कोरोना रोकथाममा स्वास्थ्य शिक्षा



प्रा.डा. ओमप्रसाद बराल
कोरोना भाइरस स्तनधारी जनावर तथा चराचुरुङ्गीबाट सर्ने रहस्यमयी मानिसमा स्वासप्रस्वाससम्बन्धी समस्या र उच्च ज्वरो उत्पन्न गराउने अति सूक्ष्म आर.एन.ए. समूहको विषाणु हो । यो क्राउन जस्तो (शिरमा लगाउने ताज) देखिने भएकोले यसको नाम कोरोना रहन गएको बताइन्छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको नाम कोभिड–१९ राखेको छ । ‘को’ को अर्थ कोरोना, ‘भि’ को अर्थ भाइरस र ‘डि’ को अर्थ डिजिज हो । यो भाइरस चमेरोबाट मानिसमा सरेको अनुमान गरिएको छ ।

कोरोना भाइरस कुनै जीवित जीव होइन । यो प्रोटिनको अणु हो, जसलाई बोसोको सुरक्षा तहले ढाकिएको हुन्छ । यो भाइरस कमजोर भए तापनि बोसोको बाहिरी पातलो तहले यसलाई सुरक्षित गरेको हुन्छ । यसकारण कुनै साबुन वा डिटरजेन्ट नै यसको उत्तम उपचार मानिन्छ ।

साबुनको फिँजसँग हात २० सेकेन्डसम्म रगडिँदा साबुनको फिँजमा भएको रसायनले बोसोको सतह नष्ट गरिदिन्छ । यो भाइरस कार्डबोर्डमा २४ घण्टा, धातुमा ४२ घण्टा, प्लास्टिकमा ७२ घण्टासम्म रहन्छ । यो भाइरस स्वस्थ छालामा प्रवेश गर्न सक्दैन । ६५ प्रतिशत अल्कोहल भएको झोलले पनि यो भाइरसलाई निष्क्रिय पार्दछ । जति साँघुरो ठाउँ छ त्यहाँ यसको वृद्धि हुने र खुला ठाउँमा निष्क्रिय हुने सम्भावना रहन्छ ।

यो रोग लागेपछि उच्च ज्वरो र थकान हुने, सुख्खा खोकी लाग्ने, स्वास फेर्न गाह्रो हुने, मांसपेशी र टाउकोमा हल्का दुखाई हुने गर्दछ । तर कतिपय मानिसमा विनालक्षण पनि यो रोग पीसीआर परीक्षण गर्दा देखापरेको पाइन्छ ।

त्यसैले विश्व स्वास्थ्य संगठनले पनि कोरोनाको लागि परीक्षण, परीक्षण, फेरि परीक्षण गर्ने, संक्रमितलाई एक्ल्याउने, तयारी र तीव्र कदम चाल्ने, सामाजिक दूरी कायम राख्ने (१ मिटर, १÷३ फिट), सरसफाइलाई प्रोत्साहन गर्ने, साबुन–पानीले हात धुने, सेनिटाइजर लगाउने, खोक्दा वा हाच्छियुँ गर्दा टाढा बस्ने, मास्कको प्रयोग गर्ने, हात नमिलाउने बरु नमस्कार गर्ने, भीडभाडमा नजाने, जीवित प्राणीहरूको धेरै सम्पर्कमा नआउने आदि यसको रोकथामका उपायहरू हुन् ।

कोरोना भाइरस उत्तरी छिमेकी चीनको वुहानमा पशुपक्षी व्यापार हुने बजारमा पहिलो पटक भेटिएको र बेइजिङ, मकाउ, ताइवान हुँदै विश्वको प्रायः सबै देशमा नै पैmलिरहेको यसको संक्रमणबाट सन् २०२० जनवरी ५ मा चीनमा नै पहिलो व्यक्तिको मृत्यु भएको थियो ।

हाल आएर युरोप र अमेरिकालाई यस भाइरसले अत्यन्तै ठूलो चुनौती दिइरहेको र विश्व महामारीको रूपमा विश्वलाई आक्रान्त बनाइरहेको छ । अहिले पैmलिएको कोरोना महामारीले विश्वचर्चित राजनीतिक व्यक्तित्व, पूर्वराष्ट्रपति, पूर्वमन्त्री, बहालवाला सांसद, वैज्ञानिक, प्राध्यापक, डाक्टर, इन्जिनियर, पत्रकार, रङ्गकर्मी, महिलादेखि खेलाडीसम्मको ज्यान लिइसकेको र विभिन्न देशका मन्त्री, प्रधानमन्त्रीसमेत कोरोनाको संक्रमणबाट बच्न नसकेको अवस्थामा यसले विशेष गरी ५० वर्षमाथिका मानिसहरूमा आक्रमण गरी ज्यान लिएको देखिन्छ ।

