वालिङमा उत्पादित पिपिई स्थानीय तहमा



भूपराज बस्याल,स्याङ्जा ।

स्याङ्जाको वालिङमा रहेको शैक्षिक पोशाक बगैँचा प्रालिले वालिङ नगरपालिकाको समन्वयमा उत्पादन गरेको ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई) स्याङ्जाका स्थानीय स्तारमा प्रयोग भएका छन् । शैक्षिक पोशाक तयार गर्न वालिङ नगरपलिका आठमा स्थापना भएको उक्त प्रालिले स्वाथ्यकर्मीको सल्लाह अनुसार पिपिई उत्पादन गरको संचालक प्रकाश अर्यालले जानकारी दिनुभयो ।

हस्पिटल बाट आउनु भएका डाक्टरहरुको सल्लाह अनुसार तयार गरेका छौं अर्यालले हामि सगंको कुराकानीमा भन्नुभयो । हाल वालिङमा मात्रै नभएर अन्य पालिकाले पनि खरिद गर्न थालेको उहाँले जनाकारी दिनुभयो ।

देशमा स्वास्थ्य समग्रीको अभाव भएपछि नगरपलिकाले खटाएको स्वास्थ्यकर्मीको सल्लाह अनुसार स्कूलको ड्रेसको लागि राखिएको पिपिई बन्ने कपडाबाट तयार पारिएको उहाँले जनाकारी दिनुभयो ।

स्टक कपडाको लगभग बनाएर सकिएको हुदाँ अब आवश्यक परेमा कपडा खरिद गर्नुपर्ने उहाँले बताउनु भयो । नेपाल समाचारपत्रसगं कुराकानी गर्दै उहाँले यसलाई पिपिइ भन्दा पनि पिपियू भन्न उपयुक्त हुने सुझाब दिनुभयो । बनावट कपडा उस्तै भएपनि ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई) भनेपछि अन्य स्वास्थ्य समाग्रीहरु पनि पर्नेहुँदा यसलाई प्रशनल प्रोटेक्सन युनिफम (पिपियू) भन्न उपयुक्त हुने उहाँको तर्क छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ का शंकास्पद बिरामीको स्वास्थ्य परीक्षणका लागि खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र एम्बुलेन्स चालकहरुलाई वालिङमै उत्पादन गरेर प्रयोग गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । “प्राथमिकताका आधारमा हालसम्म एकसय थान पिपिई उत्पादन गरी प्रयोग गरिरहेका छौ” नगर प्रमुख खाँणले भन्नुभयो, “अरु उत्पादन गरिरहेका छौं, उत्पादन भएको पिपिई छिटोभन्दा छिटो प्राथमिकताका आधारमा वितरण गरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा एम्बुलेन्स चालकहरुका लागि केही हदसम्म सुरक्षित बनाउने पहल भएको छ ।”

पिपिईको अभावमा शंकास्पद बिरामीहरुको परीक्षण गर्नका लागि जोखिम हुनसक्ने भएकाले स्थानीय वालिङ बजारमै उत्पादन भएको पिपिईको प्रयोग गरेको नगर प्रमुख खाँणले बताउनुभयो ।

विदेशबाट नगरभित्र आएका विभिन्न ब्यक्तिहरुको विवरण संकलन गर्नकालागि घर–घरमा पुग्नुपर्ने र नगरपालिकाभित्रका विभिन्न स्वास्थ्य संस्थाहरुमा परीक्षणका लागि बिरामीहरु आउने तर पिपिईको अभावमा समस्या हुन सक्ने भएकाले यसको महत्व झनै बढेर गएको नगर प्रमुख खाँणले बताउनुभयो ।

स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि संक्रमणबाट बच्नका लागि ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई) तयार पारिएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो ।

“पर्याप्तमात्रामा ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई) उपलब्ध नभएका कारण स्वास्थ्यकर्मीहरुलाई बिरामीको परीक्षण गर्न जोखिम रहेको थियो” शाखा प्रमुख पाण्डेले भन्नुभयो, “संक्रमणबाट केही हदसम्म भएपनि जोगाउनका लागि वालिङ नगरपालिकाले आफ्नै पहलमा उच्चस्तरीय कपडाको प्रयोग गरी स्थानीयस्तरमै ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई) तयार गरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा एम्बुलेन्स चालकहरुलाई वितरण गरिएको छ ।”

प्रतिक्रिया दिनुहोस्