लकडाउनले महिलालाई कार्यबोझ



हाम्रो भाग्यले नेपालमा अहिलेसम्म कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । यतिखेर लकडाउनकै कारण प्रायः परिवारका सदस्य घरभित्रै बसेका छन् । यसै पनि पितृसत्तात्मक संरचनामा अघोषितरुपमा घरायसी कार्य महिलाको जिम्मामा पारिएको हुन्छ । झन् अहिले सबैजना चौबीसै घण्टा घरमै रहने हुँदा हामी महिलाको कार्यबोझ झन् बढेको कुरा सामाजिक सञ्जालहरुमा गरिएका पोस्टबाट समेत थाहा हुन्छ ।
कतिपय महिलाले बिहानदेखि बेलुकासम्म भान्सामा विभिन्न परिकार बनाउँदै र खुवाउँदै थकित भएको पनि सुनाउने गर्छन् । खाना बनाउने, लुगा धुने, घरकोठा सफा गर्ने, किनमेलका लागि खुलेका पसल खोज्दै भौंतारिने उनीहरुको दैनिकी बनेको छ । लोग्नेमान्छेहरु भने बिहानदेखि बेलुकासम्म नै फेसबुक, मेसेन्जर, ट्वीटर आदिमा झुन्डिइरहने तर महिलाले एकछिन् पनि आफ्नो लागि व्यक्तिगत समय निकाल्न नसक्ने अवस्था छ । यसमा लोग्नेमान्छेले सोचिदिनुप¥यो ।
– अमृता बस्नेत, डिल्लीबजार, काठमाडौं ।

कोरोनासँगै गर्मीका रोगबाट पनि बचौं
कोरोना अर्थात् कोभिड १९ को संक्रमणको त्रासमा विश्व नै आलसतालसमा छ । विश्व अप्ठ्यारो अवस्थामा गुज्रिरहेको छ । नेपाल पनि विगत डेढ महिनादेखि लकडाउनमा छ । यतिखेर वैशाखको करिब अन्त्यतिरको समय छ । लकडाउन खोल्नुपर्ने आवाज उठिरहेको छ र सरकारले यो विषयमा गृहकार्य र छलफल जारी राखेको छ । कोरोनाको समस्यासँगै गर्मी बढ्दै छ ।
यसपालि गर्मी विगतका वर्षमा भन्दा धेरै बढी हुने सम्भावना छ । तराई क्षेत्रका बासिन्दा रातदिन छट्पटाइरहेका छन् । अझ दिउँसोको समयमा त घरबाहिर निस्कन नसक्ने भएका छन् । छिमेकी राष्ट्रतिर गर्मीले कैयौँको ज्यान लिइसकेको समाचार सुन्दा र आफैंले पनि गर्मीको महसुस गर्दा हामी आत्तिएको अवस्था हो । गर्मी हामी मानवजातिको गलत क्रियाकलापका कारण बिस्तारै प्रत्येक वर्ष बढ्दै गएको छ । गर्मी समयमा अपनाउनुपर्ने सामान्य सावधानी नअपनाउँदा धेरैभन्दा धेरै स्वास्थ्य समस्या आउने गरेका छन् । जसका कारण धेरै मानिसको मृत्युसमेत हुने गरेको छ ।
जताततै वृक्षरोपण भए हरियाली र वर्षा भई गर्मी स्वतः कम हुँदै जान्छ । धेरैजसो रोग वा स्वास्थ्य समस्या गर्मीकै सिजनमा अत्यधिक हुने गर्छन् । मानिसलाई रिंगटा लाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने, उच्च ज्वरो हुने, बान्ता हुने र बेहोस हुनेजस्ता समस्या देखिन्छन् । समयमै स्वास्थ्य संस्थामा गई उपचार नगराउने र खानपानमा ध्यान नदिने हो भने मृत्युसमेत हुन सक्छ । गर्मीका कारण छालाका विभिन्न समस्या, घमौराजस्ता विभिन्न किसिमका छालाका संक्रमण इत्यादि हुन सक्छन् । गर्मीका कारण जन्डिस, पेट दुख्ने, झाडापखाला, हैजा, रगतमासी, फुड पोइजन, टाइफाइडजस्ता रोगका साथसाथै पर्याप्त मात्रामा पेयपदार्थ पिउन नसक्दा डिहाइड्रेसन र मृगौलामा समेत समस्या देखिन्छ । गर्मीको समयमा सावधानी नअपनाउँदा सर्पले डसेर धेरैको ज्यानसमेत जाने गरेको छ ।
उच्च गर्मी वा यसका कारण उत्पन्न हुने स्वास्थ्य समस्याबाट बच्नका लागि अपनाउनुपर्ने मुख्य कुरा प्रशस्त मात्रामा पानी पिउनु हो । त्यसै गरी सफा, स्वच्छ र ताजा खानेकुरा खाने, गर्मीको समयमा घरबाहिर ननिस्कने, निस्कनै परे शीतल कपडा, छाता र चप्पल प्रयोग गरेर मात्र निस्कने गर्नुपर्छ । कडा गर्मीबाट बच्नका लागि विशेष गरी सेना, प्रहरी, खेलाडी आदिले गर्ने कडा परिश्रम, तालिम गर्मी अवधिभर नगराउँदा वा कम गराउँदा राम्रो हुन्छ । शैक्षिक संस्थाका गाडी हुन् या सार्वजनिक सवारीसाधन, सिट क्षमताभन्दा धेरै यात्रु नराख्ने गर्नु जरुरी छ ।
– सुमन खनाल, खोटाङ ।

