आफ्नो क्षमता चिन्नुहोस्



प्रेम रावत

हामीले जीवित रहुन्जेलसम्म निराश हुनु आवश्यक छैन । मानिसको वास्तविक क्षमता नै आफूले आपैmँलाई चिन्ने र आफ्नो हृदयलाई शान्तिले भरिपूर्ण तुल्याउने हो । यदि तपाईं आफ्नो जीवनमा कुनै पनि कारणले असफल हुनुभएको छ भने त्यो असफलतालाई कहिल्यै पनि स्वीकार नगर्नुहोस् । तपाईं बाल्यकालमा तातेताते गर्नका लागि कोशिश गरिरहँदा कैयौँपटक हिँड्ने प्रयास गर्दै उठ्नुहुन्थ्यो अनि लडिहाल्नुहुन्थ्यो । तर तपाईंले हिँड्न नसिकुन्जेसम्म त्यो असफलतालाई पटक्कै स्वीकार गर्नुभएन । फलतः तपाईंले हिँड्न सिक्नुभयो । आफूमाथि विश्वास राखेर आफ्नै क्षमताको सहाराले अघि बढ्ने मानिसलाई अवश्य पनि सफलता प्राप्त हुन्छ ।

हामीभित्र श्वास आइरहेको कारणले नै यो सामथ्र्य पनि छ । अर्थात्, हामी जीवित छौँ । यो कुरालाई सामान्य नठान्नुहोस् । सबैभन्दा महत्वपूर्ण कुरा त के हो भने, वास्तवमा जीवित हुनाले नै मानिसमा क्षमता छ । तपाईंलाई यो वास्तविकता बोध भएपछि तपाईं कति शक्तिशाली हुनुहुन्छ र तपाईंको साँचो क्षमता के हो भन्ने कुरा थाहा हुनेछ । तपाईंलाई सृष्टिकर्ताले उपहारका रूपमा त्यो क्षमता दिएका छन् ।

एकपटक एकजना राजाले आफ्ना मालीलाई बोलाएर भनेछन्, ‘पहाडमाथिको मेरो महलमा एउटा एकदमै सुन्दर बगैँचाको निर्माण गरिदेऊ ।’ राजाको आदेशलाई मानेर माली बगैँचाको निर्माणतर्पm जुटे । पहाडको फेदमा एउटा नदी थियो । ती माली दुईवटा ठूला–ठूला गाग्रालाई काँधमा अघि–पछि पारेर बोक्दै हरेक दिन तल नदीमा पानी भर्न जान्थे अनि बल्लतल्ल महलसम्म पुगेर आफूले तयार पारेको बगैँचामा पानी लगाउने गर्थे ।

निकै समय यही क्रमअनुसार बित्दै गयो । एकदिन दुईवटा गाग्रामध्ये पछाडितिरको गाग्रो कुनै चीजसँग ठोक्किएर त्यसमा प्वाल पर्न पुग्यो । सधैँ ती माली पहाडबाट तल झर्थे । दुवै गाग्रामा पानी भर्दथे । उनी महलसम्म आइपुग्दा अगाडिको गाग्रोमा त पानी भरी नै हुन्थ्यो तर पछाडिको गाग्रो भने चुहिएर रित्तो भइसक्थ्यो ।

एकदिन अगाडिको गाग्रोले पछाडिको गाग्रोलाई भन्यो, ‘तिमी त अब कुनै कामका लागि लायक नै छैनौ । तिमी त प्वाल परिसक्यौ । मेरो कारणले राजाको बगैँचा यति धेरै हराभरा भएको छ, किनभने मैले मात्रै पानीलाई यहाँसम्म ल्याइपु¥याउँछु । तिमीमा त यहाँसम्म आइपुग्दाओर्दा एक थोपा पनि पानी बाँकी रहँदैन । अब तिमी बेकम्मा भइसक्यौ ।’

पछाडिको गाग्रोले आफू कुनै कामको लायक नरहेको भन्ने लाञ्छना सुनेपछि उसलाई अत्यन्तै दुःख लाग्यो । अर्काे दिन माली आए । दुवै गाग्रातिर नजर लगाए । उनलाई पछाडितिरको गाग्रो निकै उदास भएको महसुस भयो । त्यसपछि मालीले सोधे– ‘तिमीलाई के भयो, किन उदास छौ ?’
अनि त्यो गाग्रोले भन्यो, ‘अगाडिको गाग्रोले त म अब कुनै कामको लायक नै छैन रे

भन्छ ! तपाईं बिहान–बिहानै पानी भर्नुभएर बगैँचामा आइपुग्नुहुँदा अगाडिको गाग्रोमा त पानी भरी नै हुन्छ तर ममा त प्वाल परेको छ । एक थोपा पनि पानी बाँकी रहँदैन । अगाडिको गाग्रोको भनाइ के छ भने, उनकै कारणले नै यो बगैँचा हराभरा भएको छ । मेरो कारणले त केही हुन सक्दैन ।’

मालीले हाँस्दै भने, ‘तिमी यो रहस्य बुझ्दैनौ । तिमीमा प्वाल भएको थाहा हुँदाहँदै पनि मैले तिमीलाई फ्याँकिन । मैले तिमीलाई सधैँ तल लगेर तिमीमा पनि पानी भर्छु र माथिसम्म ल्याउँछु । अँ, यो कुरा त ठिक्कै हो जति पनि बगैँचा हराभरा भएको छ, बगैँचाको हरियाली छ, त्यो त अगाडिको गाग्रोको कारणले नै भएको छ तर के तिमीले देखेका छैनौ ?

