सुरक्षा र शैक्षिक चिन्ता



राष्ट्रिय परीक्षा बोर्डले लकडाउन सकिएलगत्तै एसईईको परीक्षा लिने तयारी थालेको छ । विश्वभर महामारीको रूप लिइरहेको कोभिड–१९ बाट बच्न उपाय अवलम्बन गर्ने विषयमा सोच्नुको साटो बोर्डले एक्कासि लकडाउनलगत्तै परीक्षा लिने तयारी थालेपछि लकडाउन अवधिमा घरमा बसिरहेका विद्यार्थी भने झस्किएका छन् । बोर्डले परीक्षाको तयारी थालेलगत्तै टीकाटिप्पणी आउन थालेका छ । कोरोनाबाट बच्चे उपाय अवलम्बन गर्नुको साटो परीक्षा सञ्चालन गर्ने तयारी थाल्नु गलत विचार भएको तर्क सरोकारवालाहरूको छ ।

बोर्डले होम सेन्टर नगरी घर पायक केन्द्र तय गरी परीक्षा सञ्चालन गर्न गृहकार्य शुरू गरिसकेको छ । बिहान एसईई र दिउँसो कक्षा १२ को परीक्षा लिनेगरी गृहकार्य शुरू गरेको विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग छलफल शुरू भएको छ । शैक्षिक क्षेत्रलाई लकडाउनले पारेको असरका बारेमा चिन्ता व्यक्त गर्नु स्वाभाविक हो, तर यसबीच विद्यार्थीमा विकसित मानसिक तनाबलाई बिर्सन मिल्दैन ।

परीक्षा स्थगित भएको कारण विद्यार्थीमा मानसिक तनाव कायम छ । तर जनताको स्वास्थ्यभन्दा अरू विषय गौण भएको कारण सरकारले सबै तहको परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको सन्दर्भ यति छिट्टै सकिएको छैन । करिब पाँच लाख विद्यार्थी सहभागी हुने एसईई र करिब ९ लाख विद्यार्थी सहभागी हुने कक्षा १२ र ११ को परीक्षा अनिश्चित कालका लागि स्थगित भएपछि परीक्षा बोर्डलाई समस्या पर्नु स्वाभाविकै हो ।

तर, हतार गरेर काम बन्ने अवस्था देखिन्न । बोर्डका अधिकारीले परीक्षा स्थगित भएको कारण प्रश्नपत्र जोगाउनै समस्या बताउँदै आएको सन्दर्भ पनि यहाँ स्मरणीय छ । बोर्डले एसईईको प्र्र्रश्नपत्र जिल्ला प्रहरी कार्यालयमा सुरक्षित राखेको जनाएको छ । कक्षा र ११ र १२ को प्रश्नपत्र जनक शिक्षा सामग्री केन्द्रको सुरक्षण मुद्रणालयमा राखिएको छ ।

बोर्डले गएको मंगलबार विज्ञसँग छलफल गरी लकडाउनलगत्तै परीक्षा सञ्चालन गर्न प्रक्रिया शुरू गरिसकेको छ । त्यसका लागि सबै शिक्षा समन्वय एकाइ र प्रदेश परीक्षा कार्यालयमा पायक पर्ने विद्यालयमा केन्द्र कायम गर्ने भनिएको छ । अहिलेको अवस्थामा हतारिएर परीक्षा लिनुभन्दा पनि लकडाउन खुकुलो भएर विद्यालय खुलेपछि लिनु उचित देखिन्छ । अहिले बोर्डको मात्रै परीक्षा स्थगित भएको पक्कै होइन ।

सबै विश्वविद्यालय तहको परीक्षा स्थगित भएको छ । यहाँसम्म कि विद्यालय तह (१–९)को परीक्षाफलसमेत प्रकाशित हुन सकेको छैन । कक्षा १ मा भर्ना हुने सबै प्रक्रिया बन्द छ । यसो भन्नुको अर्थ परीक्षा नै नलिने भन्ने होइन । वातावरण सहज भएपछि मात्रै परीक्षा लिनु उचित देखिन्छ । सरकारले सामाजिक दूरी कायम राख्नुपर्ने जनाइरहेको अवस्थामा भिडभाड हुने गरी तत्काल परीक्षा सञ्चालन गर्नु उचित देखिँदैन । स्वस्थ रहे हामी सबै रहन्छौं । त्यसैले कोरोना महामारीबाट बच्न हामी सबै एकजुट हुनुपर्छ । विषम परिस्थितिमा विद्यार्थीको पढाइमा केही समय असर परे कुनै समस्या पर्दैन तर परीक्षाकै कारण महामारी फैलियो, संक्रमणका कारण बीचमै परीक्षा रोकियो भने त्यसको असर भयावह हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्