प्रेमगीत ३ को रक्तदान



कोरोना संक्रमण कोभिड–१९ प्रति सचेतता अपनाउँदै लागू गरिएको लकडाउनका कारण रगतको अभाव भएको समयमा फिल्म प्रेमगीत ३ युनिटले सामाजिक दूरी कायम गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको छ।

ग्रीन सिटी अस्पताल, वसुन्धरासँगको सहकार्यमा बिहीबार प्रेमगीत ३ युनिटले रक्तदान कार्यक्रम गरेको हो। निर्माता निर्देशक सन्तोष सेनका अनुसार फिल्मका मुख्य अभिनेता प्रदीप खड्का, मनिष राउत, अभिनेत्री कृष्टिना गुरुङ, गायक प्रताप दास, गायिका प्रविशा अधिकारी, नेपाल प्रहरीलगायत ३५ जना भन्दा बढीले रक्तदान गरेका छन्।

‘कोरोना भाइरस संक्रमणका कारण लकडाउन भएको अवस्थामा रेडक्रसमा रगत अभाव भएको जानकारी पाएपछि प्रेमगीत ३ युनिटले भीडभाड नगरी दुई÷दुई तीन÷तीन जनाको समूहमा विभाजित भई रक्तदान गरेको हो। हामीले गरेको रक्तदान पूरै मुलुकमा पुग्न सक्दैन, तर पनि केही हदसम्म सहयोग पुग्छ भन्ने विश्वास लिएका छौँ’ उनको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्