सीमा व्यवस्थापन



नेपालमा एकै दिन १४ जना कोरोना भाइरस संक्रमित देखिएपछि स्थिति भयावह हुने हो कि भन्ने आशंका बढेको छ । लामो समयसम्म संक्रमित व्यक्ति फाट्टफुट्ट मात्र देखिएको अवस्थामा एकै दिन १४ जनामा कोरोना भाइरस देखिएपछि जनतामा केही मात्रामा त्रास बढ्नु स्वाभाविकै हो । उदयपुरमा १२ र चितवनमा २ गरी शुक्रबार मात्र १४ जना कोरोना भाइरस संक्रमित भएको राज्यका निकायले नै पुष्टि गरेपछि नेपालमा यसको संख्या ३० पुगेको छ । यस्तो संख्या बढ्दै गएमा निश्चय पनि नेपालका लागि अब झन् दुःखका दिन नआउला भन्न सकिन्न । नेपालमा कोरोना भाइरसको संक्रमणको संख्या लामो समयसम्म स्थिर रहेका कारण केही मात्रामा उत्साह बढेको भए पनि एकै दिन ठूलो संख्यामा संक्रमित फेला परेपछि सो उत्साह सिथिल भएको छ ।

उदयपुर नगरपालिका वडा नम्बर ३ को भुल्केस्थित मस्जिदमा १२ जना संक्रमित अवस्थामा फेला परेपछि स्थानीय ठाउँलगायत देशमा नै केही अप्ठेरो स्थिति देखा परेको छ । निश्चय पनि मस्जिद भनेका बढी मान्छे आउजाउ हुने ठाउँ हो । देशमा लकडाउनको स्थिति भएपनि लुकीछिपी वा खुलेआम मन्दिर, मस्जिदलगायतका ठाउँमा मान्छेहरु गइरहेका छन् । ती १२ जना कहाँबाट आएका हुन्, उनीहरु कहिले देखि त्यहाँ बस्दै आएका छन्, को कोसँग उनीहरुको भेटघाट भयो भन्ने बारेमा उति नै बेला थाहा हुने विषय होइन ।

उनीहरु भारतबाट आई त्यहाँ बसेका भनी प्रारम्भिकरुपमा बताइएको भए पनि उनीहरुको यथार्थ विवरण आइनसकेको सम्बन्धित निकायको भनाइ रहेको छ । ती १२ जनामध्ये प्रत्येकले कस–कसलाई भेट गरे, प्रत्येक दिन उनीहरु कहाँ–कहाँ गए भन्ने बारेमा नालीबेली पत्ता लगाउन विशेष अनुसन्धान टोली नै गठन गर्नुपर्ने देखिएको छ । पछिल्लो पटक देखापरेका संक्रमितको बारेमा सोधखोज गर्नुपर्ने गरी अब राज्यको दायित्व थपिएको छ । राज्यले स्रोत साधन बढाउँदै लानुपर्ने भएको छ । पहिले जति रफ्तारमा सरकारले काम हुने गरेको थियो सो रफ्तारले अब नपुग्ने भएको छ । जोखिमलाई नियन्त्रण गर्नका लागि संघ, प्रदेश र स्थानीय तहले विशेष कदम चाल्नुपर्नेछ ।

यो विषय प्रदेश १ को जिम्मेवारीभित्र पर्छ भनेर संघीय सरकारले पन्छिन मिल्दैन । अनुसन्धान गरी संक्रमण नियन्त्रण गर्नका लागि संघीय सरकारले साधन, स्रोत तथा जनशक्ति उचितरुपमा परिचालन गर्नको लागि ढिलाइ गर्न हुँदैन । प्रदेश सरकारसँग समन्वय गरी चिकित्सक, औषधीको सामग्री तथा अनुसन्धान गर्ने टोलीलाई यथासक्य चाँडो परिचालन गरी हाल्नुपर्दछ ।

ती १२ जनासँग सम्पर्कमा आएकाले पनि चाँडोभन्दा चाँडो पत्ता लगाई थप संक्रमण हुन नदिन सरकारको महŒवपूर्ण दायित्वभित्र पर्दछ । साथै मस्जिदमा जानेहरु स्वयं उपस्थित भई आफ्नो स्वास्थ्य परीक्षण गर्ने जिम्मेवारी पनि सम्बन्धित पक्षको हो । भारतसँगको खुला सिमानाको दुरुपयोग गर्दै नेपाल प्रवेश गर्ने अनि लुकेर बस्ने यस्तो समूह सबैका लागि चुनौती हुन्छन् । सीमा व्यवस्थापन आजको मुख्य चुनौती बन्नपुगेको यस घटनाले प्रमाणित गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्