कोरोना पोस्टमार्टम : खानेपानी, सरसफाइ तथा विपदीय दृष्टिकोण



रामचन्द्र पौडेल

गृह मन्त्रालयको ‘नेपाल विपद् प्रतिवेदन २०१९’ लाई आधार मान्ने हो भने सन् १९७१ देखि २०१९ सम्मको अवधिमा सबैभन्दा बढी ज्यान लिने विपद् महामारी भएको प्रस्ट हुन्छ ।नेपाल भूकम्पीय जोखिमको क्षेत्र भएको र प्रायः बाढीबाट यहाँ क्षति हुने गरेको देखिए पनि स्वास्थ्य क्षेत्रमा कम पहुँच, चेतनाको अभाव तथा स्वच्छ खानेपानी आपूर्ति एवं सरसफाइमा हेलचेक्र्याइँको कारणबाट पनि बढी बानवीय क्षति भइरहेकोमा दुईमत छैन । अत्यावश्यक उपभोग्य वस्तु तथा स्वास्थ्य सामग्रीहरुमा समेत भारत निर्भरता, खुल्ला सिमाना, वैदेशिक रोजगारीमा नेपालीहरु रहेको मुलुकहरुमा बढेको संक्रमण आदि प्रकोपहरुले गर्दा पनि यहाँ महामारीको जोखिम उच्च छ ।स्वास्थ्य सेवामा पर्याप्त पहुंँच नपुग्नु, खानेपानी तथा सरसफाइ सेवामा अधिकांशको पहुँच नहुनु, सरसफाइप्रति सजगताको अभाव हुनु आदिले समेत यहाँको अवस्था दयनीय नै छ । यसरी गणितीयतथा व्यावहारिक हिसाबमा भन्नुपर्दा नेपालमा अहिले कोरोनाको जोखिम समेत उच्च छ । नेपाल मात्र होइन, एसियाली विकास बैंकको प्रतिवेदनमा एसिया क्षेत्र नै जलवायु परिवर्तन,वायुजन्य तथा जलजन्य रोगहरुको उच्च जोखिममा रहेको उल्लेख छ ।

कोरोनाविपद् तथा यसको असर

सामान्यतया समुदाय वा राष्ट्रको व्यवस्थापन क्षमताभन्दा बाहिरको अवस्थालाई विपद्सम्झनुपर्छ । विपद्जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को परिच्छेद १, दफा २ (घ) ले यस्तो संक्रमणलाई गैरप्राकृतिक विपद्को रुपमा परिभाषित गरेको छ । उक्त ऐन र २०७६।०१।२३ मा स्वीकृत भएको विपद्जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली २०७६ अनुरुप अब निकट भविष्यमा विपद्व्यवस्थापनसम्बन्धी कार्यहरु ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण’ बाट एकद्वार प्रणालीमा सञ्चालन हुनेछन् ।

त्यस्तै गरी एसियाली विकास बैंकले भने कोरोनाजस्तै प्रकारको सार्स रोगलाई प्राकृतिक तथा मानवीय विपत्को संयोजन मानेको थियो ।
विपत्तिको असरलाई प्रत्यक्ष असर, अप्रत्यक्ष असर तथा सञ्चित असरको रुपमा विभाजन गर्न सकिन्छ । यसरी हेर्दा कोरोनाको प्रत्यक्ष प्रभाव मृत्यु मात्र देखिएपनि अप्रत्यक्ष प्रभाव अत्यधिक रहेको छ । अभैm यो अवस्था केही समयसम्म कायम रहँदा सञ्चित प्रभाव सबैभन्दा बढी घातक हुने देखिन्छ । लकडाउन गरी हाललाई कोरोना भाइरस संक्रमण रोक्ने सरकारको प्रयास सराहनीय भएतापनि यसले अर्थतन्त्र तथा अन्य क्षेत्रहरुमा व्यापक गिरावट ल्याउने निश्चितप्रायः छ ।

खानेपानी तथा सरसफाइ

रोगहरुलाई जैविक आधारमा विभिन्न तरिकाले विभाजन गरिएको पाइन्छ । खानेपानी तथा सरसफाइ क्षेत्रमा भने सन् १९७२ मा प्रकाशित ‘ड्रअर्स अफ वाटर’ नामको पुस्तकपछि रोगलाई चार भागमा वर्गीकरण गर्ने गरिएको छ । उक्त वर्गीकरण‘ब्राड्ले क्लासिफिकेसन’को नामले प्रशिद्व छ । यस पद्धतिअनुसार परजीवीहरु भएको पानी खानाले लाग्ने रोगलाई पानीजन्य (वाटर बर्न) रोग भनिन्छ भने जसका उदाहरणहरु हैजादेखि हेपाटाइटिस ए, ई र पोलियो हुन् । दोस्रो वर्गको रोगसफा पानी तथा स्वच्छताकोे अभावले गर्दा हुने गर्दछ, जसलाई‘वाटर वास्ड’ को नामदिइएको छ । तेस्रो श्रेणीमा पर्ने रोगहरुलाई ‘वाटर बेस्ड’(पानीमा आधारित) को नामले चिनिन्छ। यसका कारक परजीवीहरुको जीवनचक्रको केही भागमा पानी आवश्यक हुन्छ । चौथो श्रेणीको रोगलाई‘वाटर रिलेटेड’(पानी सम्बन्धित)को नाम दिइएको छ, जसका कारकहरु पानीमा गर्भधारण गर्ने कीराहरु (विशेषतः लामखुट्टे) हुन् ।