आजका दिनसम्म अमेरिकी र बेलायती वैज्ञानिकहरू कोरोना भाइरसको निरन्तर खोप आविष्कार गर्न तल्लीन देखिन्छन् तर सफलता प्राप्त भइसकेको छैन । त्यसै गरी यो भाइरसको विरुद्ध निश्चित किसिमको औषधि पनि छैन । यसकारण कोरोना भाइरसबाट बच्नु भनेकै विश्व स्वास्थ्य संगठनले दिएको स्वस्थकर आचरणलाई व्यवहारमा उतार्नु नै हो ।

विश्व महामारीको इतिहास हेर्ने हो भने चौधौँ शताब्दी (सन् १३४७–१३५१ सम्म) मा कालो मृत्यु (ब्ल्याक डेथ) बाट झन्डै २० करोड मानिसको ज्यान गएको, सन् १९१८ मा स्पेनिस फ्लुको महामारीबाट ५ करोडभन्दा बढी मानिसको मृत्यु भएको र एसियन फ्लुले सन् १९५७ मा २ करोड मानिसको ज्यान लिएको पाइन्छ ।

रसियन फ्लुले सन् १८८९ मा महामारी हुँदा ३ लाख ९० हजारको ज्यान लिएको, सन् १९१० र सन् १९११ मा हैजा महामारी हुँदा विश्वमा लाखौँ मानिसको ज्यान गएको थियो । सन् १९६८ मा हङकङ फ्लु महामारी पैmलिँदा १० लाखभन्दा बढी मानिसको ज्यान गएको, सन् १५२० देखि बिफर महामारी पैmलिएर ५ करोडभन्दा बढी मानिसको मृत्यु भएको र १८ औँ शताब्दीमा खोपको आविष्कार भएपछि महामारीको अन्त्य भएको पाइन्छ ।

सन् २००३ मा सार्स रोग पैmलिँदा ७७४ को मृत्यु भएको, सन् २००९ मा स्वाइन फ्लुबाट झन्डै ५ लाख मानिसको ज्यान गएको, एच.आई.भी. र एड्सबाट झन्डै ४ करोडको (अहिलेसम्म) ज्यान गइसकेको, त्यस्तै औलो ज्वरो, जापानिज इन्सेफ्लाइटिस, डेन्गु, कालाजारजस्ता सरुवा रोग महामारी रूप लिँदा धेरै मानिसले मृत्युवरण गरेका छन् ।

नेपालमा पनि हैजा महामारी हुँदा सन् १८३२ अप्रिल ६ मा ललिता त्रिपुरा सुन्दरी महारानीको मृत्यु भएको, सन् १८२९, १८३२, १८४६, १८५६, १८६९, १८८७÷८८ मा हैजा पैmलिँदा कैयौँ मानिसको ज्यान गएको देखिन्छ । सन् १८१४/१५ मा कालो मृत्यु (प्लेग) महामारी हुँदा राजा भाष्कर मल्लसहित झन्डै १९ हजार मानिसको मृत्यु भएको, सन् १६६९ मा बिफर महामारी हुँदा प्रताप मल्लका छोरा चक्रवतीन्द्र मल्लको मृत्यु भएको, साथै सन् १८१६ मा गिर्वाणयुद्ध वीर विक्रम शाहको मृत्यु पनि बिफरकै कारण भएको इतिहासमा उल्लेख गरेको पाइन्छ । यसरी बिफर रोग महामारी हुँदा नेपालमा हजारौँ मानिसले ज्यान गुमाउन पुगेका थिए ।

महामारी रोगहरूले समय–समयमा विश्वलगायत नेपाललाई पनि आक्रान्त बनाइरहेको अवस्थामा स्वास्थ्य शिक्षाको आवश्यकता, महत्व र यसको भूमिका टड्कारोरूपमा देखापरिरहेको छ । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम उपाय हो भन्ने नै स्वास्थ्य शिक्षाको सन्देश हो । स्वास्थ्य शिक्षाले व्यक्ति, परिवार र समुदायलाई स्वास्थ्यसम्बन्धी असल बानी व्यवहार अपनाउन लगाई स्वस्थकर एवं गुणस्तरीय जीवनयापन गर्नमा मद्दत गर्दछ । स्वास्थ्य शिक्षा नै त्यस्तो अचुक सकारात्मक स्वास्थ्य व्यवहार परिवर्तनको प्रक्रिया हो, जसले कुनै पनि महामारी पैmलिनबाट मानिसलाई सतर्क र सावधान गराउन, रोकथामका उपायहरू अपनाउन र असल स्वास्थ्य सूचनाहरू सम्प्रेषण गर्ने काम गरिरहेको हुन्छ ।

