तिमीले दिएको संस्कार भुल्दिन, आमा!



नारायण खनाल 

मालारानी-3,अर्घाखाँची

आमा !
तिमी पृथ्वी
तिमी धरातल
त्यो दिन ,जब म रोएँ
तिमी मुस्कुरायौ रे
त्यही मात्र एकदिन
म जन्मिएको दिन
बाँकी दिन त
तिमी मेरो खुसीमा हाँस्छ्यौ
पिडामा रुन्छ्यौ
मेरा क्रन्दनमा बगेका
तिम्रा आँसुको सागर
बनाएको भए
नयाँ महासागर बन्ने थियोे ।

म फुल्नुमा
तिम्रा पिडाका सगरमाथाको
जति हात छ
त्यति नै ममताको साथ पनि
मेरो चाहनाको निम्ति
तिमी राप र ताप सहन्छ्यौ
त्यही भएर होला भगवानले
आफ्नो सट्टा मेरो निम्ति
तिम्रो काख पठाइदिएको ।

के भनेर पुकारौँ
तिम्रो त्यागलाई अामा !
शब्दमा जोखिँदैन त्यो त्याग
जुन त्यागले सन्तान पूर्ण बन्छ।

तिमी अौषधि
तिमी दिप
तिमी पिडाकि सारथि
तिमी सहनशीला ।

बिचित्र तिम्रो माया
म खाएर अघाएँ भने
तिमी भोकै अघाउने
आफ्नो समर्पणका
बहिखाता देखाएर
कहिल्यै नतर्साउने ।

मलाई डर लाग्छ
तिम्रो काखमा
स्वर्गीय आनन्द पाएको म
तिम्रो निम्ति
बिझाउने सिस्नो बन्छु कि
त्यही तिम्रो बोलिले हुर्केको म
तिम्रो आवाज कर्कस मान्छु कि
अनि ,मेरो बचनले
तिम्रो दिलमा
घाउ बनाउँछ कि
यसैले मलाई पिरोल्छ आमा !

तर आमा !
म प्रण गर्छु
तिमीले दिएको संस्कार
कहिल्यै भुल्ने छैन ।
तिम्रो अनुहारमा खुसी हेर्न म
तिमीले दिएको संस्कार
ब्यबहारमा उतार्ने छु।

काल सँग
सन्तानको साटो
आफै जान माग्नुबाटै
तिम्रो सन्तान प्रतिको माया
बुझेको छु ,आमा
त्यसैले त
तिमीले दिएको संस्कार
कहिल्यै भुल्ने छैन ,आमा !
कहिल्यै भुल्ने छैन ।

 

प्रतिक्रिया दिनुहोस्