वन तथा वन्यजन्तु तस्करी रोक्न मन्त्रालयको अपिल



काठमाडौं, (नेस)

मुलुकभर घोषित लकडाउनको अवस्थामा विभिन्न जिल्लामा वन तथा वन्यजन्तुको तस्करीको घटना बढिरहेको भन्दै वन तथा वातावरण मन्त्रालयले थप नोक्सानी हुन नदिन अपिल गरेको छ ।

वन मन्त्रीस्तरको बुधबारको निर्णयानुसार यस्तो अपिल गरेको मन्त्रालयका सहसचिव डा. सिन्धुप्रसाद ढुंगानाले जानकारी दिनुभयो ।

लकडाउनको मौका छोपी विभिन्न जिल्लामा तस्करी गरी वन तथा वन्यजन्तुको हानिनोक्सानी भइरहेको भन्दै संरक्षण गर्न सातै प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग मन्त्रालयले अपिल गरेको हो ।

संरक्षणका लागि संघीय, प्रदेश र स्थानीय सरकारसहित समुदाय समेतको थप सक्रियताको आवश्यकता देखिएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय वनको संरक्षण तथा व्यवस्थापनका लागि प्रदेश वन निर्देशनालय तथा डिभिजन वन कार्यालयहरूका जनशक्तिको स्थानीय प्रशासनसँग समेत आवश्यकताअनुसार समन्वय गरी थप प्रभावकारी परिचालनका लागि प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्