दुई जनाको थ्रोट स्वाब परीक्षणका लागि पोखरा पठाइयो



मिला दरै, तनहुँ ।

कोभिड १९को संक्रमणको आशंकामा तनहुँका दुई जनाको थ्रोट स्वाब परीक्षणका लागि गण्डकी प्रदेश स्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । व्यास नगरपालिकाका र म्याग्दे गाउँपालिकाका एक-एक जनाको स्वाब परीक्षणका लागि बिहीबार पोखरा पठाइएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार उनीहरु दुवैलाई ज्वरो आइरहेकाले स्वाब परीक्षणका लागि पठाइएको हो । ‘व्यासका एक जना शिक्षक रहेको र म्याग्देका एक जना भने भारतबाट आउनुभएको हो,’ -उहाँले भन्नुभयो । केही समयदेखि उहाँहरुलाई ज्वरो आइरहेको र निरोगीताको लागि पनि उहाँहरुले थ्रोट स्वाब परीक्षणमा पठाउनुभएको उहाँले बताउनुभयो ।

‘भारतबाट आउनुभएका म्याग्देका व्यक्तिको ढाड दुखेको भनेपछि थ्रोट स्वाब लिएर पोखरा परीक्षणका लागि पठाएका छौं,’ -उहाँले भन्नुभयो-, ‘अहिलेसम्म जिल्लाका तीन जनाको थ्रोट स्वाब परीक्षण गराउन पठायौं, एकजनाको बुधबार कोभिड १९ को रिपोर्ट नेगेटिभ आएको छ ।’

७१६ जना विदेशबाट आएका छन् भने देवघाटका एक जना क्वारेन्टाइनमा बस्नुभएको छ । जिल्लाका अन्य विदेशबाट आउने नागरिक भने होम क्वारेन्टाइनमा रहेको र उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्