लकडाउन प्रभावितलाई खाना खुवाउँदै धुर्मुस–सुन्तली



प्रलयकारी भूकम्पछि निरन्तर सामाजिक कार्यमा सक्रिय हास्य कलाकार दम्पती सीताराम कट्टेल र कुञ्जना घिमिरेको सामाजिक संस्था धुर्मुस–सुन्तली फाउन्डेसनले कोरोना प्रभावित नेपालीका लागि विभिन्न राहत सामाग्री प्रदान गर्दै निःशुल्क भोजको व्यवस्था मिलाएको छ।

कोरोनाको महामारीले विभिन्न स्थानमा अलपत्र परेका तथा बिहान बेलुका खाना खानसमेत समस्या भएका नेपालीका लागि फाउन्डेसनले विभिन्न तरिकाले सहयोग गरिरहेको छ। लकडाउनपीडितका लागि राहतका प्याकेज वितरण गरिरहेको फाउन्डेसनले लकडाउनपीडितका लागि अहिले निःशुल्क भोजन शुरू गरेको छ।

लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदुर, असहाय तथा विपन्न परिवारको समस्यालाई मध्यनजर गरी फाउन्डेसनले ललितपुरको थसीखेलमा निःशुल्क भोजनको व्यवस्था गरेको हो।

ललितपुरस्थित प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडसँगको सहकार्यमा फाउन्डेसनले मंगलबारबाट प्रतिभा सहकारीको भवनअगाडि भोजनको व्यवस्था गरेको हो। फाउन्डेसनले अशक्त तथा विपन्नवर्गका पीडितका लागि बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म निःशुल्क भोजनको व्यवस्था गरेको हो।

फाउन्डेसनले पीडितलाई भोजनमा सहभागी हुन अनुरोधसमेत गरेको छ। विभिन्न स्थानमा रहेका नेपालीलाई सहयोग गर्न फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले सबैलाई अनुरोध गरेका छन्।

फाउन्डेसनले पहिलो चरणमा उद्धार कार्य र दोस्रो चरणमा राहत वितरण गर्दै अहिले निःशुल्क भोजनको व्यवस्था गरेको हो। गत वैशाख ९ गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा अध्यनरत २ सय जना विद्यार्थीका लागि राहत वितरणसँगै लकडाउनबाट प्रभावित पहिचान गरी निरन्तर सहयोग गरिरहेको छ।

त्यससँगै फाउन्डेसनले झापामा अलपत्र परेका चितवनका २४ विद्यार्थीलाई चितवन र ललितपुरमा अलपत्र अवस्थामा रहेका ९५ जना मजदुरलाई दुईवटा बस रिजर्भ गरी उनीहरूको गृहजिल्ला दाङ पठाएको थियो। फाउन्डेसनले सीताराम र कुञ्जनाको प्रत्यक्ष सहभागितामा काठमाडौं, ललितपुर तथा भक्तपुरमा रहेका विपन्न, गरिब, रोगी, ज्याला मजदुरी गरी गुजारा गर्ने मजदुर, अशक्त, विद्यार्थी, वृद्ध, गर्भवती महिलालगायतका पीडित पहिचान गरी अवस्थाअनुसार आर्थिक सहयोगसमेत गरेको छ।

त्यसै गरी आमाको मुख हेर्ने दिनको अवसरमा सीतारामले पीडामा रहेका लकडाउन प्रभावित आमाहरूलाई आर्थिक सहयोग गरेका थिए। सीतारामका अनुसार कोरोना प्रभावितका लागि हालसम्म ११ लाख बराबरको राहत विरण गरिसकिएको छ।

प्रतिक्रिया दिनुहोस्