लकडाउनले बिउ, मलको अभाव किसान मारमा



भगवती तिमल्सिना,काठमाडौं ।

यतिबेला विश्वमानै कोरोना भाईरसको संक्रमणले अर्थतन्त्र डाउन भएको अवस्थामा नेपाल पनि अछुतो छैन । नेपालमा कोरोनाको भयावह स्थिति नभए पनि त्यस्तो अवस्था नआओस भनेर सरकारले ४० दिन देखि लकडाउन गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान पनि चार्टर फ्लाईट बाहेक पूर्ण रुपमा बन्द छन् । खुल्ला सिमानाको चपेटा खेपिरहेको भारतीय सिमानाका नाकामा भने सुरक्षा व्यवस्था कडा बनाउँदा बनाउँदै पनि लुकीछिपी नेपाल भित्रने ठूलो नेपालीको संख्यासँग मिसिएर गेरुबस्त्रधारीहरु भित्रिएकै छन् ।

यसका साथै भारत सरकारसँग नेपाल सरकारले कुटनैतिक व्यवस्थापन गर्न नसक्दाका कमजोरीले लकडाउनका बाबजुद्ध पनि भारतमा रोजगारीमा गएका नेपालीहरु सिमा नाकामा आएर महिनौ सम्म कष्टकर जिवन बिताएपछि नेपाल भित्र्याउनुपर्ने बाध्यता कायमै छ । त्यसैले नेपालको लकडाउनले पूर्णता पाउन सकेको छैन ।

यतिमात्र हैन लकडाउन भनेको कुनैपनि महामारी देशमा भित्रन नदिनका लागि राज्यले अपनाउने कडा नीति हो । यस्तो अवस्थामा आम जनमानसले राज्यको नीतिको पालना गर्नुपर्ने दायित्व हुन आउँछ । तर केन्द्र सरकारले लकडाउनको घोषणा गरिरहँदा बिभिन्न क्षेत्रमा फैलिएर रहेका नेपालीहरु आर्थिक, सामाजिक, मानसिक र शारिरीक रुपमै समस्यामा परेको गुनासो थाम्न नसकेपछि स्थानिय सरकारले लकडाउनको अवधिमै सामान्य अवस्थामा झै गाउँ गाउँमा फर्काउने क्रम जारी छ ।

यो अवस्थामा अब के गाउँ के शहर देशविदेशबाट फर्किनेहरुको भिड गाउँमा छ । शहर शान्त र सुन्दर भएको खुशीमा सिमित नेताहरु काठमाडौ कुर्सीको खेल खेलेर रमीरहँदा गाउँमा अनिकालको चपेटा थपिदै गएको छ । हिजो अर्थोपार्जन, शिक्षा, रोजगारी, सुविधाको भोगचलन गर्न शहर र देश विदेश पुगेका ग्रामिण भेगका नागरिकहरुले यतिबेला गाउँ खचाखच भरिएको छ ।

भुकम्पले चर्किएका भित्ता, बुढा बाबु आमाले सकि नसकी भित्र्याएर बर्षदिनका लागि जोहो गरेको अन्नपात, गुन्द्री, सुकुल, पिर्का, चकटी, आट, आगनको छेउमा रहेका पर्खाल, मक्एिका फलैचा सबै प्रयोग भैरहेका छन् । अब यो अवस्थाले कतिदिन धान्ने भन्ने अनुमान कसैले लगाउन सक्दैन । सबैको मनमा एउटै त्रास छ हिजो कोरोना संक्रमणको डरले हप्तौ लगाएर हिडेरै भएपनि बालबच्चा, महिला केटाकेटी लिएर आफ्नै गाउँ फर्कियो ।

