विपन्नका लागि उपचार सहज बनाऊ



नेपालमा विपन्न र गरिबका लागि उपचार सेवा महँगो हुँदै गएको छ । उपचार सेवा सर्वसाधारणको पहुँचभन्दा टाढा भइसकेको छ । यही देशका नागरिक जसले उपचार गर्ने सामथ्र्य त परको कुरा, अस्पतालसम्म नपुग्दै मर्नुपर्ने नियति छ । हरेक स्थानीय तहमा सिंहदरबार पुगेको भनिए पनि सुविधा भने साबिक गाविसको जति पनि छैन ।

रोग धनी होस् या गरिब जो–कोहीलाई पनि लाग्न सक्छ । फरक यति मात्र हो कि धनी वा हुनेखानेले समयमै उपचार गराउन सक्छन् र स्वास्थ्य लाभ लिन सक्छन् । तर, विपन्न र गरिबलाई क्यान्सर, मृगौला, मुटुजस्ता प्राणघातक रोग लागेमा ठूलीमायाकै नियति भोग्न बाध्य हुन्छन्, भएका छन् । नेपालमा विपन्न परिवारमा जन्मनु नै अपराधजस्तो हुन थालेको छ ।

हरेक दिन विपन्नहरुले रोगसँग जुध्दाजुध्दै अकालमै मृत्युवरण गर्नुपर्दा, अस्पतालको मुख नदेखी प्राण त्याग गरेका खबर सुन्दा सरकारलाई नदुख्नु विडम्बनाको कुरा हो । गरिबीका कारण उपचार खर्च अभावले अस्पतालबाट हामफालेर आत्महत्या गर्नुपरेका, उपचार खर्च तिर्न नसक्दा महिनौँसम्म अस्पतालमै रहनुपरेका, एम्बुलेन्स चढ्ने पैसा नहुँदा ज्यान फाल्नुपरेका, जीवनरक्षाका लागि हरेक दिन अपिल गरिएका खबरले सरकारलाई दुख्नुपर्छ । सरकार सक्छौ भने विपन्न र गरिबका लागि निःशुल्क उपचारको व्यवस्था गर, निरीह छौ भने विशिष्टका नाममा तिनै गरिब जनताको करबाट उठाएको रकमको दुरुपयोग पनि नगर ।

समावेशी राज्य भनिएको देशमा एउटै देशका नागरिकका लागि विभेद हनुु दुर्भाग्य हो । दुर्गम गाउँहरु धमाधम नगरपालिका बन्दा विकासका कुनै पनि पूर्वाधार पुग्न सकेको छैन । प्राथमिक उपचारका लागि नजिकमा स्वास्थ्यचौकीसमेत नहुनु राज्यविहीनताको स्थिति हो । सरकारले गरिबीको पीडा अनुभूति गरी गरिब जनताको स्वास्थ्य अधिकारबारे गम्भीर हुनु आवश्यक छ । हामी चाहन्छौँ, कुनै नेपालीले विपन्नताकै कारण अकालमा ज्यान गुमाउनु नपरोस् । सरकार संवेदनशील बन्न जरुरी छ ।
– सुरक्षा कोइराला, काठमाडौं ।

अब सधैँ सीमाक्षेत्रमा कडाइ होस्
यति बेला कोरोना महामारीले संसार आजित छ । नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । यसको प्रमुख कारण छिमेकी मुलुक भारतबाट नेपाल प्रवेश गर्नेहरु देखिएका छन् । नेपाल प्रवेशमा कडाइ प्रभावकारी नभएका कारण र खुला सिमानाले गर्दा नेपालमा कोरोनाको जोखिम उच्च देखिएको छ । त्यस्तै मानव ओसारपसार पनि विगतदेखि नै हुँदै आएको छ ।

नेपालमा सुरक्षा निकायदेखि दर्जन बढी गैरसरकारी संस्थाले अभियान चलाए पनि रोजगारीका नाममा अवैध ओसारपसार र चेलीबेटी बेचबिखन हुँदै आएको छ । विभिन्न संस्थाको सक्रियता रहँदारहँदै पनि चेलीबेटीलाई विभिन्न नाका प्रयोग गरी भारतीय शहरमा लगेर बिक्री गर्ने क्रम बढिरहेको पाइएको छ ।

आकर्षक रोजगारी र धेरै पैसा कमाउने लालसा देखाएर विदेशमा लगी बिचल्ली बनाउने क्रम बढ्दै गएको छ । प्रहरीको तथ्यांकअनुसार यस वर्ष सयौँ चेलीहरूको उद्धार भएको छ । गतवर्ष अवैध ओसारपसार र बेचबिखन गर्नेविरुद्ध ३८ उजुरी दर्ता भएका थिए । बेचबिखनको जोखिममा परेका ४७६ जनालाई सीमाक्षेत्रबाटै उद्धार गरिएको थियो ।

