लकडाउन खुकुलो गर्नुपर्यो



कोरोना महामारीका कारण लकडाउन भएको लामो अवधि भयो । यसले गर्दा व्यापार व्यवसाय, खेतीपाती, विकास निर्माणका काम त ठप्प भएको छ नै, यसका अतिरिक्त मानसिक तनाव बढेको छ । कतिको रोजगार गुमेको छ, कतिको परिवारसँग मिलन हुन सकेको छैन, कतिपयको अब के खाने भन्ने समस्या सृजना भएको छ । त्यसैले परिवारमा मानसिक समस्या बढेको छ ।

एकातिर कोरोना महामारीको त्रास, अर्कातिर यसले निम्त्याएको मानसिक समस्या, अब लकडाउन खुले पनि मानिसहरुलाई सहज अवस्थामा आउन महिनौं लाग्छ । होटल व्यवसाय ६ महिनाका लागि बन्द भन्ने समाचार आइसकेको छ । यसमा आश्रित परिवार र कामदार कर्मचारीको मन के भएको होला ? यो त एक उदाहरण मात्र हो । अन्य निजी कम्पनीमा कार्यरत कर्मचारीको पनि हालत यस्तै छ । त्यसैले उपयुक्त किसिमले लकडाउन खुकुलो गरी जीवनयापन गर्न सहज बनाइयोस् ।
– जीवन लामा, काठमाडौं ।

स्वस्थ जीवनशैली अपनाऔँ
मानव स्वास्थ्य अत्यन्तै संवेदनशील छ । यसको हामीले जति हिफाजत गर्न सक्यो उति नै जीवनमा खुसी र सुखी रहन सक्छौँ । स्वास्थ्य सबै थोक हो । स्वास्थ्य सबैभन्दा ठूलो धन हो । स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति हो । शरीर स्वस्थ रहे धन कमाउन सकिन्छ । शरीर अस्वस्थ भएपछि धन खर्चेर पनि स्वास्थ्य फिर्ता गर्न सकिँदैन । अहिले पूर्णरुपमा स्वस्थ मानिस भेट्न मुस्किल पर्छ । हरेक परिवारमा एउटा न एउटा स्वास्थ्य समस्या नरहेको मानिस भेट्न गाह्रै पर्छ । त्यसकोे प्रमुख कारण खानपिन नै हो ।
आफ्नो स्वास्थ्यप्रति संवेदनशील हुन नसक्दा जानी–नजानी मानिसहरुले रोग निम्त्याइरहेका हुन्छन् । अहिले अनेक व्यापारका नाममा जनस्वास्थ्यको ख्याल नगरी जथाभावी खानेकुरा बिक्री वितरण भइरहेको पाइन्छ । तर, मानवीय स्वास्थ्यमा गम्भीर असर पु¥याउने यस्ता अस्वस्थ खानेकुराको बिक्री वितरण नियन्त्रण गर्नेतर्फ जिम्मेवार निकायले चासो देखाएको पाइँदैन ।
विशेष गरी विद्यालय, क्याम्पस, सार्वजनिक स्थल तथा मानवीय चाप बढी हुने स्थानहरुमा यस्ता खानेकुराको निर्बाध बिक्री हुने गर्दछ । स्वास्थ्यको दृष्टिले खानयोग्य नभए पनि कतिपय खाद्यपदार्थ खुलारुपमा बिक्री हुँदै आएको पाइन्छ । सडकको फुटपाथ, चोक, चौबाटोदेखि चौतारासम्ममा जथाभावी पाइने खाद्यपदार्थ कति स्वास्थ्यवद्र्धक छ, त्यसको परीक्षण गर्ने परम्परा हामीकहाँ छैन ।
अस्वस्थ खाद्यपदार्थको सेवनबाट झाडापखाला, टाइफाइड, जन्डिसजस्ता संक्रमणयुक्त रोग लाग्न सक्छ । पानी परिरहेको मौसम र बाढी आइरहेको अवस्थामा झनै सचेत हुन जरुरी छ । फोहोर खानेकुरा र दूषित पानीकै कारण अधिकांश रोग लाग्छ । तर, सरोकारवालाले अखाद्य पदार्थको सेवन रोक्ने अभियान चलाउन सकेको छैन ।
केही वर्षयता साना व्यवसायीको कमाइ खाने माध्यम यस्तै सडकछेउमा भइरहेको पाइन्छ । सस्तो खाजाका परिकार, चटपट, पानीपुरीलगायत छिटो र मीठो हुने नास्ताका लागि युवापिँढीको आकर्षण हुने गर्छ । सानो पुँजी हुने जो–कसैले पनि यस्तो पेसा गरेर आफ्नो जीवन गुजारा चलाउन सडकछेउ, रिक्सा÷ठेलामा यस्ता अखाद्य वस्तुहरु बिक्री हुँदै आएका छन् । व्यापार गर्ने कतिपयलाई आफूले अस्वस्थ खानेकुरा बिक्री गरिरहेको ज्ञान हुँदैन । र, कतिपयले कमाइ हुने नाममा स्वास्थ्यका लागि घातक रसायनको प्रयोग गरी जथाभावी खानेकुरा बेच्दै पनि आएका छन् ।
जनस्वास्थ्यको ख्यालै नगरी सार्वजनिक स्थलमा जथाभावी खानेकुरा बिक्री हुँदा स्थानीय निकायहरुले रोक्ने प्रयास गरेको देखिँदैन । जिल्ला प्रशासन कार्यालयको खाद्य निरीक्षण एकाइले पनि यसमा चासो देखाएको पाइँदैन । भरतपुर महानगर र केही नगरपालिकाले सडक दुर्घटना र नगरक्षेत्रलाई व्यवस्थित गर्न फुटपाथमा व्यापार गर्नेहरुलाई बजार क्षेत्रबाट स्थानान्तरण गरे पनि जनस्वास्थ्यमा असर पार्ने खानेकुरा बेच्न निरुत्साहित गर्ने काम भने कोही–कसैबाट भएको पाइँदैन ।
अस्वस्थ खाद्यपदार्थ नियन्त्रण गर्नु भनेको सार्वजनिक स्थानमा व्यापार गरेर जीवन धान्नेहरुलाई पेसाबाटै विस्थापित गर्नु होइन । उनीहरुलाई व्यवस्थित तरिकाले व्यापार गर्न सिकाउनु पनि हो । कतिपय यस्ता व्यापार गर्नेहरुले अज्ञानताका कारण अखाद्य पदार्थ बिक्री वितरण गरिरहेका हुन्छन् । तिनीहरुलाई चेतनामूलक ज्ञान दिन सकिन्छ । कोहीले जानाजान अखाद्य रंग मिसिएका र मानव स्वास्थ्यका लागि असर पार्ने पदार्थहरु मिसाएर मिठाई तथा अन्य खाद्य परिकारहरु बिक्री गरिरहेका हुन्छन् । तिनलाई प्रभावकारी अनुगमन तथा गुणस्तर परीक्षण गरेर नियन्त्रण गर्न सकिन्छ ।
नेपालमा खाद्य सुरक्षा र उपभोक्ता हितका निम्ति संवेदनशील निकाय निष्क्रियजस्तै बन्न पुगेको छ । उपभोक्ता स्वयं आफ्नो स्वास्थ्यप्रति चासो राख्ने कमै मात्र भेटिन्छन् । छिटो र मीठोका नाममा आफ्नो स्वास्थ्यलाई दाउमा राख्ने जमात दिनहुँ बढ्दो छ । रोग लाग्नबाट बच्न र स्वस्थ रहन सामान्य गतिविधिमा ख्याल राखे पुग्छ । समयमै सचेत बन्न सकियो भने गम्भीर स्वास्थ्य समस्या आउनुअगावै जोगिन सकिन्छ । समयमै सचेत बनौं ।
– सुमन खरेल, मुगु ।