अब पैसा पनि छैन गाउँमा भएको उत्पादनले खान पनि पुग्दैन । कसरी बाँच्ने भन्ने चिन्ताले गाउँका हरेक घरपरिवारलाई सताएको छ । भएका जग्गा जमिन पनि अधिकांश बाजै छ । अब खोरिया फाडेर बाली लगाउँने जोश जागरत जुट्यो तर बीउ र मल कतै पाइन्न । विदेशीको सिको गर्दै थोरै रोपेर धेरै फलाउने विधि भित्रिएकै कारण लोकल बिउ बिजन गाउँमा पाउने सम्भावनै छैन । बजारमा हिजो जति प्रयोग हुन्थ्यो त्यो भन्दा बढी बिउविजन भित्रिएकै छैन । मुस्किलले पसिना काढेर बझिएको बारी खनेर पनि मकै रोप्न पाएका छैनन किसानहरुले ।

हिजो सम्म शहरमा घर छ यस्तो गाउँमा बसेर कसैले खेती गरेर खान्छ । यहाँ खेताला लगायो, बाली लगायो, खर्चमात्र हुने हो । त्यहि खर्चले चामल किनेर खान पुग्छ । शहरको घर भाडामा लगाएर शुखले खाने हो । शहरमा काम गर्यो भने दिनमा यति कमाईन्छ, कसले गर्छ गाउँमा यति थोरै ज्यालामा काम भनेर बुढा भएका बाबु आमालाई घरमा एक्लै छोडेर विदेश र शहर पसेकाहरु युवा अहिले घर भित्रिएका छन् ।

हिजो सम्म मुस्किलले दशैमा बिदेश गएझै काँधमा झोला भिरेर सुस्केरा हाल्दै गाउँ पुग्नेहरु यतिबेला काधमा कोदालो, हातमा हसिया लिएर खेतबारीमा झाडी फाँड्दै र कोदालो खन्दै छन् । तर यो क्षणिक र कोराना कहरको रहर मात्र हो । दिगो रुपमा खेतीपाती गर्ने र उतम स्थानिय बिउ विजनको प्रयोग गर्दा खासै बिषादिको आवश्यकतानै पर्दैन थियो ।

अहिले विकासे तरकारी, फलफुल, विउ बिजनको प्रयोगसँगै गाउँमा भित्रिएको रसायनिक मल, बिषादिको प्रयोग नभै उत्पादन सून्य भएको छ । यो बेला गाउँमा पुगेको जमातले काँधमा बोकेको कोदालो, हसियाको सम्मान गर्न सक्ने अवस्था कस्ले सृजना गर्ने ? यो मौकामा स्थानिय सरकारले युवा शक्तिलाई गाउँकै कृषि उत्पादनमा लगाएर उनीहरुको सीप, जोस जागरको सही सदुपयोग गर्ने योजना बनाई तत्काल लागु गर्न सक्नुपर्छ ।

गाउँका लागि कोरोनाले ल्याएको राम्रो पक्ष

गाउँमा राम्रो भनेको बर्षौ देखि बझिएका खेतबारी खनिएका छन् । घरमा लागेको लेउ पुछिएको छ । काडाको झालले छोपिएको जमिनको यथार्थता देखिएको छ र उज्यालो भएको छ । शहरको धुँवा र धुलोको मार खेपेर खुम्चिएको फोक्सोले स्वस्थ हावा पानी पाएर आफुलाई स्वस्थ महसुस गरेको छ । गाउँमा लामो समय देखि एक्लै बसेर बिरामी पर्दा पनि साथ र एउटा सिटामल पनि ल्याईदिने मान्छे नपाएका बाबु आमाले साथ पाएका छन् ।

एक आपसमा दुःख सुख बाँडेर अबको समय यहि गाउँमै बिताउन अनुनय गर्दैछन् । सन्तान टाढा हुँदा आफुले शारिरीक र मानसिक रुपमा भोगेका भोगाईलाई मनभित्रै साँचेर छोरा, छोरी, नाती, नातिनी, बुहारीले पैदलै हिडेर आउँदा खुट्टामा उठेका ठेला र बाटोमा गास, बास नपाउँदा झेलेका पिडा सुनेर अब मिठो, पिठो जे हुन्छ आफ्नै घरमा बसेर खाउँला । यो बर्ष पो दुःख होला लगाएको बाली आएपछि त खान पाईहालिन्छ नि भनेर सम्झाउँदै छन् ।

