बोर्डको कोषबाट प्राविधिकलाई सहयोग गर्न नसकिने



चलचित्र विकास बोर्डअन्र्तगतको चलचित्रकर्मी कल्याण कोषकी संयोजक वसुन्धरा भुसालले कोरोना संक्रमणलाई न्यूनीकरण गर्न सरकारले लागू गरेको लकडाउनका कारण समस्यामा परेका विपन्न प्राविधिकहरुलाई चाहेर पनि कोषबाट सहयोग गर्न नसकिने प्रष्ट पारेकी छिन्।

विभिन्न चलचित्रकर्मीहरुले बोर्डअन्र्तगतको कल्याण कोषको प्रावधान नै नबुझी निरन्तर रुपमा कोषमा रहेको रकमबाट प्राविधिकहरुलाई सहयोग गर्न दबाब दिएपछि भुषालले सो बारे प्रष्ट पारेकी हुन्। ‘नेपाल सरकार चलचित्र विकास बोर्डअन्र्तगत चलचित्रकर्मी कल्याण कोषको संयोजकको नाताले वर्तमान परिस्थितिमा सम्पूर्ण चलचित्रकर्मीहरुमा पर्न आएको दुः ख, कष्ट र क्षतिप्रति मेरो गहिरो सहानुभूति प्रकट गर्दछु।

अहिले विश्वभरिनै कोरोना भाइरसले आतंकित पारेको अवस्थाले हाम्रो देशमा पनि लकडाउन लागू भइरहेको छ। त्यसर्थ लकडाउनका कारण कुनै पनि चलचित्रकर्मीहरुले काम गर्न पाएका छैनन्। जसको बढी प्रभाव चलचित्र प्राविधिक क्षेत्रका भाइ बहिनीहरुलाई पर्न गएको मैले महसुुुुस गरेकी छु।

 

म स्वयं प्राविधिक संघको संरक्षक भएको नाताले पनि वहाँहरुलाई पर्न आएको दुःख कष्टप्रति म सारै दुःखी र संवेदनशील छु’ भुषालले सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै प्रष्ट पारेकी छिन् ‘चलचित्रकर्मी कल्याण कोषको मुद्दती रकम ३ करोड ८० लाख रहेको र सोबाट प्राप्त हुने ब्याज रकमबाट मात्र हाल विभिन्न कल्याणकारी कार्यहरु नियमानुसार सञ्चालन भइरहेको व्यहोरा सर्वविदितै छ।

जस्तैः

(१) कुनै चलचित्रकर्मीहरु दुर्घटना परि उपचार गर्न असमर्थ रहेको अवस्थामा कोषबाट नियमानुसार तोकिएको रकम सहयोग गरिरहेको।

(२) सामान्य तथा विभिन्न जटिल पकृतिका रोगहरु उपचार गर्न असमर्थ चलचिकलाकर्मीहरुलाई कोषले जटिलताका आधारमा निर्धारित रकम सहयोग गर्दै आइरहेको छ।

(३) कुनै असमर्थ कलाकर्मीहरु देहावशन भएको अवस्थामा दाह संस्कार तथा काजक्रियाका निमित्त नियमले निर्धारित रकम निजको परिवारलाई सहयोग गरिरहेको छ।

(४)असमर्थ अवस्था तथा ज्येष्ठ चलचित्रकर्मीहरुलाई समेत कोषबाट मासिक रु ५०००। (पाँच हजार) का दरले सहयोग दिने गरेको छ।

(५)सुटिङको अवस्थामा दुर्घटनामा परि कुनै कलाकर्मीको निधन भएमा पनि मृतकको परिवारलाई कोषले एक लाख प्रदान गर्ने व्यवस्था रहेको। यसप्रकार चलचित्रकर्मी कल्याण कोषले १८ वर्षदेखि उपरोक्त सबै सहयोग रकमहरु निरन्तर रुपमा खर्च भइरहेको चालू आर्थिक वर्षको अवधिमा निधन भएको केही चलचित्रकर्मीहरुको काजक्रियामा खर्च तथा बढी कलाकर्मीहरु रोग तथा जटिल प्रकृतिको रोगहरुबाट समेत ग्रस्त भई सहयोग रकम बढी खर्च गर्नुपर्यो।

यस आर्थिक मसान्तसम्म आवश्यक पर्ने भई परिआउने रकमबाहेक कोषमा रकम नरहेको तथा ३ करोड ८० लाख अक्षयकोष खर्च गर्नै नमिल्ने रकम भएकाले हामीले चाहेर पनि वर्तमान अवस्थामा चलचित्रकर्मी, प्राविधिकहरुलाई थप सहयोग पुर्याउन नसक्ने जानकारी गराउँदै छु।’

अभिनेत्री भुषाल बोर्डको कल्याण कोष स्थापना कालदेखि संयोजक रहेकी छिन्। भुषालले बोर्डअघि कलाकार संघका लागि कल्याणकारी कोष खडा गरेको दृष्टान्तलाई हेरेर उनलाई बोर्डको चलचित्रकर्मी कल्याणकारी कोषको संयोजक बनाइएको थियो। केही वर्षअघि उनी कार्यक्रमका सिलसिलामा अमेरिका गएको मौका पारी तत्कालीन सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले उनलाई कोषको संयोजकबाट हटाई प्रभावमा परी अभिनेत्री तथा निर्मात्री झरना थापालाई कोषको संयोजक बनाएका थिए। फेरि पनि झरनालाई हटाई भुषाललाई नै कोषको संयोजक बनाइएको थियो।

प्रतिक्रिया दिनुहोस्