गल्याङको राहत कोषमा गल्याङ बचतबाट ४० हजार र जेसिजबाट ११ हजार सहयोग



भूपराज बस्याल,स्याङ्जा ।

स्याङ्जाको गल्याङ नगरपालिकामा स्थापना गरिएको राहत कोशमा सहयोग रकम आउने क्रम बढेको छ ।कोरोना संक्रमणका कारण गरिएको लकडाउनका कारण समस्यामा परेका विपन्नहरुको सहयोग गर्न स्थापना गरिएको राहत कोशमा रकम आउने क्रम बढेको हो । विहिबार राहत कोशमा गल्याङ बचत तथा ऋण सहकारी संस्थाले राहत कोशका लागि ४० हजार एक सय पाँच रुपैयाँ सहयोग गरेको छ ।

गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीको कार्यकक्षमा गल्याङ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मण भट्टराईले नगरप्रमुख अधिकारीलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

सहयोग रकम ग्रहण गर्दै गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले समस्या परेको बेलामा सहयोग गरेको भन्दै गल्याङ बचत तथा ऋण सहकारी संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सहयोग गरिएको रकम पारदर्शी रुपमा वास्तविक पीडितहरु सामु पु¥याइने स्पष्ट पार्नुभयो ।

नगरप्रमुख अधिकारीले भन्नुभयो –‘सहयोग गरिएको सम्पूर्ण रकम पारदर्शी ढंगले वितरण हुनेछ । एकद्वार प्रणालीबाट राहत वितरण गरिने भएकाले अन्य व्यक्ति तथा संस्थालाई पनि सहयोगको अपिल गर्दछु ।’

उहाँले थोरै थोरै रकम भएपनि विपदको बेलामा सहयोग गर्न आग्रह गर्नुभयो । रकम हस्तान्तरण गर्दै गल्याङ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मण भट्टराईले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट जोखिम कम गर्न गरिएको लकडाउनबाट पीडित बनेकाहरुलाई सहयोग पुगोस भन्ने उद्देश्यले थोरै भएपनि सहयोग गरिएको बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा गल्याङ बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक ओमबहादुर थापाको पनि उपस्थिति रहेको थियो ।

यस्तै, गल्याङ जेसिजले पनि गल्याङ नगरपालिकाको प्रकोप व्यवस्थापन राहत कोशमा ११ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । नगरप्रमुखको कार्यकक्षमा गल्याङ जेसिजका अध्यक्ष दर्वेन्द्रदेब खनालले नगरप्रमुख भुपराज अधिकारीलाई राहत रकम हस्तान्तरण गर्नुभयो । राहत ग्रहण गर्दै नगरप्रमुख अधिकारीले गल्याङ जेसिजले छोटो समयमा नै धेरै रचनात्मक काम गरेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि अन्य कार्यक्रमहरु पनि सँगसँगै गर्नका लागि प्रस्ताव ल्याउन जेसिजलाई आग्रह गर्नुभयो ।

नगरप्रमुख अधिकारीले भन्नुभयो –‘सामाजिक सेवामा क्रियाशिल जेसिजले ल्याएको प्रस्ताव अनुसार सामाजिक काम गर्न नगरपालिका प्रतिबद्व छ ।’ कार्यक्रममा गल्याङ जेसिजका अध्यक्ष दर्वेन्द्रदेब खनालले गल्याङ जेसिज सामाजिक संस्था भएको र कुनै रकम बचत नहुने गरेपनि सदस्यहरुबाट संकलन गरेर थोरै भएपनि सहयोग गरेको बताउनुभयो । गल्याङ जेसिजका महासचिव खगेन्द्र भण्डारीले एकद्वार प्रणालीबाट राहत वितरण भैरहेकोमा गल्याङ जेसिज पनि साथ साथमा हुन चाहेको बताउनुभयो ।

गल्याङको प्रकोप व्यवस्थापन राहत कोशमा हालसम्म तीन लाख २३ हजार पाँच सय ३२ रुपैयाँ संकलन भएको प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद पाण्डेले जानकारी दिनुभयो । कोशमा अहिलेसम्म गल्याङ नगरपालिकाका विभिन्न आठ वटा संस्थाहरुबाट यो रकम प्राप्त भएको उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्