व्यक्तिगत सरसफाइलाई व्यवहारमा उतार्नु, स्वास्थ्य एवं पोषिलो खाना खानु, नियमित व्यायाम गर्नु, आफूर वरपरको वातावरण स्वस्थ राख्नु, बच्चालाई खोप लगाउनु, सानो परिवार सुखी परिवार बनाउनु, समय–समयमा स्वास्थ्य परीक्षण गर्नु, विभिन्न रोगबाट बच्न रोकथामका उपायहरू अपनाउनु, स्वास्थ्यका असल सूचनालाई सम्प्रेषण गर्नु, सकारात्मक सोच्ने बानीको विकास गर्नु, प्रजनन स्वास्थ्यप्रति सचेत हुनु, स्वास्थ्य र सुरक्षित आवासमा रहनु, वातावरण प्रदूषण हुनबाट रोक्नु, मानसिक स्वास्थ्य र उपभोक्ता स्वास्थ्यप्रति जागरुक हुनु, लागू पदार्थ, धूमपान, दुव्र्यसनी, चेलीबेटी बेचबिखन, वेश्यावृत्ति आदिबाट टाढा रहनु नै स्वास्थ्य शिक्षाको मूल ध्येय हो । वास्तवमा स्वास्थ्य शिक्षाको महत्व कोखदेखि चिहान (ओम्ब टु टम) सम्म रहेको छ । मानवजीवनको हरेक पक्षसँग स्वास्थ्य शिक्षा जोडिएको हुँदा यसले कोरोनालगायत अन्य महामारी रोगहरूविरुद्ध सकारात्मक व्यवहार परिवर्तन गरी हुन सक्ने जोखिमबाट बचाउने कार्यमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

यस कारण आज देशमा कोरोनाले दोस्रो चरण प्रवेश गर्दै गर्दा विद्यालयदेखि विश्वविद्यालयसम्मका हेल्थ एजुकेटर र स्वास्थ्य शिक्षा विज्ञहरूलाई सुरक्षित तवरले परिचालन गरेर प्रत्येक समुदायको टोल–टोल, क्वारेन्टाइन केन्द्र, आइसोलेसन केन्द्रमा गई कोरोनाविरुद्ध रोग लाग्नबाट बच्न, स्वास्थ्य प्रवद्र्धन गर्न साथै प्रतिकारात्मक उपायहरूको बारेमा स्वास्थ्य शिक्षाका उपयोगी सन्देश प्रवाह गरी सम्पूर्ण जनमानसमा व्यवहार परिवर्तन गर्न परिचालित भएर सरकारलाई टेवा पु¥याउन आवश्यक देखिन्छ ।

यसको लागि स्वास्थ्य मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र स्थानीय निकायहरूबीच समन्वय र सहकार्य गरी प्याकेज र कार्यविधि बनाई ७५३ स्थानीय तहमा सरकारले गरेका ६ वटा ‘टी’ को (ट्राभल रेस्टिक्सन, टेष्टिङ, टे«सिङ, ट्रयाकिङ, ट्रिटमेन्ट र टुगेदर) रणनीतिक कार्य सफल गराउन र कोरोनाबाट पार पाउन यो अभियानलाई सरकारले ढिला गर्नुहुँदैन ।

यसरी हेर्दा हरारीले शिक्षामा चार ‘सी’ (क्रिटिकल थिङ्किङ, क्रिएटिभिटी, कोलाब्रेसन र कम्युनिकेसन) जस्ता शब्दावली प्रयोग गरी सोही अनुसार शिक्षालाई अगाडि बढाउन उचित देखेकोमा स्वास्थ्य शिक्षामा पनि यस विचारलाई अगाडि बढाउँदा दीर्घकालीन विभिन्न रोग र महामारी रोकथाम र नियन्त्रणमा सहयोग पुग्ने देखिन्छ ।

स्वास्थ्यसम्बन्धमा विवेचनात्मक चिन्तन गर्ने, असल स्वास्थ्यको सृजनात्मकताको विकास गर्ने र सबै पक्षसँग सहकार्य गर्दै स्वास्थ्यका जीवन उपयोगी सूचना, व्यक्ति, परिवार र समुदायमा प्रसारण गरी व्यवहार परिवर्तन गर्न सके निश्चय पनि कोरोनालगायत विभिन्न रोगहरूबाट सुरक्षित रहन सकिन्छ ।

यस किसिमको स्वास्थ्य शिक्षा विषयलाई आधारभूत तह र माध्यमिक तह (विद्यालय शिक्षा) सम्म अनिवार्य विषयको रूपमा पठनपाठन गराउनसके भविष्यमा आइपर्ने कुनै पनि महामारी विपत्तिसँग स्वास्थ्य शिक्षालाई जोडेर त्यसको रोकथाम नियन्त्रण गर्ने कार्य स्वास्थ्य शिक्षाको भएको हुँदा यसको माध्यमबाट मानवजीवनलाई नै स्वस्थ र सुरक्षित राख्न सकिन्छ भन्नेमा कसैको दुईमत हुँदैन होला ।
(लेखक त्रि.वि.को स्वास्थ्य शिक्षा विषयको प्राध्यापक हुनुहुन्छ)

 

प्रतिक्रिया दिनुहोस्