कृपाले सेनानी पदको कोर्स पूरा गरिन्



नेपाल समाचारपत्र, काठमाडौं

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी खेलाडी कृपा अधिकारीले दुई उत्कृष्ट अवार्डसहित नेपाली सेनाको सहायक सेनानी पदको कोर्स पुरा गरेकी छन् । २० वर्षीया कृपाले २४ महिने लामो क्याडेट कोर्स पुरा गरेकी हुन् ।

सो कोर्समा महिलातर्फ पहिलो भएकी उनले केन अफ अनर र बेस्ट इन एकेडेमिक गरी दुई अवार्डसमेत हात पारेकी हुन् । बुधबार एक कार्यक्रमबीच उनलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले उक्त अवार्ड प्रदान गरेका थिए ।

तालिमा १ सय १४ जना पुरुष, १४ जना महिला र ४ विदेशीसहित १ सय ३५ जना रहेका थिए । न्यु डायमन्ड एकेडेमीका उत्पादक कृपा हिजो आफ्नै युनिट जबरजंग गण देवीघाट त्रिशुली नुवाकोट प्रस्थान गरिन् । कृपाले २०७५ वैशाखमा सहायक सेनानी पदमा खुल्ला प्रतिस्पर्धाबाट लोक सेवाको परीक्षामार्फत् नाम निकालेकी थिइन् । उनले वैशाखदेखि नै भक्तपुरको खरीपाटीमा रहेको नेपाली सैनिक प्रतिष्ठानमा कोर्स गरेकी थिइन् ।

कृपाले अन्तर्राष्ट्रिय स्तरको मैत्री खेल माल्दिभ्ससँग खेलेर ६ वर्षअघि भलिबलमा डेब्यु गरेकी थिइन् । उनले भारतमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुद (साग) महिला भलिबलतर्फ पनि नेपालको प्रतिनिधित्व गरेकी थिइन् । तर तालिममा गएकी हुनाले नेपालमै भएको १३औं सागमा भने उनी खेल्नबाट वञ्चित भएकी थिइन् । नेपाली महिला भलिबल टोलीले १३औं सागमा रजत पदक जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्