लकडाउनलाई प्रभावकारी बनाउ



विश्व नै अहिले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लडिरहेको छ । कोरोनाबाट बचाउनका लागि सरकारले लकडाउन घोषणा गरेको ४२ दिन पुगेको छ । यस अवधिमा नेपालमा ७५ जना कोरोना संक्रमित फेला परेका छन् । जसमध्ये १६ जना उपचारपछि स्वस्थ भएर घर फर्किसकेका छन् । विश्वव्यापीरूपमा कोरोना भाइरसको संक्रमण तीव्ररूपमा फैलन क्रम जारी छ । हालसम्म २ लाख ४५ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । कोरोनाबाट बच्न लकडाउनको विकल्प छैन । सरकारले पनि आफ्नो स्रोत र साधन परिचालन गरेर काम त गरिरहेको छ । तर, जुन गतिमा काम गर्नुपर्ने थियो त्यो अनुरूप हुन सकेको छैन । सत्तारूढ दल नेकपाभित्रको आन्तरिक किचलोको कारण सरकार आधा महिना अलमलमै रह्यो ।

औषधि समयमा खरिद गरेर ल्याउन नसक्नु सरकारको कमजोरी देखिन्छ । कोरोनाविरुद्ध लड्नबाहेक सरकारसँग अरू एजेन्डा नहुनुपर्ने थियो । तर, विडम्बना सत्तारूढ दलभित्रकै किचलोका कारण सत्तामा ध्यान दिँदा तत्काल गर्नुपर्ने कामहहरू केही ओझेलमा परेको छ । सरकारले कोरोना संक्रमित भए÷नभएको पुष्टि गर्न अगाडि बढाएको ¥यापिड टेस्टको काम पनि प्रभावकारीरूपमा अगाडि बढ्न सकेको देखिँदैन । तीव्र गतिमा हुनुपर्ने परीक्षणको काम सुस्त गतिमा अगाडि बढेको छ ।

र्यापिड टेस्टलाई विश्वसनीय ढंगले अगाडि बढाउनुपर्ने भए पनि कतिपय घटनामा टेस्टमा नेगेटिभ देखिएका व्यक्तिलाई पनि प्रयोगशालामा टेस्ट गर्दा पोजेटिभ देखिएका घटनासमेत सार्वजनिक भएका छन् । सरकारले यस्तो संवेनशील विषयमा ध्यान किन दिन सकिरहेको छैन । यति बेला सरकारलाई कोरोनाविरुद्ध लड्नका लागि बजेटको अभाव छैन । आवश्यकता पर्दा विकास निर्माणमा खर्च हुन नसकेको बजेटलाई समेत रकमान्तर गरेर खर्च गर्न सक्ने अवस्था छ । तर पनि औषधि र स्वास्थ्य सामग्री खरिद प्रक्रियामा देखिएको अलमल र ढिलासुस्तीले सरकार आफैं अलमलमा परेको छ ।

बहुमत प्राप्त सरकार छ । किन राज्यका संयन्त्रलाई प्रभावकारीरूपमा परिचालन गर्न सकिरहेको छैन ? सर्वत्र प्रश्न उठिरहेको छ । यति बेला नागरिक सरकारको आलोचना गर्न चाहिरहेका छैनन् । सरकारले गर्नुपर्ने र र्यापिट टेस्टको काम अगाडि बढाउने, लकडाउनलाई थप प्रभावकारी बनाउनेतर्फ लाग्नुपर्छ । कोरोनाको सम्भावित संकट नेपालमा अझै टरिसकेको छैन । लकडाउनकै कारण अहिलेसम्म संकट टरेको छ ।

सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउँदै पावर र पहुँचको आधारमा चल्ने सवारीसाधनलाई नियन्त्रण गर्न जरुरी छ । सीमा क्षेत्रमा सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीय रहेको छ । अझै पनि सीमामा थप सुरक्षाकर्मी थप्नुपर्छ । लकडाउनको अवधिमा शहरबाट गाउँ जाने क्रम रोक्नुपर्छ । देशभर जो–जहाँ बसेपछि नेपाली नागरिक नै हुन् । यदि समस्या परेका छन् भने उनीहरूको समस्या समाधान गर्न दायित्व र कर्तव्य पनि सरकारकै हो । सरकारले सम्पूर्ण ध्यान केन्द्रित गरेर कोरोनाविरुद्धको लडाइँमा लाग्न सबै स्रोत साधन परिचालन गर्न जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस्