नेपाली सेनाले गर्‍यो कोरोना आंशकित व्यक्तिलाई ‘उद्दार र उपचार’ मा तयारीको नमुना प्रदर्शन (फोटोफिचर)



मोतीराम तिमल्सिना, काभ्रे ।

नेपाली सेना विष्णु दल गण धुलिखेलले कोरोना संक्रमणका आशंका भएका ब्यक्तिहरुको उद्धार र उपचारका लागि नेपाली सेनाले गरेको तयारीका सम्वन्धमा नमुना प्रर्दशन गरेको छ ।

गणपति कर्णेल सुबास खड्काले नेपाली सेनाको विष्णु दल गणले कोरोना संक्रमण फैलन नदिन जनचेतना मुलक कार्यक्रमका साथै कोरोना संक्रमण आशंका भएका ब्यक्तिहरुको तत्काल उद्धार र उपचार, उपचार पछिको अवस्थाका बारेमा समेत तयारी गरेको जानकारी दिनु भयो । गणले आफ्नै ब्यारेकमा भएको बुलेरो गाडी र एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । चालकहरुको सुरक्षाका लागि पिपिई सेट, सर्जिकल मास्क सेनिटाईजर, एम्बुलेन्समा आवश्यक पर्ने प्राथमिक उपचारका सबै सामाग्री, अक्सिजन सिलिण्डर, विरामीको श्वास समेत चालकसम्म पुग्न नसक्ने गरी एम्बुलेन्स र बुलेरो गाडीको ब्यवथापन गरेको कर्णेल सुबास खड्काले जानकारी दिनु भयो । नमुना प्रर्दशनी जिल्ला स्थित कमाण्ड पोष्ट तथा आपतकालिन ब्यवस्थापन कमिटीका सदस्यहरु, सल्लाहकारहरु,विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

नमुना प्रर्दशनीमा नेपाली सेनाले एम्बुलेन्स देखि अस्पताल र शव अन्त्येष्टी सम्मको तयारी गरेको छ । रोग फैलन नदिन नेपाली सेनाले किटनासक औषधी छर्ने देखि ब्यक्तिको सुरक्षा र विरामीको सुरक्षाका लागि विशेष ध्यान दिएको छ । शंकास्पद ब्यक्तिको उद्धारमा जाँदा सुरक्षा, एम्बुलेन्सको अवस्था, विरामीका परिवारलाई दिईने सल्लाह, विरामी उपचार गराउन ल्याउँदा ध्यान दिनु पर्ने विषय र अस्पतालसम्म पुर्‍याउने र अस्पताल पुर्‍याए पछिको बारेमा समेत तयारी गरेको छ ।

सेनाको तयारीले जिल्लामा संक्रमण फैलन नदिन र फैलिएको अवस्थामा पनि रोकथाम, उद्धार र उपचारका लागि सक्षम छौ भन्ने अनुभुति दिलाएको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले बताउनु भयो । ‘आईसोलेसन, पिपिई लगाउन, फुकाल्ने, किटाणु मार्ने, फोहोर जलाउने, उपचारार्थ लैजाने, एम्बुलेन्समा विरामी र चालकको सुरक्षा र विरामीको निधन भएमा दाहसंस्कारसम्मको तयारी एकबाट अर्काेमा संक्रमण फैलन नदिने गरी तयारी गरेका छौं’–गणपति खड्काले बताउनु भयो ।

नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरीले उद्धारका लागि मातहतका सबै निकायहरुलाई तयारी अवस्थामा राखेको छ । लकडाउनमा एक स्थानबाट अर्काे स्थानमा जान नदिन स्थानीय सरकारले कडाई गरे पनि रोग फैलन नदिन सचेतना अपनाईएको छ । धुलिखेल अस्पतालमा आईसोलेसन वार्ड तयार गरी संक्रमणको परिक्षण शुरु गरिएको छ ।

टेकु अस्पतालबाट पठाईएका स्वावहरु पनि धुलिखेल अस्पतालमा परिक्षण भईरहेको छ । स्थानीय तहमा आरडिडि टेष्ट शुरु भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जिल्लामा कोरोना रोकथामका लागि सबै निकाय सक्रिय रुपमा कृयाशिल भईरहेको बताउनु भयो ।

तस्वीर

प्रतिक्रिया दिनुहोस्