महामारी बिदाइको तयारी



कोरोना भाइरसको महामारीले नेपालजस्तो विकासोन्मुख राष्ट्र मात्र होइन, विश्वको शक्तिशाली मुलुक अमेरिकाको अर्थतन्त्रमा समेत नराम्रो असर परेको सार्वजनिक भइसकेको छ । मानिस–मानिसबीच लडिने युद्धभन्दा पनि खतरनाक रूपमा विश्वभर फैलिएको कोरोनाले मानव जीवन मात्र होइन, अर्थतन्त्रमा समेत असर पारेको छ । संसारभर हरेक दिन मानिसले रोजगारी गुमाउँदै गएका छन् भने ठूला–ठूला कलकारखानासमेत बन्द हुने अवस्थामा पुगेका छन् ।

विश्वका शक्तिशाली राष्ट्रहरूले सैन्य क्षेत्रमा हरेक वर्ष बढाउँदै गएको खर्च कटौती गर्न बाध्य हुनुपर्ने अवस्था आएको छ भने गरिब तथा विकासोन्मुख मुलुकहरूका लागि जनताको जीवन कसरी बचाउने भन्ने चिन्ता थपिँदै गएको छ । धनी र गरिबबीचको खाडल झन् बढ्ने र विश्वमा धनी–गरिबहरूबीच हुने तनाव अर्को विद्रोहको कारण बन्नसक्ने अवस्था सिर्जना हुँदै जानथालेको छ । अहिलेको अर्थतन्त्रलाई जोगाइराख्न नेपालले बेलामा नै बुद्धि पु¥याउनु पर्दछ ।

अहिले अनुत्पादक क्षेत्रमा हुँदै आएको खर्चलाई शून्यमा झार्ने र अत्यावश्यक बाहेकका क्षेत्रमा हुने खर्च कटौती गर्ने कामलाई राज्यले निर्मम ढंगले लागू गर्न सक्नुपर्दछ । विश्वका ठूला र सम्पन्न मुलुकले आफ्नो वार्षिक बजेटकै हाराहारीमा कोरोनाविरुद्ध लड्नका लागि बजेट विनियोजन गरेर आर्थिक क्षेत्रमा पर्नसक्ने नकारात्मक सूचकलाई जोगाउने कोसिस गरेको देखिन्छ ।

तर हाम्रोजस्तो सानो आय भएको मुलुकले गरिबीको रेखामुनि रहेका जनताको जीवनलाई बचाउने अभियानमा लाग्नुपर्दछ । विश्वभर नै आर्थिक मन्दीले चरम रूप लिने भएकाले विश्वका विभिन्न मुलुकमा श्रम गर्ने कामदारले पठाउने रकममा समेत कमी आउने भएकाले नेपालको वैदेशिक रोजगारीको रकमले अर्थतन्त्रलाई जोगाइराखेको अहिलेको अवस्थाबाट बच्न सरकारले मुलुकमा नै रोजगारीको अवस्था सिर्जना गर्न सक्नुपर्दछ ।

जमिन बाँझो राखेर शहर भित्रने र शहरबाट विदेशिने जनशक्तिलाई नेपालमा नै उत्पादन गर्न लगाउने र नेपालले आयात मात्र होइन, निर्यात गर्ने वातावरणसमेत सिजना गर्नेतर्फ राज्यले कदम चाल्नुपर्ने देखिन्छ । नेपालमा पाइने जडीबुटीको सही उपयोग र कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै हरेक वस्तुमा नेपाल आफै आत्मनिर्भर हुने वातावरण निर्माणमा राज्य लाग्न सक्नुपर्दछ ।

अहिलेका सबै विषयलाई थाती राखेर कोरोनासँग लड्न सरकारले हरतरहका प्रयासलाई अझै प्रभावकारी बनाउँदै लैजाने र यसको महामारी नियन्त्रणमा आउनेबित्तिकै आर्थिक क्षेत्रलाई चलायमान बनाउने योजना अहिलेबाटै राज्यका नियामक निकायले निर्माण गर्दै जानुपर्दछ ।

कोरोनाको संक्रमण सकिएपछि मात्रै योजना बनाउने मनस्थितिबाट राज्य अघि बढ्न सक्नुपर्दछ । त्यसो भएमात्रै बिग्रँदै गएको नेपालको अर्थतन्त्रलाई सही बाटोमा ल्याउन सकिन्छ । अन्यथा मुलुक आर्थिक रूपमा टाट पल्टिएको घोषणा गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ।

जसरी प्रथम र द्वितीय विश्वयुद्धपछि संसारको चिन्तनमा परिवर्तन आयो, नयाँ सिद्धान्तहरू अनुसरण गरिए, त्यसरी नै कोरोनाभाइरस किनारमा लागेपछि विश्वमा नयाँ अवधारणाहरू सिर्जना हुने निश्चित छ । वादहरूमा अदली–बदली हुने सम्भावना छ । समाजवादी चीन र लोकतन्त्रवादी अमेरिकाले अपनाएका राजनीतिक दर्शनहरूको पनि पुनव्र्याख्या हुनेछ । व्यक्तिगत स्वतन्त्रता र बाँच्न पाउने अधिकारका सम्बन्धमा बृहत् बहस चल्नेछ । यी सबैका लागि नेपाल पनि तयार हुनैपर्छ ।

प्रतिक्रिया दिनुहोस्