कुण्ठा

तर कति सन्तानलाई बृद्ध बाबुआमाको भनाईले तत्काललाई मन छोएको छ भने कतिलाई बाबुआमाको आग्रहले छोएको छैन् कहिले डकडाउन खुल्ला र शहर जाने भन्ने कुराले पिरली सकेको छ । गाउँमा बुढा बाबुआमाको खटनमा बसेर कसरी चल्छ जिन्दगी स्वतन्त्रता छैन । भनेजस्तो खान लाउन, रमाउन, पाइन्न । शहरको टीभी, नेट, गाडि, सिनेमा, जे भन्यो त्यहि घरमै आईपुग्ने सुख सयल भोगिसकेका बालबालिकालाई गाउँको रहनसहनबाट उकुसमुकुस भैसकेको छ ।

शुरुका दिनमा त गाउँ पुग्दा निकै रमाईलो भएकै हो । फिल्ममा देखिने दृश्यको परिकल्पना गर्दै खाली डोको बोकेर एकमुठी स्याउला, घास, दाउँरा राखेर फोटो खिचाउँदा र टीकटक बनाएर पोष्ट गर्दा आफै पिल्मको हिरो हिरोनी भएको महसुस नभएको हैन । हातमा हसिया, काँधमा कोदालो राखेर, घाँस समातेर हँयिाले काटझै र कोदालोले खनेझै गरि खिचेका फोटामा धेरै लाईक आए ।

यो अवस्था दैनिकीमा परिवर्तन हुने भएपछिको देखिएको पिडा निकै कष्टकर भैसकेको छ । शहरमा छँदा राती ढिलो सम्म फिल्म हेर्ने, पार्टी जाने, रमझम गरेर समय बिताउनेहरुका लागि अब गाउँको बसाई अत्यन्तै कष्टकर हुँदैछ । यति सम्मकी गाउँमा यतिबेला रिचार्ज कार्ड समेत पाइन्न । फिलिम हेर्ने, पार्टी गर्ने रमाउने त परै जाओस् साथीभाईलाई आफ्ना दैनिकी सुनाउन समेत पाएका छैनन् ।

अबको कष्ट बिहान सबेरै उठ, घर सफा गर, घरका मान्यजनलाई चिया पानी बनाएर देउ त्यो पनि दाउरा बालेर पकाउने, कालो भाँडा माझ्नुपर्ने, श्रीमतीका सुक्सुकाउँदा हातगोडा फुटेको, बालबच्चा धुलोमाटो खेलेर धुसे्र र फुस्रे भएर आफ्ना अगाडि आएको, आफ्ना पनि हातमा हसिया, कोदालो उठाएको ठेला र घाम र माटोले फुटेका हातखुट्टा, मुख हेरेर सबै अतालिएका छन् । शुरुका केही दिन त घर परिवारले पनि भएसम्म सक्दो मिठो चोखो दिएकै हुन् ।

आ आफ्ना गक्ष अनुसार घरमा पालेका खशी, कुखुरा, रागा, भैसी काटेर भोज गर्दा यात्राको कष्ट विर्सिएकै हो । अब ती सबै चीज पाउन सक्ने अवस्था सधै रहँदैन । आम्दानीको स्रोत चारैतिर लकडाउनले प्राय बन्द छ । यो लकडाउनले त ठूला व्यापारीलाई मात्र फाइदा पुगेको छ । जति भन्यो त्यति मूल्यमा सामान बेच्न पाईएको छ । हिजो छानी छानी लानेले आज जुन भएपनि हुन्छ बाच्नु त पर्यो भन्दै उठाएकै छन् । सरकार पनि ढुक्कै छ नेपाल भनेको काठमाडौ मात्र हो काठमाडौबाट ठूलो संख्यामा जनतालाई गाउँ पठाउन पाउँदा केन्द्र सरकारलाई निकै आनन्द भएको छ ।

