सबै नेपालीलाई बिमा अनिवार्य गरौं



नेपालमा केही समयपहिले छ्यापछ्याप्ती मौलाएको नेटवर्किङ व्यापारमा बिमा गर्नेलाई असर गरेको छ । नेपालको बिमा बजार अहिले सानो र साँघुरो अवस्थामा छ । बिमा कम्पनीहरूको संख्यात्मक वृद्धि र कारोबारका आधारमा समेत वृद्धि भइरहेको देखिए पनि वास्तविक रूपमा बिमा आधार बढाउनका लागि पर्याप्त पहल भएको भने छैन । बिमा समिति नेपालका अनुसार अहिले जनसंख्याको १०प्रतिशतमा बिमाको पहुँच पुगेको छ, जुन गतवर्षसम्म केवल ८ प्रतिशतको हाराहारीमा मात्र थियो । यसरी देशका ९० प्रतिशत जनसंख्यामा बिमाको पहुँच नपुग्नु भनेको समग्र बिमा प्रणालीकै कमजोर अवस्था हो । यसमा ध्यान जान जरुरी छ ।

बिमाको बारेमा नेपाली जनतामा भएको भ्रम चिर्नु जरुरी छ । बिमासम्बन्धी सचेतना बढाउनका लागि चालिएका कदमहरू पर्याप्त नहुँदा आमनागरिकमा बिमासम्बन्धी बुझाइ नै कमजोर छ । २०७२ सालको भूकम्पपछि बिमा गर्नेहरूको संख्या केही बढेको देखिए पनि बुझेर भन्दा बाध्यकारी अवस्थामा यस्तो संख्या बढेको हो । जबसम्म मानिसमा बिमाको आवश्यकताबारे सही ढंगले सचेतनाले विकास गरिँदैन, तबसम्म बिमितहरूको संख्या बढ्ने अपेक्षा गर्न सकिँदैन ।

अहिले निर्जीवन बिमामा भवन तथा सवारीसाधनको बिमा बाध्यकारी अवस्था मात्र हुने गरेको छ । जोखिमविरुद्ध सुरक्षा लिनका लागि भन्दा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन बाध्यतावश बिमा गर्नुपरेको गुनासो धेरैको सुनिन्छ ।

विशेष गरी जीवन बिमाका क्षेत्रमा अझै पनि आमनागरिकमा किन बिमा गर्नुपर्छ र यसले जीवनकालमा र आफ्नो निधनपछि के–के फाइदा हुन्छ भन्ने विषयमा पर्याप्त सचेतना बढाउन सकेको छैन । एउटा अध्ययनअनुसार पहिले १५ प्रतिशत जनसंख्यामा मात्र बिमासम्बन्धी जानकारी रहेको देखिएको छ । यो बिमासम्बन्धी नियामक निकाय र समग्र बिमा व्यवसायीहरूको कमजोरीको प्रतिफल हो ।

नेपालमा अहिले १८ वटा जीवन बिमा कम्पनीसहित कुल ३९ वटा बिमा कम्पनीहरू क्रियाशील छन् । यी बिमा कम्पनीहरूले वर्षमा करिब २० अर्ब रुपियाँबराबरको बिमा प्रिमियम संकलन गर्ने गरेका छन् । यसअनुसार बिमा दाबी भुक्तानी पनि बढेको र बिमा कम्पनीहरूको नाफा आधार पनि बढ्दै गएको बिमा समितिको प्रतिवेदनबाट देखिन्छ । नाफाको आधार वृद्धि हुनलाई कारोबारको स्तरमा पनि वृद्धि हुनुपर्ने सर्त रहन्छ । बिमा कम्पनीहरूले गर्दै आएको कारोबार गर्ने हो भने बिमा व्यवसाय विस्तारका लागि कम्पनीहरूले ठोस पहल भने गरेको देखिँदैन ।

सीमित ढंगले गरिएको विज्ञापन वा प्रसारप्रसार मात्र बिमा कारोबार बढाउनका लागि पर्याप्त हुँदैन । यसका लागि तल्लो तहबाटै बिमा सचेतना बढाउनु आवश्यक देखिएको छ । पाठ्यक्रममै बिमा शिक्षा समावेश गर्नका लागि शैक्षिक सामग्रीहरूको विकासका साथै नागरिक तहसम्म सरल भाषामा बिमा जानकारी प्रवाह गर्ने प्रणाली बनाई बिमा सचेतना बढाउन सकिन्छ । अहिले बिमाक्षेत्रमा जम्मा हुँदै गएको जोखिम कम गर्ने हो भने बिमा कम्पनीहरूको कारोबार व्यवसायलाई विविधीकरण गरिनै पर्छ ।

