कूटनीतिक व्यवहार



सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र सत्ता समीकरण फेरबदलको चर्चा चलिरहेका बेला नेपालमा चिनियाँ राजदूत होउ यान्छीले सक्रियता बढाउनुलाई अर्थपूर्ण ढंगबाट हेरिएको छ । यो सक्रियता जायज हो कि गैरकूटनीतिक भन्ने प्रश्न उठेको छ । नेपालस्थित चिनियाँ राजदूतावास सक्रिय भएको यो पहिलोपटक भने होइन । तर, यान्छी यसअघिका चिनियाँ राजदूतहरूभन्दा बढी सक्रिय भने देखिनुभएको छ । तर, नेपालमा सत्ता फेरबदलको बहस चलिरहेका बेला उहाँको सक्रियताको अर्थ भिन्न लाग्न सक्ने विश्लेषकहरूको भनाइ छ ।

मुलुककको तरल राजनीतिमा नेपालस्थित चीनका राजदूत होउ यान्छीको सक्रियतालाई परराष्ट्रविद्हरूले अस्वाभाविक मानेका छन् । आन्तरिक राजनीतिमा यति सारो चासो लिएर भेटघाट गर्नु कूटनीतिक मर्यादाविपरीत रहेको परराष्ट्रविद्हरूले धारणा व्यक्त गरेका छन् । नेकपाभित्रको आन्तरिक विवाद चुलिँदै जाँदा राजदूत भेटघाटले दल विशेषको पक्षधरता झल्किएको कूटनीतिक वृत्तमा चर्चाको विषय बनेको छ । कूटनीतिमा सबैप्रति सद्भावपूर्ण सम्बन्ध स्वाभाविक भए पनि यो हदसम्म चिन्ता, चासो आवश्यक नभएको प्रतिक्रियाहरू आएका छन् ।

कूटनीतिमा स्तर, समय, सन्र्दभ, पूष्ठभूमि र उपभोग गरेको शब्दले अर्थ राख्ने गर्दछ । चिनियाँ राजदूतको सक्रियतासँगै एमसीसीको प्रतिवेदन पनि बाहिर आएको छ । करिब एक साता पहिले चिनियाँ राष्ट्रपति सी जिन पिङले टेलिफोनमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसँग वार्ता गरी ओलीको सुस्वास्थ्य र खुसीका लागि दिएको शुभकामनालाई ओली पक्षले वर्तमान राजनीतिक संकटमा चीनको ओलीलाई समर्थनका रूपमा प्रस्तुत गर्दै आएको छ । यसलगत्तै राजदूतको सक्रियता बढेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली दुईवटा अध्यादेश ल्याएसँगै छताछुल्ल भएको नेकपाभित्रको विवादको विषयमा राजदूत यान्छीले १९ गते शुक्रबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटघाट गर्नुभएको थियो । राजदूत यान्छीले नेकपाभित्रको द्वन्द्व र ओलीको निरन्तरताको सम्भावनाबारे छलफल भएको बुझिएको छ ।

प्रचण्डसँगको भेटलगत्तै उहाँ वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवास पुग्नुभएको थियो । राजनीतिक अवस्था कमजोर भएपछि छिमेकीको दबाब बढ्ने नेपालको पुरानै नियति रहेको छ । नेपालमा सत्ता फेरबदल हुने चर्चा शुरू भएपछि चीन मात्र नभएर भारत, अमेरिका र युरोपीयन देशहरूको चहलपहल बढेका उदाहरणहरू प्रशस्त पाइन्छन् ।

हुन त राजदूतको भेटघाटलाई चिनियाँ अधिकारीले दुई पक्षीय सहयोग र कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि चीनले गर्ने सहयोग र सद्भावलगायतमा छलफल भएको जानकारी दिएका छन् । तर, यति मात्र कुरो भयो होला भनेर भन्न नसकिने पनि परराष्ट्रविद्हरूको भनाइ छ । यस समयमा चिनियाँ राजदूतको भेटघाटलाई औपचारिक सम्बन्धका रूपमा लिनु उचित हुँदैन ।

संसारको महाशक्ति मानिएको अमेरिकामा कोभिड महामारीको प्रकोप अनियन्त्रित भएको अवस्थालाई चीनले आफ्ना प्रभाव बढाउने समयका रूपमा लिएको विश्लेषण गरिएको छ । अर्कोतर्फ नेपालमा चलखेल बढ्यो भनेर कुनै छिमेकी या कुनै तहको शक्तिराष्ट्र कसैलाई दोष दिनु मूर्खता हो । नेपालमा चलखेल बढ्ने स्थिति ल्याउन दलहरू नै जिम्मेवार रहेका छन् । दलहरूले आत्मसमीक्षा गर्नुपर्छ । साथै, राजदूद होउको यस व्यवहारलाई मात्र हेरेर नेपालप्रति चीनको सहयोग र सदासयताको पुरानो इतिहासलाई बिर्सन पनि मिल्दैन ।

 

प्रतिक्रिया दिनुहोस्