धूमपान स्वास्थ्यका लागि अति हानिकारक
धूमपान र सुर्ती सेवन स्वास्थ्यका लागि घातक छ । यसले विभिन्न किसिमका स्वास्थ्य समस्या सिर्जना गर्छ । धूमपान र सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणका लागि सरकारले सार्वजनिक स्थलमा धूमपान गर्न रोक लगाउनुका साथै कडा कानुन बनेको छ । तर यसको सफल कार्यान्वयन भने अझैसम्म हुन सकेको छैन । सरकारले सार्वजनिक स्थानमा धूमपान र सुर्तीजन्य पदार्थको प्रयोग गर्नेलाई १ सय रुपियाँदेखि ५ हजार रुपियाँसम्म जरिबाना तोकेको भए पनि हालसम्म एकजना पनि कारबाहीको दायरामा आएको सुनिएको छैन ।
सार्वजनिक स्थलमा धूमपान गर्ने प्रवृत्तिमा भने केही सुधार भएको पाइन्छ । नेपालमा धूमपानविरुद्ध जे–जस्ता अभियान चलाइए पनि धूमपान गर्ने मानिसको संख्यामा भने झनै वृद्धि हुँदै गएको छ । धूमपानले बिस्तारै ज्यान लिन्छ भन्ने वास्तविकता बोध हुँदाहुँदै पनि कतिपय मानिसले यसैलाई ‘मृत्युमार्ग’ बनाइरहेको पाइन्छ । स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार नेपालमा कुल जनसंख्याको १८.५ प्रतिशत जनसंख्याले धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्छन् ।
हरेक १० मध्ये ४ व्यक्ति यस कुलतमा फसेका छन् । युवा पुस्ताले देखासिकी र फेसनका रूपमा धूमपान र सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको पाइन्छ । बिस्तारै लतका रूपमा फस्न पुग्छन् । फलस्वरूप कलिलै उमेरमा मुटुरोगको सिकार बन्न पुग्छन् । धूमपानकै कारण मुटुरोगी युवाको संख्या दिनहुँ बढ्दै गएको मुटुरोग विशेषज्ञले जनाएका छन् ।
स्वास्थ्य मन्त्रालयको सर्वेक्षणअनुसार नेपालमा धूमपानका कारण प्रत्येक २ सेकेन्डमा एकजनाको मृत्यु हुने गरेको तथ्यांक छ । धूमपान र सुर्तीजन्य पदार्थको सेवनबाट मात्रै बर्सेनि ३० हजारको हाराहारीमा ज्यान जाने गरेको छ । धूमपानले विशेष गरी हृदयघात निम्त्याउने गर्दछ । जसको लक्षण अन्तिम अवस्थामा मात्रै देखा पर्छ । त्यसैले हृदयघातका कारण अकाल मृत्युबाट बच्न धूमपान त्याग्नुको विकल्प छैन ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर बर्सेनि ८३ लाख मानिसले धूमपानकै कारण ज्यान गुमाउने गर्छन् । केही वर्षपहिले ४० वर्षदेखि ६० वर्ष उमेर समूहमा हृदयघात हुने गरे पनि पछिल्लो समय २५ वर्षका युवामा समेत हृदयघात देखिनु धूमपानकै असर भएको विज्ञले औँल्याएका छन् ।
विद्यालय तहदेखि नै हुने धूमपान र मद्यपानका कारण हृदयघातमा वृद्धि भइरहेको छ । धूमपानकै कारण उच्च रक्तचाप, कोलेस्ट्रोल, मृगौला फेल, विभिन्न अंगको क्यान्सर, मधुमेह, मानसिक रोग, महिलाको प्रजनन शक्तिमा ह्रास, अपांग, टीबी, दमजस्ता समस्या निम्त्याउने गरेको पाइन्छ ।
धूमपान र सूर्तीजन्य पदार्थको सेवन गर्ने व्यक्तिमा मस्तिष्कघातको सम्भावना पनि ४ गुणासम्म बढी हुने चिकित्सकको भनाइ छ । सुर्तीजन्य पदार्थमा ४ हजार प्रकारका केमिकलमध्ये ३ वटा तत्वले ७० प्रतिशत फोक्सोको क्यान्सर निम्त्याउँछ । विश्वमा प्रत्येक ६ मृत्युमध्ये १ क्यान्सरको कारण हुने गरेको छ । नेपालमा कुल मुटुरोगीमध्ये ९० प्रतिशतले धूमपान गरेको पाइएको छ ।
– रोशन विश्वकर्मा, सल्यान ।

 

प्रतिक्रिया दिनुहोस्