गुट्खाजन्य पदार्थको नियन्त्रण गर
मानव स्वास्थ्यमा सबैभन्दा हानि पु¥याउने गुट्खाजन्य पदार्थको सेवनका कारण मुलुकमा बर्सेनि सयौं नेपालीले ज्यान गुमाउने गरेका छन् । गुुट्खाको उत्पादनमा नियमन नहुँदा नक्कली होस् वा सक्कली यसले मानवजीवनमा मात्र असर गरेको छैन, राजधानीलगायत मुलुकका प्रमुख शहरलाई समेत असर गरेको छ ।

गुट्खा सेवन गर्नेहरूले गुट्खाको प्याकेट जहाँ पायो त्यहीँ फाल्ने गरेका कारण ती शहरको वातावरणसमेत प्रदूषित भएको छ । नेपालमा धेरै संघसस्थाले फोहोर नियन्त्रण गर्ने अभियान नै चलाए तर मानिसको व्यवहारमा परिवर्तन नआउनाले उनीहरूले गुट्खाका प्याकेट बाटोभरि फ्याँक्ने क्रम बढ्दोरूपमा रहेको छ ।

सरकारले यसको व्यवस्थापन गर्न नसक्दा एकातिर हजारौं मानिस रोगको सिकार भएका छन् भने जथाभावी बाटोमा फ्याँकिएको प्याकेटले वातावरणलाई समेत प्रदूषित बनाएको छ । त्यसैले यसको उत्पादनमा रोक लगाउनेतर्फ सरकारको ध्यान जान जरुरी छ । सरकारले भन्ने एउटा तर गर्ने अर्कै भएको कारण व्यापारीको मनोमानी बढ्दो क्रममा रहेको छ । गुट्खा प्रयोगकर्ताले जथाभावी फ्याँकेको प्याकेटले शहरलाई कुरूपसमेत बनाएको छ । त्यसकारण तत्काल यस्ता मानव स्वास्थ्यमा असर गर्ने सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउनुको विकल्प छैन । यस्तो गुट्खाजन्य पदार्थले कुरूप बनेको शहरलाई सफासुग्घर बनाउने जिम्मा तपाईं–हामी, सरकार सबैको हो ।
– सुनील चापागाईं, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्