अन्योलमा अनलाइन कक्षा



कोरोना भाइरसको महामारीबाट बच्न सरकारले लकडाउन गरेको डेढ महिना पुग्न लाग्दै छ । त्यसको एक साता अघिदेखि बन्द गरिएका शिक्षालयहरूसँग आबद्ध विद्यार्थी सर्वाधिक प्रभावित भएका छन् । चैत ६ गतेबाट बन्द शिक्षालयका कारण परेको असर समीक्षा गर्ने बेला भएको छ । लकडाउनका कारण एसईई र कक्षा ११ र १२ को परीक्षा स्थगित भएकाले सिर्जित अन्योल एकातिर छ भने यस प्रकारको अवस्था कहिले अन्त्य हुने भन्ने परिदृश्य पनि प्रस्ट छैन ।

सरकारले परीक्षा क्यालेन्डर बिग्रन नदिन अनलाइन पढाइ शुरू गर्न सबै विश्वविद्यालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, निजी विद्यालयको छाता संगठन प्याब्सन, एनप्याब्सनलगायतलाई आह्वान गरिसकेको छ । कतिले त अनलाइन कक्षा सञ्चालन गर्न थालि पनि सकेका छन् । माध्यमिक शिक्षाको जिम्मा लिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सरकारी विद्यालयमा अनलाइनमार्फत पढाइ शुरू गर्न पोर्टल तयार गरिसकेको जनाएको छ । तर, कसरी पढाइ शुरू गर्ने भन्ने विषयमा कुनै निर्णय गरेको छैन ।

हतारमा सबै संस्थाले अनलाइन शिक्षा भनेर रटान गरे तापनि बिनायोजना तयार गरेकाले कसरी पढाइ सञ्चालन गर्ने भन्ने विषय अन्योल छ । लकडाउन भएपछि बिदामा घर गएका विद्यार्थीलाई कसरी सम्पर्क गर्ने– कुनै निश्चित छैन । दूर दराजमा इन्टरनेटको अभाव रहेका विद्यालयमा कसरी अनलाइन कक्षा सञ्चालन हुन सक्छ ? विद्यार्थीको हातमा मोबाइल, ल्यापटप, ई–प्याडलगायत डिभाइसको व्यवस्थापन कसरी गर्ने ? लकडाउनका कारण महिनौंसम्म विद्यालय बन्द हुन सक्ने भएपछि शुरू गरेको अनलाइन शिक्षा प्रणालीको योजनासहित विकास गर्ने सरकारी लक्ष्य छ । अहिले शुरू गरेपछि दुई वर्षमा मुलुकको शिक्षा सूचना र प्रविधियुक्त हुने तर्क सरकारको छ । तर, सो तर्कले काम गर्छ कि गर्दैन हेर्न केही समय कुर्नैपर्ने हुन्छ ।

करिब ७५ लाख विद्यार्थीलाई अनलाइनको माध्यमबाट पढाइ शुरू गर्ने सरकारको तयारीलाई अनुचित भन्न मिल्दैन । तर, कसरी सम्भव छ भन्ने विषयमा सरकारले कुनै उत्तर दिन सकेको छैन । सरकारी अधिकारीहरूको भनाइ सुन्ने हो भने केही समय विद्यार्थीको मन बहलाउन र पढाइको वातावरण स्थापित गराउन मात्र अनलाइन कक्षा सञ्चालन गर्न लागिएको हो । सरकारको निर्णयपछि त्रिभुवन विश्वविद्यालयले त गएको आइतबार अनलाइन कक्षा सञ्चालनसम्बन्धी निर्देशिका–२०७७ जारी ग¥यो ।

त्रिविले सबै डीनको कार्यालय, संकाय र क्याम्पसलाई परिपत्र गर्दै आगामी सातादेखि नै अनलाइनका माध्यमबाट कक्षा सञ्चालनको तयारी गर्न निर्देशन दियो । विश्वविद्यालयले अनलाइनका माध्यमबाट सैद्धान्तिक कक्षा सञ्चालन गर्ने निर्णय लियो । केही संकायले त गएको चैत १० गतेदेखि यो प्रक्रिया शुरू गरिसकेका छन् । त्रिविले अनलाइन कक्षाको ‘क्रेडिट आवर’ जोडी हाजिरीसमेत राख्ने गरी योजना बताएको छ । यसअघि अनलाइन कक्षा सञ्चालन नभएका कलेजहरूमा भने आगामी सातादेखि नै कक्षा सञ्चालन गर्ने गरी तयारी भएको छ । अन्य विश्वद्यालयले अनलाइन कक्षा शुरू गरिसकेका छन् । यसरी हेर्दा ‘हेर्दै जाऊँ’ भन्ने मानसिकताले अनलाइन कक्षा अवधारणा अघि बढेको छ । यसमा ठोस व्यवस्थापन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्