आवश्यकता नै आविष्कारकी जननी



यो सत्यतथ्यलाई आत्मसात् गर्दै आजको यो भौतिकतावादी संसारमा मानिस आफ्नो जीविकोपार्जनको लागि समयसापेक्ष विभिन्न क्षेत्रमा विविध विषयअन्तर्गत नयाँ–नयाँ अनुसन्धान गर्दै सरल र सहज तवरले जीवन जिउन खोज्दै छ भन्दा अतिसय नहोला । प्रकृतिलाई पूर्णरूपमा सुरक्षित र संरक्षण गर्दै विज्ञानसम्मत तवरले यसको भरपूर मानवजगत्को हितमा प्रयोग गर्नु आजको बुद्धिमानी ठहर्नेछ । मानिस केवल आफ्नो सुखसुविधा प्रप्तिको लागि अरू कुनै पनि क्षेत्रको पर्वाह नगरी जिउन खोज्दै छन् । आफ्नो इच्छा पूर्ति गर्दै जाँदा यसले अरूलाई पु¥याएको हानि–नोक्सानी र क्षतिको कुनै हेक्कासमेत राखिएको छैन भन्दा फरक नपर्ला ।
पछिल्लो समय विश्व ब्रह्माण्डमा उष्णता बढ्दै जलवायु परिवर्तनको परिघटनालाई यसैको परिणामको रूपमा लिन सकिन्छ । आज यिनै र यस्तै स्वार्थपूर्ण जीवन व्यतीत गरिँदै गर्दाको परिणाम हो– कोरोना भाइरस (कोभिड–१९) भन्दा फरक नपर्ला । छिमेकी मित्रराष्ट्र चीनको हुवेई प्रान्तको वुहान शहरबाट फैलिएको यो नवप्रजातिको भाइरसले आज विश्व मानवजगत्लाई मात्र नभई अमेरिकाको न्यूयोर्क शहरमा अवस्थित ब्रोन्स चिडियाखानाको एउटा पोथी बाघसमेत यो कोरोना भाइरसबाट संक्रमित भएको तथ्य पुष्टि हुन आएको छ । यसरी यो कोरोना भाइरसले प्राणी जगत्लाई नै संक्रमित तुल्याउँदै लग्दै छ । सन् २०१९ को डिसेम्बर २९ देखि फैलिएर विश्वव्यापी हुँदै गर्दासमेत हालसम्म यसको प्रतिरोध गर्ने कुनै औषधि आविष्कार गर्न सकिको छैन । जसको कारण बिश्वव्यापी महामारीको रूप लिन पुगेको छ । अहिले त झन् अति विकसित राष्ट्र अमेरिका, युरोपलगायत अन्य राष्ट्रहरूलाई थला पारी शिथिल बनाइदिएको अवस्था छ ।
अहिले दक्षिण एसियामा कोरोना भाइरसले आफ्नो प्रभाव तीव्र बनाउँदै लगेको छ । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशका साथै अन्य राष्ट्रहरूमा कोरोना भाइरसद्वारा संक्रमित र मृत्यु हुनेहरूको संख्याको तथ्यांकले पनि सहजै अनुमान लगाउन सकिन्छ कि यो कति रफ्तारमा मानवलाई संक्रमित तुल्याई अतिक्रमण गर्दै छ ।
नेपाल पनि यस कोरोना भाइरसबाट अछूतो रहन सकेन । हालसम्म नेपालमा ९ जना संक्रमित भएको पाइएको छ । त्यसमा एकजना पूर्ण तवरले निको भएर घर फर्किसकेको छ भने अन्य संक्रमितहरू उपचारका क्रममा छन् । सीमित स्रोत–साधन र जनशक्तिको आधारमा यस्तो अति गम्भीर प्रकारको कोरोना भाइरससँग जुध्नु हाम्रो जस्तो देशको लागि साह्रै नै चुनौतीको विषय हो । धन्न हामीले आजसम्म आइपुग्दा कसैले ज्यान गुमाएको समाचार सुन्नुपरेको छैन । यो आफैंमा खुशीको कुरा हो । तर यिनै कोरोना भाइरससँग जुध्नको लागि आवश्यक स्वास्थ्य सामग्री र उपकरणहरूको खरिदमा सरकारको तर्फबाट भ्रष्टाचारको समाचार पढ्न र सुन्नुपर्दा अति नै दुःख लागेको छ । कसैको पीडामा रमाउनु आफैंमा एकप्रकारको अपराध नै हो ।
स्वास्थ्य क्षेत्रको अग्रपंक्ति भनेकै चिकित्सक वर्ग र तिनलाई सहयोग गर्ने नर्सहरू नै हुन् । कोरोना भाइरसले विश्वव्यापी महामारीको रूप लिइरहँदा समेत नेपाल सरकारले योसँग प्रतिकार गर्ने खासै कुनै रणनीति तय गर्न÷गराउन सकेको देखिएन ।
कोरोना भाइरसको उद्गम थलो चीनले अप्रिल ४ तारिखमा राष्ट्रिय शोक मानाएर कोरोना भाइरसलाई पूर्णतः निर्मूल पार्न सफलतातर्फ उन्मुख भइसकेको छ । कोरोना भाइरसले अति नै थला पारेको अमेरिकालाई उपचारका क्रममा आवश्यक भेन्टिलेटर एक हजार थान चीनले सहयोगस्वरूप प्रदान गरी योसँग लड्न ऐक्यबद्धतासमेत जाहेर गरिसकेको छ । हामी हाम्रो देश नेपालमा दिन–प्रतिदिन कोरोना भाइरसबाट संक्रमितहरूको संख्या बढ्दै गइरहेको यो वर्तमान अवस्थामा सामाजिक दूरी कायम गर्दै मुखमा माक्स लगाएर बन्द कोठाभित्र बैठक बसी हचुवाको भरमा निर्णय गर्नमै तल्लीन छौं । देशभर हजारौंहजारको संख्यामा स्वास्थ्यकर्मीहरू परिचालन गर्ने निर्णय पनि गरेको सुन्न पाइयो । यो खुशीको कुरा हो । अझ बढी समेटेर सेवा प्रदान गर्न सकोस्, शुभकामना !
