दर्शक नभएमा फुटबलमा चार्म घट्न सक्छ



बालगोपाल महर्जन नेपाली फुटबलमा प्रशिक्षक र खेलाडीका रुपमा दक्षिण एसियाली खेलकुदमा स्वर्णपदक विजेता हुनुहुन्छ । नेपालमै आयोजित १३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलमा महर्जनले नेपाललाई स्वर्ण दिलाउनुभयो । त्यसबेला नेपालले भुटानलाई हराएर स्वर्ण जितेको थियो । उहाँले यसअघि खेलाडीका रुपमा पनि साग फुटबलमा स्वर्ण जित्नुभएको थियो । यति मात्र होइन उहाँले नेपाललाई बंगबन्धु कपमा पनि उपाधि जित्न ठूलो भूमिका खेल्नुभएको थियो । खेलाडीमा झंै प्रशिक्षकमा समेत उहाँ सक्षम बन्नुभएको छ । प्रस्तुत छ, उहाँसँग नेपाल समाचारपत्रका लागि फिरोज राजोपाध्यायले गरेको कुराकानीको सारसंक्षेप ।

हाल लकडाउनमा के गरिरहनुभएको छ ?
लकडाउनमा घरमै व्यस्त छु । कहीँ जान मिल्दैन । खेल पनि छैन । प्रशिक्षण पनि छैन । यस अवस्थामा घरकै काममा लागेको छु । भान्छामा श्रीमतीलाई सहयोग गर्छु । बच्चाहरुका लागि पनि समय दिएको छु । एक किसिमले हेर्दा परिवारलाई समय दिन पाएको छु ।

कोरोना भाइरसका कारण खेल ठप्प छ, कहिले खेल क्षेत्रमा फर्किने सम्भावना देख्नुहुन्छ ?
खोइ केही भन्न सकिँदैन, यो भाइरस बढिरहेको छ । विश्वमै खेल बन्द भएको छ, नेपालमा पनि खेल बन्द छ । हामी त चाहन्छौं कि खेल क्षेत्रमा चाँडै नै फर्किन पाइयोस् ।

कोरोना भाइरस समाप्त भएर शुरु हुने फुटबल कस्तो होला ?
फरक हुने देखिन्छ, भाइरस समाप्त भएर खेल्दा पनि शंका त बाँकी हुन्छ । खेलाडी एक अर्काप्रति शंकाको दृष्टिले खेल्न सक्नेछन् ।

खेलाडीले मास्क लाएरै खेल्नुपर्ने हुन्छ कि ?
मास्क त लगाउन किन प¥यो र ? मलाई यो त आवश्यक जस्तो लाग्दैन । किनभने सबै जाँच गरिसकेरै मात्रै खेल्ने हो । मैदानमा सरसफाइ गर्नुपर्ने हुन्छ, खेलाडीदेखि लिएर रंगशालामा आउने सबै जनाको स्वास्थ्य परीक्षण अनिवार्य रुपमा लिनुपर्ने हुन्छ । त्यसो त युरोपियन लिगमा फेसमास्क लगाउने कुरा त उठिरहेको छ । यो पक्का छ कि पन्जा लगाएर चाहिँ खेल्नेछन् ।

खेलमा कर्नर भइहाल्छ, यसमा कसरी खेलाडीले सामाजिक दूरीको पालना गर्न सक्छ र ?
यसमा अलि खेलाडीका लागि सामाजिक दूरी कायम गर्न मुस्किल नै हुनेछ, उनीहरु एकअर्कालाई टच गरेकै हुन्छन् । यदि सामाजिक दूरी बनाएमा त्यो कर्नर किक प्रहार पनि बेस्वादकै हुनेछ । यसले फुटबलको चार्म घट्ने देखिन्छ ।

त्यसो भए दर्शक पनि सामाजिक दूरीमा रहनुपर्ने हुँदा फुटबलको चार्म त अझै घट्ला ? के अबको फुटबलमा त्यो पहिलेको वातावरणको अपेक्षा गर्न सकिँदैन ?
केही वर्षसम्म पनि भाइरसको असर भइरहने भनिरहेको छ । यसले यदि खेल शुरु भए पनि सीमित दर्शकलाई मात्र रंगशाला प्रवेश हुन्छ । यदि यस्तो भएमा फुटबलको क्रेज धेरै घट्न सक्छ । फुटबललाई चार्म बनाउने भनेको दर्शक नै हो, हामीले देखेकै छांै त लिगमा दर्शक नहुँदा राम्रो खेल पनि निरस भएको थियो । दर्शकको उपस्थितिमा त फुटबल जतिसुकै नराम्रो भए पनि रमाइलै हुन्छ । पहिलेको वातावरण आउन समय लाग्ने हो कि, यसमा केही भन्न सकिँदैन ।

खेलाडीहरु पनि बलका लागि प्रयास गर्दैनन् होला ?
यो खतरनाक भाइरसको कारण खेलाडी मात्रै होइनन्, विश्वका मै हुँ भन्ने व्यक्तिहरुसमेत डराएका छन् । खेलाडीहरु एकअर्कासँग शंकालु हुन सक्छन्, यसैले खेलमा पहिले जति मेहनत गरेर खेलेका थिए, अब त्यो जोश चाहिँ सायद कमै हुन सक्छ । मेरो विचारमा खेलको चार्म घट्ने नै देखिन्छ ।

१३औं सागको पुरस्कार रकम अहिलेसम्म नपाएको बारे केही भन्नुहुन्छ कि ?
के भन्ने अब ? देशका लागि हामीले पदक प्राप्त गरेका हौं । यही पदककै लागि सरकारले पुरस्कार रकम घोषणा गरेको हो । यस्तो पुरस्कार रकम भनेको कुनै अलमल नगरी दिनुपर्ने हो । पेस्की रकम फछ्र्यौट गर्नुपर्ने भएकाले रकम पाउन ढिलो भएको छ । अब प्रक्रिया मिलेपछि आउँछ होला ।

प्रतिक्रिया दिनुहोस्