तर स्थानिय सरकारलाई भने हिजो नागरिकता बनाउँदा र घरजग्गा अंशबण्डा तथा कारोबारका बेला सिफारिस लिन मात्र गाउँमा आउने जनताले कहिले खान पाइन, कहिले बिरामी परे औषधि पाईन, खेती गर्न बीउ पाइन, मल पनि छैन, आरन खुलेन, पानी पर्याप्त भएन, शहर जानुपर्यो लकडाउन कहिले खुल्छ जस्ता प्रश्न नै प्रश्न गर्दा हैरान भएको छ । तर भोली भोट नआउला भन्ने चिन्ताले पनि सकेसम्म गुनासोको सम्बोधन गर्नेतर्फ जुटेको पाइन्छ ।

लकडाउने शहरका नेतालाई नेतृत्वको गाठो कस्न र गाउँका नेतालाई जनतालाई कसरी आफ्नो गुणगान गाउने बनाउने भन्नेमा व्यस्त बनाउकै छ । नेताहरुले दुईचारकिलो चामल, खिस्रीमिस्री दिएर जनताको मन जित्ने अभिलाशाले काम देखाउने भन्दा दिगो काम दिएर गाउँमै कसरी जनशक्तिको सीप र क्षमताको कदर गर्ने भन्ने तर्फ सोचेर काम गरे पक्कै उपलब्धि हुन्छ ।

यतिबेला केन्द्र सरकारले दायाबाट सुरक्षा घेरामा टाढा टाढा कुर्सी राखेर छलफलमा समय बिताएको छ । ठोस निष्कर्ष निकाल्न नसकेर भौतारिँदै कहिले के गर्ने कहिले के गर्ने भैरहेको पाइन्छ भने स्थानिय प्रतिनिधिहरुले भने जनताका तत्कालीन समस्यालाई सम्बोधन गरि गाउँ फर्काउने देखि, कोरोनाको जोखिममा रहेकालाई होम क्वारेन्टाईनमा बसाउने, छरछिमेकीलाई अनुगमन गराउने, रिपोर्ट अध्यावधिक गर्ने र आवश्यकता अनुसारको कदम चाल्न सफल भएकै छ । यो समय भनेको संघीयतामा स्थानिय सरकारको प्रयोगात्मक परिक्षाको घडी पनि हो ।

यो समय भनेको मकै रोप्ने र धानको बिउ राख्ने बेला हो । किसानहरु मकैको बिउ, धानको बिउ, मलका लागि स्थानिय सरकारलाई घच्घच्याउँदै छन् । स्थानिय सरकार पनि काम देखाउन खोज्दै छ तर केन्द्र सरकारले व्यवस्था नगरेसम्म स्थानियले के नै गर्न सक्छर ? केन्द्र सरकारलाई किसानका खेतबारी बाँझो बस्नु, मल बिउ नपाउनुमा चिन्ता छैन, कुर्सी कसरी बचाउने र महामारीका नाममा कसरी कमाउने, आफु मातहतका ठेकेदारलाई यतिबेला ठेक्का नदिए भोलीको चुनावमा चन्दा पाइन्न । त्यसैले यतिबेला जनता जेसुकै गरुन ठेकेदारलाई खुशी पार्नैपर्छ भनेर लागेको बेला छ ।

जनतालाई सेवा दिएको नाममा कोरोना संक्रमणको परिक्षणका लागि आवश्यक उपकरण, चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकको सुरक्षाका लागि लगाउनुपर्ने ड्रेस (पिपिई), ग्लोब्स, माकस्, क्याप, चस्मा, स्यानिटाइजर जस्ता सामग्रीको खरिद र मजदुरका नाममा राहत वितरण प्याकेज बनाएर कसरी कमाउने भन्ने मै व्यस्त छ ।