कोरोना भाइरससँगको लडाइँ त शुरू भई नै सक्यो । लडाइँ विभिन्न किसिमको हुने गर्दछ । यो लडाइँ स्वास्थ्यको क्षेत्रमा भइरहेको छ । लडाइँमा जान आवश्यक सरसामग्रीहरूको जोहो गर्नुपर्ने हुन्छ । के हामीसँग आवश्यक मात्रामा स्वास्थ्य उपचारका सामग्रीहरू उपलब्ध छन् त ? न्यूनतमभन्दा न्यूनतम चिकित्सक वर्ग र नर्सहरूको लागि सुरक्षाका कबचहरू उपलब्ध गराउन सकेका छौं त ? कोरोना भाइरसविरुद्ध लड्न पठाउने अनि कोरोना भाइरसबाटै संक्रमित हुनुपर्ने त होइन ? आज चिकित्सक, नर्सहरूलगायत स्वास्थ्यकर्मीहरूको चौतर्फी चिच्याहट कसले सुन्ने ? खोई राष्ट्रिय अभिभावक ?
यी र यस्तै अवस्था देशभित्र सञ्चालित रक्तसञ्चर सेवामा पनि देखिएको छ । विभिन्न सञ्चारमाध्यमबाट सुन्न, पढ्न र टेलिभिजनमा अक्षरसहितको आवाज सुन्न अनि जिम्मेवार व्यक्तिको तस्वीर देख्न पनि पाइन्छ । त्यो हो– रक्तदान गर्न गरिएको आग्रह, अपिल । राम्रो, अति नै राम्रो ! तर यो कोरोना भाइरसको महामारीको बीचमा रक्तदान गर्दै गर्दा हुने दुर्घटनाको ग्यारेन्टी कसले लिने ? स्वयंसेवी रक्तदाताहरूको स्वास्थ्य सुरक्षाको प्रत्याभूति कसले दिने ? कुर्सीमा आसन गरी भाषण मात्र दिन पाइँदैन । नेपाल सरकार र सम्बन्धित निकायको के छ योजना ? सार्वजनिक गर्नुप¥यो । फेरि यो लकडाउनको अवस्थामा प्रायजसो शल्यक्रियाहरू बन्दसरह छन् । तैरिएर बोल्न कसैलाई छुट छैन । जिम्मेवारीबोध हुनुप¥यो । सतह र गहिराइमा पुगेर वास्तविकताको आधारमा कुराहरू सम्प्रेषण गर्न सक्नुपर्दछ । यसरी गैरजिम्मेवार तवरले प्रस्तुत हुन पाइँदैन । निराधाररूपमा रगतको अभावको सूचना प्रवाह गरी स्वयंसेवी रक्तदाता माझ अन्यौलता सृजना गर्नु किमार्थ शोभनीय कार्य होइन ।
रक्तदान नियमित र निरन्तरको लागि आह्वान गर्दै हामी नेपाल स्वयंसेवी रक्तदाता समाजले लकडाउनको दोस्रो दिनदेखि नै ‘होम क्वारेन्टाइन’बाटै अथवा रक्तसञ्चार सेवा केन्द्रसम्म पु¥याएर सामाजिक दूरी कायम गर्दै स्वयंसेवी रक्तदाताहरूबाट अति संवेदनशील र गम्भीरताका साथ रक्तदान गराउँदै आइरहेका छौं । यसरी पीडित पक्षलाई सेवा प्रदान गरिरहेका छौं । रक्तदान गर्न÷गराउन हामी स्वयंसेवी रक्तदाताहरू कहिल्यै पनि चुक्ने छैनौं । भोलिको सम्भाव्य दुर्घटनालाई मध्यनजर गर्दै नेपाल सरकार र सम्बन्धित निकायले स्वयंसेवी रक्तदाताहरूको स्वास्थ्यप्रति ख्याल राख्दै रक्तदान गर्ने÷गराउने वातावरण तयार गरी जवाफदेही हुनसमेत आग्रह गर्दछौं ।
– प्रेमसागर कर्माचार्य
अध्यक्षक, नेपाल स्वयंसेवी रक्तदाता समाज ।

कोरोनाको प्रकोप छिटो साम्य हुँदैन
चीनबाट शुरु भएको कोरोना भाइरसको प्रकोप यतिखेर विश्वमै भयावहरुपमा फैलिइरहेको छ । अमेरिकामा यसबाट मर्नेको संख्या दैनिक बढिरहेको छ । नेपालको सन्दर्भमा भन्ने हो भने यो शुरुवात मात्र हो, यसले कति भयावह रुप लिने हो ? यसै भन्न सकिने अवस्था छैन ।
यस रोगको निराकरण गर्नको लागि आवश्यक औषधि तथा भ्याक्सिन पत्ता लागिनसकेको अवस्थामा जनजीवन थप असहज बन्ने सम्भावना बलियो बन्दै गएको छ । जनजीवन थप असहज बन्न सक्ने सम्भावित परिणामलाई आँकलन गरेर सरकारले अहिले नै योजना बनाउनु जरुरी छ । नत्र पछि पछुताउनुपर्नेछ ।
– नरेन्द्र शर्मा, कलंकी, काठमाडौं ।

 

प्रतिक्रिया दिनुहोस्