हालैका दिनहरूमा बिमा कम्पनीहरूले आफ्नो कारोबारस्तर बढाउन बिमा अभिकर्ताहरूको संख्या बढाउँदै लगेका छन् तर बिमा अभिकर्ताहरूले आफ्नो कारोबार बढाउनका लागि सर्वसाधारणलाई सही जानकारी प्रवाह गर्नुभन्दा कृत्रिम मुनाफा वा अन्य किसिमका आर्थिक लाभको प्रलोभन देखाई बिमा गराउने क्रम बढेको छ । सही जानकारीविना यसरी बिमितहरूको संख्या बढ्दा तत्कालका लागि बिमा कम्पनीहरूको नाफा लक्ष्य पूरा होला, भविष्यमा गएर बिमितहरूले पहिले देखाइएअनुसारको आर्थिक प्रतिफल पाउन सकेनन् भने त्यसबाट जन्मने परिणामका विषयमा अहिले नै नियामक निकायसहित बिमा कम्पनीहरूले पनि गम्भीर हुनु जरुरी छ । सरकारले पनि विशेष पहल गर्नु जरुरी छ ।
– सुन्दर रामजाली,काठमाडौं ।

प्रहरीसँग जनविश्वास बढ्नुपर्छ
देशमा जतिसुकै राजनीतिक परिवर्तन भए पनि आमजनताले राहतको अनुभूति गर्न सकेका छैनन् । अहिले राज्य कमजोर अवस्थामा छैन । राज्यका संयन्त्रहरु सक्रिय रहने हो भने राज्यमा कानुनी शासन स्थापित गर्न कठिन छैन । तर, देशमा बलियो सरकार भए पनि अपराधका शृङ्खला बढ्दा राज्यको कमजोर उपस्थिति देखिएको छ । जनतामा शान्ति सुरक्षाको बलियो प्रत्याभूति भएमात्रै लोकतन्त्र सुदृढ हुनुको साथै स्वतन्त्रताको सुनिश्चितता हुन्छ । दिनहुँ समाचारका शीर्षक बनेका बलात्कारका घटनाले राज्यको कमजोरी उदांगो हुनुका साथै राज्यका निकाय निरीहजस्तो बन्न पुगेको अनुभूति गरिएको छ ।

विगतका विभिन्न प्रकरणले प्रहरी प्रशासनको कमजोरी र कार्यशैलीप्रति प्रश्न उठाउने काम गरेको छ । यी सबै कमजोरीको जिम्मेवारी गृह मन्त्रालय र सिंगो सरकारले लिँदै अपराधलाई संयोगका रुपमा मात्र नलिई जवाफदेही हुनै पर्छ । राज्यको कमजोर उपस्थितिमा आपराधिक मानसिकताले हुर्कने र खेल्ने मौका पाउने भएकाले यस्ता प्रवृत्ति निरुत्साहित गर्नका लागि राज्यको संयन्त्र र समन्वय बलियो हुनै पर्छ ।

प्रहरी समुदाय साझेदारी कार्यक्रम देशभर लागू गरिएको जस्तो देखिन्छ । यसले समुदायसँग प्रहरीको विश्वास आर्जन गर्न सहज हुने अपेक्षा गर्न सकिन्छ । यसअघि पनि जनतासँग सम्बन्ध बलियो पार्न प्रहरीले मुस्कानसहितको ‘प्रहरी सेवा र प्रहरी मेरो साथी’ अभियान सञ्चालन गरेको थियो । केही ठाउँमा मुस्कानसहितको सेवा प्रदान गरे पनि अधिकांश ठाउँमा प्रहरीले समुदायलाई चिढ्याउने काम पनि ग¥यो । शान्ति सुरक्षा कायम गर्नका लागि प्रहरी र समुदायको उत्तिकै भूमिका रहन्छ । त्यसैले जनतालाई बर्दीविनाको प्रहरी भन्ने गरिएको हो । समाजलाई आतंकित बनाएर होइन, विश्वास जितेर प्रहरीले शान्ति सुरक्षा कायम गर्न सक्छ, सक्नुपर्छ ।

प्रहरीसँग समुदाय तर्सिने र प्रहरीको अभियानमा समुदायको असहयोग रहने हो भने कहिल्यै पनि शान्ति सुरक्षा कायम हुन सक्दैन । गम्भीर प्रकृतिका आपराधिक घटनालाई सामान्यीकरण गर्ने, फितलो अनुसन्धान गर्ने, लाभ र लोभमा प्रमाण लुकाउने, नष्ट गर्ने, अपराधीलाई उन्मुक्ति दिने, शक्तिको आडमा दोषीलाई छुट्कारा दिने, गलत आचरण गर्नेजस्ता प्रहरीका कमजोरीले जनतामा विश्वास गुम्न जान्छ । शान्ति सुरक्षा कायम गर्न गलत आचरण भएका प्रहरीलाई कारबाही र राम्रो काम गर्नेलाई पुरस्कृत गरेर प्रहरी समुदाय साझेदारी कार्यक्रम सार्थक तुल्याउनु जरुरी देखिएको छ ।यसका लागि जनता पनि उत्तिकै जिम्मेवार हुनुपर्छ ।
– सूचना कार्की, टोखा, काठमाडौं ।

 

प्रतिक्रिया दिनुहोस्