सरकारको यो रवैयाकै कारण यतिबेला कतै पिडा त कतै आक्रोस पोखिएको पाइन्छ । महामारीमा पनि कमाउ धन्दामा लाग्ने व्यापारी, उद्योगी र सरकारको लज्जास्पद धन्दाले देश आक्रान्त भएको छ । जनता पिठोमा घुन पिसिदाझै पिसीएका छन् । केन्द्र सरकारले सुरक्षा निकायलाई काठमाडौमा कसैलाई पस्न नदेउ गाउँमा जति जान्छन उति हामीलाई आनन्द हुन्छ त्यसैले त्यहि अनुसारको डिउटी गर्नु भनेर खटाएको छ ।

दिनभरी शहरमा निकै कडाईका साथ निगरानी गरिएको छ भने रातपरेपछि खुल्ला रुपमा ५० देखि ६० वटा गाडि लाईन लागेर गाउँ पसिनै रहेका छन् । यो सरकारले र सुरक्षा कर्मीले देख्दैनन मिडियाकर्मीले देखेर जनता सामु सूचना पुर्याए भने बालुवाटरको घेराबार भित्र बस्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको टाउको दुख्छ । उहाँ चिच्याउन थाल्नुहुन्छ हैन सिडियो, पुलिसले नदेखेको दुश्य पत्रकारले कसरी देख्छन् ?

एकदिन अघिको फोटो राखेछन पत्रकारले मेरा आईटी विज्ञले पत्ता लगाईसके । अब त्यसरी सरकारलाई नसोधी फोटो खिच्ने र पोष्ट गर्नेको पोष्टबाटै हटाउन सक्ने क्षमता राख्ने आईटी विज्ञ नियुक्त गर्छन्,यो कस्तो विडम्बना ? किसानले मकै रोप्ने र धानको बिउ राख्ने बेला भएको छ । तर, बीउ, मल नपाएपछि किसान सरकार गुहार्न बाध्य छन् । ‘प्रमुख खाद्य बालीमै मल हाल्न नपाए उत्पादन हुँदैन, भोकमरी चल्छ,’ भन्दै सरकारलाई घच्घच्याउन किसान जुरमुराएका छन् सरकारको भने यस बिषयमा सुन्नका लागि समय नै छैन । किसानहरु भने अत्यन्तै चिन्तामा छन् ।

रासायनिक मल, बिउ, बिषादी नेपालमा उत्पादन हुँदैन । लकडाउनका समय सरकारले केही भित्र्याएकै छैन र डकडाउन पहिला भित्रिएर गोदाममा भएको बिउ, मल किसानको माग अनुरुप एकछेउ पनि धान्दैन । अब भित्रने सम्भावना पनि छैन भएकोले पुग्दैन भनेपछि गाउँमा पुगेर खेतबारी खनेर बिउ, मलको आशामा बसेका नेपालीहरुको सम्बोदन सरकारले कसरी गर्छ ? गाउँमात्र हैन यतिबेला शहरबजारमा घडेरी किनेकाहरुले पनि लकडाउनले खाद्यान्नको अभाव हुन्छ ।

बाहिरबाट आवश्यकता अनुसारको खाद्यान्न आउँदैन भनेर घडेरीमै भएपनि मकै, भट्मास, सिमी, फर्सी, करेला, बोडी लगाउन थालेका छन् । यो आधारमा पनि विगतका बर्षमा भन्दा बिउ बिजन र मलको खपत बढ्ने देखिन्छ । मानिसले लकडाउनको फुर्सदको समयलाई करेसा बारीमा पनि तरकारी, मकै लगाउन तर्फ लागेका छन् । यतिबेला शहरबजारका प्लटिङ, बझिएका खेतबारी, घडेरि पुरै खनेर मकै, धान रोप्नका लागि तयारी अवस्थामा राखेका छन् ।

