परीक्षण गरिएका सबै नमूना नेगेटिभ



रोशन पराजुली,हेटौंडा । 

हेटौंडामा कोरोना भाइरस (कोभिड–१९) को हालसम्म ६५ जनाको परीक्षण भएको छ । परीक्षण भएकामध्ये ५५ जनाको रिपोर्ट नेगेभिट आएको छ । हेटौंडामा परीक्षण गरिएका ६५ जनामध्ये ५५ जनाको रिपोर्ट नेगेटिभ आएको र दश जनाको रिपोर्ट प्राप्त हुन बाँकी छ । ल्याबमा प्रदेश नम्बर–२ का बारा र पर्सा जिल्लाका कोरोनाको शंका लागेका बिरामीको पनि परीक्षण गर्ने गरिएको छ ।

हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान केन्द्रमा हेटौंडा–४, कर्रामा रहेको आइसोलेसन तथा मकवानपुर र अन्य जिल्लाका विभिन्न क्वारेन्टाइनमा रहेका बिरामीको प्राप्त स्वाबबाट कोराना परीक्षण गरिएको हो । प्रयोगशालामा नमूना परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक नारायणबहादुर कार्कीको नेतृत्वमा ५ जनाको टोली परिचालन गरिएको छ ।

बारा, पर्सा र बागमती प्रदेशको सिन्धुलीलगायत जिल्लाबाट कोरोनाको शंका लागेका बिरामीको परीक्षण गर्ने गरिएको बागमती प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रवक्ता दीपेन्द्र सुबेदीले बताउनुभयो । चितवनमा कोरोना परीक्षण गर्न ल्याब सञ्चालन गरिएपछि हेटौंडामा भने अन्य जिल्लाको परीक्षण गर्ने गरिएको छ ।

चितवनमा पनि कोरोना भाइरसको संक्रमणको परीक्षण गर्न मिल्ने पीसीआर मेसिन जडान भएको कारण अब हेटौंडामा मकवानपुर, सिन्धुली, बारा, पर्सा र रौतहट जिल्लाका बिरामीको स्वाब परीक्षण हुनेछ ।

‘अन्य जिल्लाबाट परीक्षणका लागि स्वाब प्राप्त भए पनि परीक्षण हुनेछ । तर, हाललाई ५ जिल्लालाई लक्षित गरेर परीक्षण भइरहेको छ’, सबेदीले भन्नुभयो । हेटौंडामा एक पटकमा ६० वटा नमूना परीक्षण गर्न मिल्ने र रिपोर्ट आउन सवा दुई घण्टा लाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्