त्यसअघिको वर्षमा ५१६ जनालाई उद्धार गरिएको थियो । विभिन्न संस्थाहरूले बर्सेनि पीडितको उद्धार गर्दै आएका छन् । तर, प्रहरीले मुख्य आरोपीलाई पक्राउ गर्न सकिरहेको छैन । अधिकांश घटनामा युवतीलाई सीमा कटाउनुअघि नै अभियुक्त सुरक्षित स्थानमा पुगिसक्ने, पीडित भएकाहरूबाट पनि अभियुक्तको परिचय लुकाउने प्रवृत्तिले चेलीबेटी बेचबिखन नियन्त्रणमा चुनौती बढेको छ ।

सीमाक्षेत्रका बसपार्क तथा बेचबिखन बढी हुने स्थानहरूमा प्रहरीसहित विभिन्न संस्थाले निगरानी बढाउने गरे पनि चेलीबेटी बेचबिखनको दर बर्सेनि बढिरहेको छ । उच्च मनोकांक्षा भएका किशोरी र युवतीहरू बेचबिखनमा पर्ने गरेको तथ्यांकले देखाएको छ । घरपरिवारबाट हिंसामा परेका, चरम गरिबीले गाँजेका, अभिभावकविहीन, एकल महिला र छिट्टै विश्वास गर्ने युवतीहरू बेचबिखन तथा अवैध ओसारपसारको उच्च जोखिममा पर्ने गरेका छन् ।

केही वर्षअघि चेलीबेटी बेचबिखन भारतीय शहरहरूमा मात्रै हुने गरेको थियो । तर, अहिले दलालले विभिन्न प्रलोभन देखाएर अवैध ओसारपसार गरी रोजगारीका लागि भन्दै खाडी मुलुकमा पु¥याउने गरेका छन् । पहिले प्रेमको नाटक गरी बिहे गरेर भारतीय कोठीसम्म पु¥याएर बेच्ने दलाल थिए भने अहिले सरकारले प्रतिबन्ध लगाएका मुलुकहरूमा पु¥याएर बिक्री गर्ने गिरोहहरू बढेका छन् । हालै मात्र इराकमा चरम यातना खेप्दै आएका चेलीहरूको सकुशल उद्धार भयो । ती चेलीहरूले इराकमा नारकीय जीवन भोग्नुपरेको दृष्टान्तले पनि नेपाली चेलीहरूको विदारक दृश्य छर्लंग हुन्छ ।

एउटै युवतीलाई दलालले स्वदेश हुँदै विदेशसम्म एकबाट अर्कोलाई बिक्री गर्छन् । अन्तिममा खरिद गर्नेले यौनशोषण, श्रमशोषण र चर्को यातना दिन्छन् । काठमाडौंदेखि बिक्री हुँदै दिल्ली, दुबई र कुवेतमा पुगेका थुप्रै युवतीको साझा समस्या यौनहिंसा र यातना नै हो । दलालको चंगुलमा फसेर आफ्नो जीवन नै बर्बाद बनाएका महिलाको पीडा कुवेतस्थित नेपाली दूतावासमा दिनहुँजसो आउने गरेको छ ।

चेलीबेटी बेचबिखनविरुद्ध काम गरेका संस्थामा परेका निवेदनका आधारमा परराष्ट्र मन्त्रालय हुँदै कुवेतस्थित दूतावाससँग समन्वय गरी केही महिलाको उद्धार गरिए पनि बेचबिखनमा परेका कति महिला अलपत्र छन् ? त्यसको तथ्यांक कसैसँग छैन । अवैध बाटो हुँदै पैसा कमाउने लोभमा दलालको फन्दामा परेका महिलाले भारत हुँदै तेस्रो देशमा पुग्ने गरेका कारण यसको तथ्यांक सरकारसँग छैन ।

मानव बेचबिखनको समस्याबारे जानकारी हुँदाहुँदै पनि प्रहरी र विभिन्न संस्थाको आँखा छलेर दलालको फन्दामा पर्नु जानी–जानी मृत्युकुण्डमा हाम फाल्नुजस्तै हो । सरकारले प्रतिबन्ध लगाएका मुलुकमा जाने चाहना राख्नु नै पहिलो गल्ती हो । त्यसैले, बेचबिखनमा पर्नुअगावै स्वयं सतर्क हुनु बढी बुद्धिमानी कार्य हुनेछ । सीमा नाकामा सधैँ कडाइ गरेमा मानव बेचबिखन न्यून हुनुका साथै कोरोनाबाट पनि बच्न सहयोग पुग्ने थियो ।

– वसन्ता अर्याल, चितवन ।

 

प्रतिक्रिया दिनुहोस्