बिउ र मल नपाएर खनिएका खेतबारी पुनःबाझिने अवस्था छ । यो श्रम, मेहनतको कदर गरेर सरकारले समयमै बिउ, मल उपलब्ध गराई नेपाललाई नेपालकै उत्पादनमा निर्भर बनाउने सोच बनाउनु बुद्धिमानी हुनेथियो । यस्तै बीउ, बिजन, मल, जनशक्ति, उत्पादनको बजार नपाउँने समस्याका कारण कृषिप्रधान देश नेपालका जमिन बाँझो हुँदै गएका हुन् । सरकारले किसानका बिषयमा कहिले सोच्ने ? किसान जहिले मारमा परिरहेका छन् ।

किसानले उत्पादन गरेको कृषिजन्य बस्तुहरुको बजार नपाउँदा ठेकेदारमा निर्भर हुँन बाध्य छन् । ठेकेदारले योबर्षको उत्पादन उठायो भने अर्को बर्षको उत्पादन उठाउँदा मात्र भुक्तानी गर्छ । किसान बाध्य छन् एउटै ठेकेदारलाई एक बर्ष उधारोमा उत्पादन बेच्न । यदि अर्को बर्ष दिएन भने पहिलो बर्षको रकम नपाउने डरमा पुन उसैलाई दिन बाध्य छन् । सरकारले किसानको समस्याको सम्बोधन गरेको खोई ? किसान जहिले मारमा पर्न नदिन यस बिषयमा सरकारले सोच्नुपर्छ । किसान धनी भए भने सरकार पनि धनी हुन्छ ।

किसानलाई समयमा बिउ मल उपलब्ध नगराउँदा उत्पादन घट्छ र आयात बढ्छ । यसले देशको आर्थिक वृद्धिमा समेत ठूलो असर पर्ने कृषि विज्ञहरुको ठम्याईछ । खेति किसानीमै मात्र निर्भर हुनुपर्ने किसानहरुको पक्षमा सरकारले कहिले सोच्ने ? उस्को आय आर्जनको स्रोत नै कृषि हो र जिविकोपार्जनका लागि बैकल्पिक उपाय केही छैन । यस्ता किसानलाई सरकारले प्रोत्साहन गर्नुको सट्टा निराश बनाएर थप गरिबी निम्तीने अवस्थाका बारेमा सरकारले समयमै ध्यान देओस् ।

किसान बिउ, मल नपाएर छटपटाहटमा छ कृषि तथा पशुपंक्षी मन्त्रालय देशभित्र अहिले ६० हजार टन युरिया, ५५ हजार टन डिएपी र ७ हजार ७ सय टन पोटास गोदाममा स्टक रहेको तथ्यांक देखाउँदै बसेको छ । मन्त्रालयमा रहेको मलले किसानको माग अनुसार नपुग्ने विज्ञहरुको ठम्याई छ । कृषि तथा पशुपंक्षी मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसी भने गोदाममा स्टक रहेको मलले असार मसान्ता सम्म पुग्ने दाबी गर्नुहुन्छ ।

प्रवक्ता केसी भन्नुहुन्छ—स्टकमा रहेको मलको आकलन गर्दा किसानले मकै र धानमा बढी मात्रामा प्रयोग गर्ने नै युरिया मल हो यतिले माग अनुसार आपूर्ति गर्न सकिन्न । नेपालमा प्रतिवर्ष ६ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ, जसमध्ये सबैभन्दा बढी माग युरियाको हुने गर्छ । किसाललाई मलको अभाव हुन नदिन मन्त्रालयले स्टक बाहेक ७१ हजार टन युरिया र ५० हजार टन डिएपी मगाएको भएपनि २५ हजार टन ओमानबाट आई लकडाउनको कारण कलकत्तामा रोकिएको छ । लकडाउन खुलेको एक महिना भित्र नेपाल आईपुग्छ ।