त्यो नदीबाट माथि बगैँचासम्मका जाने बाटोको किनारमा जति पनि थरी–थरीका फूलहरू फुलिरहेका छन्, ती तिम्रै कारणले त फुलेका हुन् । तिनीहरू सबैले तिम्रो कारणले नै पानी पाउँछन् । अर्कोको कारणले त केवल एउटा मात्रै बगैँचा हराभरा भएको छ तर तिम्रो कारणले त बाटाभरि– त्यो नदीदेखि लिएर बगैँचासम्मको क्षेत्र आज हराभरा छ । किनभने, तिनीहरूले तिम्रै कारणले पानी पाएका छन् ।’

यो कुरा सुनेपछि त्यो गाग्रो असाध्यै खुशी भयो । ऊ अभैm पनि काम लाग्ने चीज भएको कुरा उसलाई थाहा भयो ! हो, उसले राजाको बगैँचामा त सिँचाइ गर्न सकेन तर उसले त्यस बाटोमा यस्तो सुन्दर बगैँचा बनायो– जुन बाटोबाट सारा मानिस ओहोरदोहोर गर्ने गर्छन् । ती सबैले फूलको सुगन्ध लिन पाउँछन् ।
यसर्थ, चाहे जस्तोसुकै परिस्थिति होओस्, कहिल्यै पनि आफूलाई कमजोर ठान्न आवश्यक छैन ।

जीवनमा हरेकको आफ्नै महत्व हुन्छ । सबैभन्दा महत्वपूर्ण कुरा त हामी जीवित रहुन्जेलसम्म जीवित भएका कारणले नै हामीमा अनन्त सम्भावनाहरू हुन्छन् । जीवनमा चाहे जतिसुकै कठिनाइहरू आऊन् तर आफ्नो दक्षतालाई चिनेर अघि बढ्ने मानिसलाई जीवनको हरेक क्षेत्रमा अवश्य पनि सफलता हात लाग्छ । यस्ता मानिसहरू कठिन समयमा पनि निराश हुँदैनन् ।

हामीले हाम्रो क्षमतालाई बिर्सेका छौँ । हामी को हौँ भन्ने कुरालाई हामी बिर्सन्छौँ । हामीभित्र भएको करुणालाई हामी बिर्सन्छौँ । हामीभित्र भएको लगनशीलतालाई हामी बिर्सन्छौँ । हामी आफूभित्र भएको दयालाई बिर्सन्छौँ । हामी आफूभित्र भएको आनन्दलाई बिर्सन्छौँ । हामी एउटा मानव के हो भन्ने कुरालाई नै बिर्सन्छौँ ।

मानिसको बारेमा कुरा नगरी तपाईं शान्तिको बारेमा कुरा गर्न सक्नुहुन्न । किनकि, शान्ति त मानिसको हृदयमा नाचिरहेको हुन्छ ।
मलाई थाहा छ, अहिले मानिसहरू भन्छन्, ‘ओहो, मानिसहरू त खराब हुन्छन् । हेर्नुहोस् त तिनीहरूले के गरिरहेका छन् ! तिनीहरू त एक–अर्कालाई मारिरहेका छन्, एक–अर्कालाई आतङ्कित तुल्याइरहेका छन्, एक–अर्कालाई त्रसित पारिरहेका छन् । त्यो त मानिसको स्वभाव होइन ।’

यस संसारमा धेरै असल कुराहरू छन् । यस संसारमा धेरै दयालु छन् । यस संसारमा धेरै उदारता छ । यो मानिसको वास्तविक स्वभाव हो, यो तपाईंको साँचो स्वभाव हो । तपाईंको स्वभाव हो– शान्तिलाई अगाध प्रेम गर्नु, शान्ति चाहनु, तृप्त हुनु । यो भनिरहनुपर्ने कुरा नै होइन । साँच्चै नै यस पृथ्वीमा एउटा स्वर्गलाई स्थापना गर्न सकिन्छ ।

मानिसहरूले कुरा गर्ने गर्छन्, मरेपछि के उनीहरू स्वर्ग जान्छन् ? त्यस सुन्दर स्वर्गको एउटा सानो समस्या छ । त्यस स्वर्गमा पुग्नका लागि तपाईंले मर्नुपर्छ । तपाईं जिउँदो हुँदैमा किन त्यो अनुभवद्वारा त्यो स्वर्गको स्थापना नगर्ने ? तपाईं जिउँदो हुँदै, तपाईं यहीँ हुँदै ?

मानिसहरूले भन्ने गर्छन्, ‘हेर्नुहोस् त कति मानिस भोकै छन् ?’ किन ? तपाईंले कहिल्यै मानिसहरू किन भोकै हुन्छन् भनेर विचार गर्नुभएको छ ? के यसको मूल कारण खानेकुराको अभाव हो ? होइन ! चालीस प्रतिशत उत्पादित खाद्यान्नलाई खेर फालिन्छ । यसलाई फ्याँकिन्छ । यो उपभोगको लागि उपयुक्त छैन भनेर फालिन्छ । यस संसारका हरेक व्यक्तिलाई खुवाउन चाहिनेभन्दा पनि बढी खानेकुरा छ ।

मानिसहरूले भन्ने गर्छन्, ‘मानिसहरूलाई चाहिने स्वच्छ पानी छैन ।’ संसारमा प्रशस्त मात्रामा पानी छ । मलाई विश्वास गर्नुहोस्, प्रशस्त मात्रामा पानी छ तर पानीलाई कसले फोहोर बनाउँछ ? हामीले बनाउँछौँ । हाम्रो आफ्नो वास्तविक स्वभावलाई बुझ्ने, हाम्रो त्यो शक्तिलाई बुझ्ने कुरा हामीमा नै निर्भर छ । यदि हामी त्यो शान्तिलाई प्राप्त गर्न चाहन्छौँ भने त्यो शान्तिलाई हामी प्राप्त गर्न सक्छौँ ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्