सकियो भर्चुअल नाटक उत्सव



लकडाउनका कारण मानिसको दैनिकी निराश नहोस् भन्नका लागि फेसबुकमा शुरु भएको भर्चुअल थिएटर फेस्टिभल क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६ १६औं दिनमा आएर सम्पन्न भएको छ। शनिबार दुई नाटक प्रदर्शन गर्दै यो उत्सव सकिएको छ। कोभिड–१९ संक्रमणको सन्त्रासपछि सरकारले लकडाउनको घोषणा गरेलगत्तै गत चैत १४ गतेदेखि क्वारेन्टाइनको समयलाई सहज बनाउने अभियानका साथ उत्सव सुरु भएको थियो।

नाट्य उत्सवका रूपमा दैनिक नाटकको भिडियो प्रदर्शन गरिँदै आएको कार्यक्रम शनिबारबाट समापन भए पनि भिन्न स्वरूपमा अन्य भर्चुअल कार्यक्रम भने निरन्तर भइरहने उत्सव निर्देशक केदार श्रेष्ठले जनाएका छन्। ‘नाटकको भिडियो लाइभ स्ट्रिमिङ मात्रै समापन गरिएको हो। रंगमञ्चसँग सम्बन्धित अन्य धेरै कार्यक्रमहरू तय हुँदै छन्।

जसअन्तर्गत आइतबार नाटककै समय ५ बजे रंगमञ्च र भर्चुल माध्यमको विषयमा प्यानल डिस्कसनको योजना बनेको छ’, उनले भने। उत्सवको नियमित समय बेलुकी ५ बजे रंगमञ्च, कला, साहित्यका सन्दर्भमा कार्यक्रमहरू जारी राखिने नाट्य उत्सवका प्रस्तुति संयोजक प्रशुन सिन्धुलियले बताए। उनले भने, ‘अरू नयाँ र सिर्जनात्मक कार्यक्रम हुनेछन्।’

शनिबार दिउँसो १ बजे कर्णाली आर्ट सेन्टरको नाटक गर्भछिटा भिडियो प्रदर्शन गरिएको थियो। हिरा बिजुली नेपालीको लेखन र निर्देशन रहेको नाटकमा कर्णालीकै स्थानीय कलाकारले अभिनय गरेका थिए। जसमा विष्णुमाया परियारको साथमा राज मल्ल, गोविन्द सुनुवार, गणेश बहादुर खड्कालगायतको अभिनय रहेको थियो। त्यस्तै सँँझ ५ बजे आरोहण गुरुकुलको नाटक ताराबाजी लै लैको भिडियो प्रदर्शन गरिएको थियो।

तत्कालिन गुरुकुलका अधिकांश कलाकारहरू रहेको नाटकले बाल्यकालिन समयमा पु¥याइदिएको अनुभव नाटक हेर्नेहरुले गरेका थिए। नाटकमा गुरुकुलका अधिंकाश कलाकारहरू बालबालिकाको भूमिकामा थिए। नाटक नर्वेका रंगकर्मी मोर्टन क्रोगले कार्यशालाका क्रममा सिर्जना गरेका हुन्।

नाटक ताराबाजी लै लै मा भोलाराज सापकोटा, सरिता गिरी, कमलमणि नेपाल, राजकुमार पुडासैनी, सौगात मल्ल, रामहरि ढकाल, अरुणा कार्की, प्रमिला कटुवाल, राजन खतिवडा, प्रवीण खतिवडा, मणिराम पोखरेल, ओमप्रकाश कर्ण, महेश शाक्य कर्मा, समुना केसी, पशुपति राई, सरस्वती चौधरी, सुरेश चन्द, विपिन कार्की, सजन थापा मगर, रविन्द्रसिंह बानियाँलगायतले अभिनय गरेका थिए। जो सिनेमा र रंगमञ्चमा स्थापित नाम भइसकेका छन्।

दर्शकको उत्साहजनक सहभागिता र प्रतिक्रियापछि उत्सवअन्र्तगत केही दिनदेखि अर्को एक सो भर्चुअल नाटक प्रदर्शन गरी दैनिक २ सो नाटक देखाईंदै आएको थियो। लकडाउन थपिएको दोस्रो साताको अन्तिम दिन बिहीबारदेखि पुनः थप केही दिन उत्सव लम्ब्याउँदै एकै दिनमा फरक–फरक दुई नाटकको भिडियो प्रदर्शन गर्न थालिएको थियो।

उत्सवमा बुधबार प्रतिक्षा कट्टेलद्वारा लिखित तथा विजया कार्की निर्देशित नाटक क्लेशाः को भिडियो प्रदर्शन गरिएको थियो। जसमा सिनेमामा चर्चामा रहेकी अभिनेत्री सुरक्षा पन्तका साथै कुशल पाण्डे, सिर्जना अधिकारी, रुजु शर्मा, स्वप्निल घिमिरेलगायतको अभिनय रहेको थियो।

त्यस्तै बिहीबार दिउँसो १ बजे भारतीय नाटककार भरतेन्दु हरिषचन्द्रद्वारा लिखित, संगीत सापकोटा र आशिष घिमिरेको संयुक्त निर्देशन रहेको नाटक अँधेरी नगरी चौपट राजाको भिडियो देखाइएको थियो। बेलुकी ५ फ्रान्सेली निर्देशक एलिज बियान्निकको नेपाली भाषामा निर्मित डान्स ड्रामा द फ्लाइटको भिडियो प्रदर्शन गरिएको थियो।

उत्सवमा चे शंकर निर्देशित लु सुनको कथामा आधारित म्याड म्यान्स डायरी, हिरा बिजुली निर्देशित कर्णाली आर्ट सेन्टरको प्रस्तुति गर्भछिटा, डेनमार्कको नाटक टु बी, आयोजककै भोको घर तथा आरोहण गुरुकुलको अर्को एक नाटक पनि देखाइएको थियो।

कोभिड–१९ को संक्रमणबाट बच्ने एकमात्र उपाय क्वारेन्टाइनलाई प्रोत्साहन र साथ दिन थिएटर मल–कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टीसीसी नेपाल) ले विश्व रंगमञ्च दिवस २७ मार्च (१४ चैत्र) बाट उत्सव सुरु गरेको थियो।

प्रतिक्रिया दिनुहोस्