न गरेँ । यसै गरी भारतको असमकी लेखिका रुमी लस्कर बोराको अङ्ग्रेजी उपन्यास ‘डम्फु’ पढेँ ।

बिकलचन्द्र आचार्य

डायस्पोरा सिद्धान्तसम्बन्धी विदेशी पुस्तकहरूको अध्ययन गर्दैछु । एक जना लेखकको नेपाली कृतिको अङ्ग्रेजी अनुवादको सम्पादन कार्य सकेँ । यसका साथै केही कविता सृजना गरेँ र कवितासम्बन्धी नै एउटा लामो समालोचना लेखेँ ।’

(एलिसा ढुङ्गाना कवि तथा रेडियो कार्यक्रम प्रस्तोता हुन् ।)

प्रतिक्रिया दिनुहोस्