दोस्रो ‘वाटर वास्ड’ रोगहरुको उदाहरणमा ट्राकोमा र सार्सजस्ता श्वासप्रश्वासजन्य रोगहरुसमेत पर्दछन् । सार्सजस्ता रोगहरुका परजीविहरु हात तथा अन्य सतहको सम्पर्कतथा स्वासप्रश्वासले सर्ने भएतापनि सफा पानीको परिमाण तथा स्वच्छताकोव्यवहारसुधार भएमा न्यूनीकरणमा सहयोग पुग्दछ । तेस्रो र चौथोश्रेणीका रोगका उदाहरण क्रमशःसिस्टोसोमायसिस तथा डेङ्गु, मलेरिया आदि हुन्।

यसरी एक संक्रमित व्यक्तिबाट परजीवीकसरीअर्को स्वस्थ व्यक्तिमा सर्दछ भन्ने कुरा‘एफ–डायग्राम’ले स्पस्ट पार्दछ । दिसाबाट निस्केको परजीवी जल, शरीर (औंला), किटपतङ्ग तथा जमिनको माध्यमबाट खाना हुँदै वा सोझैअर्को स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गर्दछ भन्ने यो डायग्रामले जानकारी दिन्छ । दिसाबाट निस्केको परजीवी जल, शरीर (औंला), किटपतङ्ग तथा जमिनको माध्यमबाट खाना हुँदै वा सोझै अर्को स्वस्थ व्यक्तिको शरीरमा संक्रमण हुने पथहरुलाई अवरोध गर्ने हो भने खानेपानी मात्र होइन, सरसफाइ तथा स्वच्छतामा समेत ध्यान पुर्‍याउनुपर्ने स्पष्ट हुन्छ ।

कोरोना संक्रमण र खानेपानी तथा सरसफाइको सम्बन्ध

आजको मितिसम्म कोरोना भाइरस सोझै पानीकोमाध्यमबाट सर्ने एकिन भई नसके पनि यस्तै प्रकृतिको सार्स रोगको महामारी हङकङमा शौचालयको जडान खराबीबाट फैलिएको तिक्त विगतलाई मनन गर्न जरुरी छ।प्रत्यक्षरुपमा पानीसँग सम्बन्धित नदेखिए तापनि यस्ता प्रकृतिका संक्रामक रोगहरुबाट बच्नको लागि हात धुनेजस्ता व्यक्तिगत सरसफाइ र स्वच्छता कायम राख्नु जरुरी छ । त्यसैले यसको अभ्यासका निमित्त स्वच्छ पानीको माग बढ्ने देखिन्छ । यसै सन्दर्भमा शुरुका केही समयमा कोरोना भाइरस कतै दिसाबाट समेत विभिन्न माध्यम हुँदै अर्को स्वस्थ व्यक्तिसम्म पुग्नसक्ने त होइन? भन्ने आशंकाका समाचारहरुसमेत अन्तर्राष्ट्रिय समाचारमाध्यमहरुमा प्रकाशित भएका थिए । चीनको रोग नियन्त्रण तथा पूर्वतयारीसम्बन्धीकेन्द्रले संक्रमित व्यक्तिको दिसामा सक्रिय कोरोना भाइरस भेटिएकाले कोरोना फेकल ओरल (दिसा–मुख)पथबाट समेत फैलन सक्ने भनी पानी उमालेर खान, काँचो खानेकुरा नखान, शौचालयलाई निर्मलीकरण गर्न एवं खाना तथा पानीलाई संक्रमितको दिसाको पहुँचबाट टाढा राख्न सुझाएको थियो । उक्त खोजले भाइरस मुखबाट लिइएको नमुनामै नहुँदासमेत दिसा तथा रगतमा हुन सक्ने र सर्नसक्ने जानकारी प्रदान गरेको थियो।

यसै गरी अमेरिकाको वासिङ्टनमा भेटिएको पहिलो कोरोना संक्रमितको दिसामा समेतसक्रिय कोरोना भाइरस फेला परेकोे थियो । यतिसम्म पत्ता लागिसकेपनि चीन र विश्व स्वास्थ्य संगठनको संयुक्त प्रतिवेदनले दिसाबाट मुखसम्म पुग्ने माध्यम महामारीको मुख्य कारक नभएको र यसको औचित्य स्पष्ट हुन अझै बाँकी रहेको जानकारी दिएको छ ।