चालु आर्थिक वर्षमा गोदाममा स्टक बाहेक १ लाख ९३ हजार टन युरिया १ लाख १० हजार टन डिएपी र १० हजार टन पोटास नेपाल भित्रिएको थियो ।
सरकारले मौखिक रुपमा भने अभिमुखीकरण कार्यक्रम अन्तर्गत ६९ हजार हेक्टर जमीन कृषिका लागि प्रयोग गरिने भएकै कारण रासायनिक मलमा किसानलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउने समेत प्रतिवद्धता गरेको छ । तर व्यवहारमा भने किसानहरु खेतीबाली लगाउने बेलामा जहिले भौतारिनुपर्ने अवस्था कायमै छ । किसानको हितमा सरकारले ध्यान दिनुजरुरी छ ।

सरकारले किसानलाई ध्यान नदिए अर्थतन्त्रमा ठूलो असर पर्छ र देशमा खाद्यबस्तुको अभावका साथै भोकमरीको स्थिति निम्तिन सक्छ । कृषि प्रदान देश नेपालको कुल ग्राहस्थ उत्पादनमा २७ प्रतिशत कृषि क्षेत्रले योगदान गर्दै आएको छ । त्यसमा पनि कृषिको कुल ग्राहस्थ उत्पादनमा २१ प्रतिशत धानबाली उत्पादनले ओगटेको छ । नेपालको कुल जनसंख्यमा ८० प्रतिशत जनता ग्रामिण भेगमा नै बसोबास गर्छन् । यो जनसंख्या कृषिमा निर्भर भै दैनिक गुजारा चलाउँदै आएको छ । नेपालको कुल जनसंख्याको ६५ प्रतिशतलाई प्रत्यक्ष या अप्रत्यक्ष रुपमा रोजगारी दिएकै छ ।

नेपाल एउटा भूपरिवेष्टित मुलुक हो । यहाँ हिमाल, पहाड, तराई फरक फरक खालको भूभाग रहेको छ । नेपालको कुल भूभागको २० प्रतिशत जमीन मात्रै खेतीयोग्य जमिन रहेको पनि कृषिको तथ्यांकले देखाउँछ । यस्तो अवस्थामा सरकारले किसानको माग र क्षमताको कदर गर्दै आवश्यकता अनुसारको कृषि बिउ, विजन, मल, प्राविधिकहरु किसानको घरआगनमै पुर्याएर प्रोत्साहन गर्नुपर्ने विज्ञहरु बताउँछन् ।

सरकारले चालु आर्थिक वर्ष २०७६।०७७ मा प्रधानमन्त्री कृषि अभिमुखीकरण कार्यक्रम विस्तारका लागि करिब ९ अर्ब रुपैयाँ छुट्याएको छ । यो कहाँ र कसरी प्रयोग भएको छ वास्तविक किसानलाई थाहा सम्म छैन । समयमा बिउ मल नै उपलब्ध गराउन नसक्ने भएका कारण विश्व खाद्य कार्यक्रमले पनि कोरोना भाइरसको महामारीका कारण उत्पादन र आपूर्तिमा समस्या भइ खाद्य संकट आउन सक्ने चेतावनी दिइसकेको छ ।

सरकारको ध्यान यतातर्फ गएकै छैन । छिमेकी मुलुक भारत र चीनका किसानले सिजन अनुसारको मल र बिउ पाएनौ भनेर सरकारको ध्यानाकर्षण गराउनुपर्दैन सरकारले नै पूर्व योजना बनाई प्रत्येक बर्ष घरपाइकका क्षेत्रमा आवश्यकता अनुसारको बिउ, विजन र मल समयमै पुर्याउँछ । नेपालमा भने कहिले भूकम्प, कहिले नाकाबन्दी, कहिले बाढी पैरो त कहिले कोरोनाको बहानाले किसानलाई झुक्याउने काम सरकारबाटै भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्