स्वास्थ्यकर्मीको सम्मान



काममा अहोरात्र खटिएका स्वास्थ्यकर्मी, कर्मचारी, व्यापारी, व्यवसायी, किसान, पत्रकार, सुरक्षा निकाय, मजदुरहरूलाई उच्च मनोबलका साथ काममा निस्कने वातावरण बन्नसक्छ वा सक्दैन, यो नै आजको सर्वाधिक चिन्ताको विषय बनेको छ । कोरोनाका कारण कतिका घरमा चुलो बलेको छैन । जसकोमा बलेको छ, त्यो पनि कति दिन भन्ने अवस्था आइसकेको छ । यस्तो अवस्थामा सबै दल, स्वयंसेवक, कर्मचारी, नेता, विज्ञहरूले एक भएर जुट्ने र विगतका गल्ती स्विकार्दै गल्ती गर्नेलाई तेरो र मेरो नभनी कारबाही गर्ने तत्परताको खाँचो छ किनभने काम गर्ने वातावरण नबन्दा स्वास्थ्यकर्मीहरूको मन भाँचिनेछ ।

त्रासपूर्ण मानसिकतामा अस्पतालमा जानु, कोरोना लागेको बिरामी आउने हो कि, मलाई सरेर परिवारलाई पनि सर्ने हो कि भन्ने त्रासमा स्वास्थ्यकर्मीलाई राखिरहनु हुन्न । आज पनि बिरामीको उपचारका लागि चाहिने ल्याब परीक्षण, तालिम प्राप्त जनशक्ति, औषधी, पीपीई नभएर कुनै बिरामीको उपचार नै गर्न नसकिने हो कि भन्ने सोच स्वास्थ्यकर्मीमा बाँकी छ, यसलाई अनपेक्षित मान्नुपर्छ ।

चिकित्सक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकालाई पैसा देखाएर प्रोत्साहित गर्ने प्रयास अपर्याप्त मात्र होइन, अपमानजनक छ । हरेक व्यक्तिको स्वस्थ भएर जिउन पाउने अधिकारको रक्षाका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री, औषधी र विषय विज्ञहरूको सरसल्लाहका आधारमा उपकरण उपलब्ध गराउने प्रतिबद्धता सरकारबाट प्रकट हुनुपर्छ ।

ढिला भइसक्यो, अब भारतबाट नेपाल आएका नागरिकलाई आफै स्वास्थ्य संस्थामा आउने वातावरण बनाउन विज्ञ समूह बनाएर जिम्मा दिन । कोरोनाको जोखिममा रहेका व्यक्तिलाई स्वतस्फूर्तरूपमा परिवार, समाज र देशका लागि जिम्मेवार बन्ने अचुक आधार तय गरिएका योजना सुनाउनुछ जसले गर्दा विदेशबाट नेपाल आई डर, त्रास, संकोच मानेर लुक्नु र भाग्नुको सट्टा स्वास्थ्य संस्था, क्वारेन्टाइन स्थलमा आइपुग्न व्यक्ति प्रेरित होस् ।

जो लुक्न बाध्य छन् उनीहरूलाई कोरोनाका साथै राज्य र समाजको त्रास छ । त्रासदीपूर्ण वातावरणमा गुज्रिएको सुदूरपश्चिमका जनता र विदेशबाट नेपाल भित्रिएका नागरिकलाई सहज वातावरण बनाई स्वास्थ्य संस्थाको नेतृत्वमा परीक्षण गर्ने एक पूर्वाधारयुक्त वातावरण तयार भए कोही पनि भागेर हिँड्नेछैन । स्वास्थ्य परीक्षण गरी शारीरिक र मानसिकरूपमा ढुक्क हुन सबै चाहन्छन् ।

विदेशबाट आएका नागरिक देशैभरि पुगेको अवस्थामा नेपालको हविगत के होला, दक्षिण कोरियाको पहिलो घटनाबाट सिक्नुपर्छ । एक महिलाले पचासौं व्यक्तिमा कोरोना भाइरस संक्रमित गराएको दुःखद सन्दर्भ सबैका लागि ठूलो पाठ हो । दक्षिण कोरियामा शुरूका दिनमा एकैदिन १० हजार मानिसमा स्वास्थ्य परीक्षण गर्दा धेरैमा कोरोना संक्रमण देखिएकै कारण नियन्त्रणमा लिन नयाँ नीति लागू गरियो र सफलता हात लाग्यो ।

कोरोनाको उद्गमस्थल चीनले पनि शुरूमै जहाँ समस्या छ त्यहीं क्षेत्र लकडाउन गरेर कोरोना नियन्त्रणमा लियो । नेपालमा पनि मुख्य केन्द्र काठमाडौंलगायत सातै प्रदेशका १० स्थानमा ल्याब स्थापना गरिसकेकाले अब परीक्षण विधिलाई सरल र सहज बनाउन जरुरी छ । यस प्रकारको अवस्थामा नागरिक स्वयं पनि सजग हुनुपर्छ, सरकारले बोलाए मात्र परीक्षणमा आउँछु भने अड्डी कस्नु हुन्न ।

प्रतिक्रिया दिनुहोस्