निजी क्षेत्रले माग्यो विद्युत्मा २० प्रतिशत छुट



नेपाल समाचारपत्र, काठमाडौं

उद्योगी व्यवसायीहरूले कोरोना संकटमा उद्योग व्यवसायलाई दुई वर्षसम्मका लागि विद्युत्मा २० प्रतिशत छुट दिन माग गरेका छन् । निजी क्षेत्रका तीनवटै संगठन नेपाल उद्योग वाणिज्य महासंघका, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग भेट गरी सो माग गरेका हुन् ।

त्यसक्रममा निजी क्षेत्रका तर्फबाट अहिले उद्योगहरू बन्द रहेका र उनीहरुले विद्युत् प्रयोग समेत नगरेकाले विद्युत प्राधिकरणले कम्तिमा चार महिनाका लागि डिमान्ड चार्ज छुट दिनसमेत मन्त्री पुनसमक्ष आग्रह गरेका छन् । साथै बक्यौता महशुल तिर्न चार महिनाको अवधि दिइनुपर्ने र उक्त अवधिका लागि जरिवानासमेत नलिन आग्रह गरिएको छ ।

विभिन्न जिल्लामा निर्माण भइरहेका जलविद्युत आयोजनाको निर्माणमा विभिन्न बाहनामा अवरोध हुंँदै आएकाले निर्माण कार्यलाई निरन्तरता दिन स्थानीयस्तरमा समन्वय गरी सहयोग गर्न पनि आग्रह गरिएको थियो । संकटको अवस्थामा उद्योग व्यवसायसहित समग्र अर्थतन्त्रको पुनरुत्थानका लागि मौद्रिक, श्रम तथा रोजगार, विद्युत् क्षेत्रमा आवश्यक नीतिगत सुधारका लागि सुझाव तयार गरी सरकारका विभिन्न निकायमा बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्