अबको बाटो

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमणको अवस्थामा खानेपानी, सरसफाइ, स्वच्छता तथा फोहोरमैला व्यवस्थापनको अन्तरिम निर्देशिका निर्माण गर्दै चलनचल्तीका खानेपानी तथा ढल प्रशोधन विधिबाटै कोरोना भाइरसबाट मुक्ति मिल्ने बताएको छ । हाम्रो देशमा कतिपय स्थानमा प्रशोधित पानीको अझै उपलब्धता छैन ।वितरण प्रणाली पनि यस्ता किसिमकाविपद्को निमित्त भनेर पूर्वतयारी अवस्थामा राखिएको छैन । शहरी क्षेत्रमा पनि विषम विपद् परिस्थितिका लागितयारी देखिँदैन । साथै पानी वितरण गर्ने ट्यांकरमा विश्वसनीयता छैन । त्यसैले जारको पानीमा निर्भररहनुपरेको अवस्था छ ।यदि दिसाको माध्यमबाट भाइरस पानीमा प्रवेश गरेमा हप्तौंसम्म रहिरहन सक्ने देखिएकाले पानी शुद्धीकरणकालागि सुझाइएका घरायसी विधिहरु जस्तै– उमाल्ने, सोडिस प्रविधि अपनाउने, अल्ट्रा तथा न्यानो फिल्टरको प्रयोग गर्ने, क्लोरिनको उपयोग गर्ने आदि अपनाउनु वाञ्छनीयदेखिन्छ ।

यसका अतिरिक्त दिसामा कोरोना भाइरसफेला परेको र रहनसक्ने कारणले गर्दा संक्रमितको लागि छुट्टै शौचालयको व्यवस्था गर्न तथा त्यसलाई सावधानीपूर्वक निर्मलीकरण गर्न जरुरी देखिन्छ । यस्तो अवस्थामा सम्भव भएसम्म संक्रमितको पिसाबलाई नचलाउने गरी व्यवस्थापन गर्नु उपयुक्त देखिन्छ । ग्रामीण क्षेत्रमा भए भूमिगत जलसतहभन्दा न्यूनतम १.५ मिटर छोडेर खाल्डे चर्पी प्रयोग गर्नुपर्ने सुझाव विश्व स्वास्थ्य संगठनको छ । त्यसको अलावा स्वास्थ्य संस्थामासबै प्रक्रियामा विशेष सावधानी अपनाउन जरुरी देखिन्छ । शंकास्पद अवस्था देखिएमा सावधानी अपनाउने रनिर्मलीकरणको लागि क्लोरिन घोल (०.५ प्रतिशत) प्रयोग गर्न सकिने उक्तअन्तरिम निर्देशिकामा उल्लेख छ। यी सबै क्षणहरुमा पर्याप्त सफा पानीको प्रयोग तथा उपलब्धता पनिउत्तिकै महत्वपूर्ण छ।

हालसम्म उच्च कोरोना संक्रमण फैलिएका देशहरुमा खानेपानी तथा ढलको बाटोबाट संक्रमण फैलिएको नभेटिएकालेआत्तिइहाल्नुपर्ने अवस्था भने छैन । तथापि २०१७ को दिगो विकास लक्ष्यको संयुक्त अनुगमन प्रतिवेदनलाई आधार मान्दा नेपालका ७४ प्रतिशत खानेपानी प्रणालीमा दिसाजन्य परजीवी (ई–कोली) भेटिएको तथ्यलाई मध्यनजर गर्नुपर्ने हुन्छ । विकासशील मुलुकहरुमा पानी तथा फोहोरमैला व्यवस्थापनका अतिरिक्त सावधानी अपनाउनुपर्ने देखिन्छ ।यहाँउल्लेख भएका विषयमा अतिरिक्त सावधानी अपनाउँदै गर्दा हाल प्रयोगमा रहेका सावधानीका विधिहरु पनि अनिवार्यरुपमा अनुसरण गरेर नै कोरोना संक्रमण जोखिम न्यूनीकरण गर्न सम्भव छ ।

कोरोना भाइरसले जनस्वास्थ्यको क्षेत्रमा ठूलो चुनौती दिएको मात्र होइन, हामीले विगतका प्रकोपहरुबाट केही चेतना नपाएको तथ्य उजागर गरेको छ । तसर्थयस भाइरसको प्रभाव समाप्तिसँगैसरकारले यस्ता महामारीसँग जुध्ने क्षमता तथा पूर्वाधारहरुको व्यापक विस्तारका लागिविपद् जोखिम न्यूनीकरण ऐनले परिकल्पना गरेको विशिष्टीकृत प्राधिकरणलाई यथाशीघ्र प्रभावकारी भूमिकामा परिचालन गर्नुअपरिहार्य छ ।

(लेखक पौडेल खानेपानी तथा सरसफाइ क्षेत्रमा कार्यरत इन्जिनियर हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्