मिर्गौलामा समस्या आएको त छैन ?



नेपालमा मिर्गौला रोगी बढिरहेका छन् । मिर्गौला बचाउनुपर्छ भन्ने चेतना हुँदाहुँदै पनि स्वास्थ्यप्रति हेलचेक्र्याइँ गर्ने कारण मिर्गौला रोगीको संख्या बढ्दै गएको विशेषज्ञहरुले जनाएका छन् । पछिल्लो समय नेपालमा २६ लाखभन्दा बढी मिर्गौला रोगीहरु रहेको तथ्यांक छ ।
चितवनको परिप्रेक्ष्यमा १० प्रतिशतभन्दा बढी मानिस मिर्गौलाका कुनै न कुनै समस्याबाट पीडित छन् । नेपालमा बर्सेनि मिर्गौला दिवस, सचेतना अभियान सञ्चालन गरिए पनि कमै व्यक्तिमात्र मिर्गौला रोगबारे सचेत रहेको पाइन्छ । नेपालमा तीन लाख व्यक्तिमा केही न केही मिर्गौलाको समस्या रहेको चिकित्सकहरुको अनुमान छ ।

यस्तै, ३ लाख व्यक्तिको मिर्गौला बिग्रन थालिसकेको अवस्था र ३० हजार व्यक्तिको मिर्गौला निको पार्न नसक्ने गरी बिग्रिसकेको अनुमान छ । यसमध्ये बर्सेनि ३ हजार जनाको मिर्गौला बिग्रेर अन्तिम अवस्थामा पुग्ने गरेको र ९ सयजनाको अकालमा मृत्यु हुने अनुमान छ । मिर्गौला बिग्रेर अन्तिम अवस्थामा पुगेका बिरामीलाई बचाउन डाइलासिस वा मिर्गौला प्रत्यारोपण नै गर्नुपर्छ ।

मिर्गौला हरेक मानिसलाई स्वस्थ राख्न मद्दत गर्ने प्रमुख अंग हो । नेपालमा प्रत्येक १० जनामध्ये एकजनालाई मिर्गौलाको दीर्घकालीन रोग लाग्ने गरे पनि स्वास्थ्यका सवालमा शिक्षित व्यक्तिसमेत सचेत नहुनु विडम्बनाको विषय हो । अस्वस्थ जीवनशैली, रक्तचाप, मधुमेह, जथाभावीरुपमा कडा औषधि सेवनका कारणले मिर्गौला बिग्रने गर्दछ ।

शुरूमै कुनै लक्षण नदेखिने भएकाले बाहिरबाट स्वस्थ मानिएको व्यक्ति पनि स्वस्थ नहुन सक्छ । मिर्गौलाको स्थिति थाहा पाउन समय–समयमा परीक्षण गराउनैपर्छ ।खासगरी, बदलिँदो जीवनशैलीका कारण मिर्गौला रोगीको संख्या बढ्दै गएको देखिन्छ । चिकित्सकहरुले वर्षमा दुईपटक नभए कम्तीमा एकपटक अनिवार्य मिर्गौला जाँच गर्न सुझाव दिएका छन् ।

नेपालमा सर्वसाधारणको मिर्गौला परीक्षण गर्ने बानी नहुँदा धेरैलाई आफ्नो रोगको अवस्थाबारे जानकारी नै छैन । मिर्गौलासम्बन्धी रोग प्रायः मधुमेह, उच्च रक्तचाप, नेफ्राइस, दुर्घटना, पत्थरी, बढीमात्रामा औषधि सेवनजस्ता कारणले लाग्ने गर्छ । शरीरका विभिन्न भाग सुन्निने, थकावट महसुस हुने, खान मन नलाग्ने, धेरै वाकवाकी लाग्ने, टाउको दुख्ने, पिसाब कम लाग्ने, शरीर चिलाउने, पिसाबमा रगत देखिने, फिँज आउनेजस्ता समस्या पनि मिर्गौला रोगका लक्षण मानिन्छ ।

बढ्दो उमेरसँगै मिर्गौला रोगको खतरा पनि बढ्ने भएकाले सामान्य उपायद्वारा यो रोग न्यूनीकरण गर्न सकिने चिकित्सकहरुको सुझाव छ । त्यसका लागि सधैँ मधुमेह नियन्त्रणमा राख्ने, उच्च रक्तचाप भएकाहरुले नियमित जाँच गराउने, स्वस्थ र सन्तुलित खाना खाने, व्यायाम तथा हिँडडुल गर्ने, तौल बढ्न नदिने, प्रशस्त पानी पिउने, धूमपान र सुर्ती सेवन नगर्ने, जथाभावी औषधिको प्रयोग नगर्नेजस्ता उपाय अवलम्बन गर्न सकिन्छ । मिर्गौला बचाउन गम्भीरताका साथ नियमित जाँच गराउर्नेतर्फ ध्यान दिनु उत्तिकै आवश्यक देखिन्छ ।

 सुनील पाल्पाली, डोटी।

प्रतिक्रिया दिनुहोस्