विपत्मा नागरिकको कर्तव्य



बालकृष्ण मैनाली ।

आज विश्व स्तब्ध छ । प्रत्येक मानव अचम्म तरिकाले त्रसित हुन पुगेका छन् । त्रसित हुनु स्वाभाविक पनि हो । विश्व महामारीको उदाहरण यो मात्रै होइन, यसभन्दा अगाडि पनि विविध खाले भाइरसका कारण विश्व आतंक सिर्जना भएको थियो । जति त्रसित अवस्थामा भए पनि अन्ततः मानवले त्यसमा विजय हासिल गरी छाड्यो । यो मामिलामा पनि विजय हासिल गर्ने मानवले नै हो भन्ने कुरामा द्विविधा छैन । मात्र चिन्ताको विषय भनेको मानवले विजय हासिल गर्दाको अवस्थासम्म आइपुग्दा यो राक्षसरुपी कोरोनाको कारण कसरी कमभन्दा कम क्षति व्यहोरेर विजय हासिल गर्ने हो भन्ने विषयमा विचार पु¥याउने र त्यसमाथिको बहस नै आजको विश्वव्यापी बहस हो ।

डिसेम्बर महिनामा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस संक्रमणका कारण विश्व त्रसित अवस्थामा पुगेको छ । सबभन्दा मृत्यु इटलीमा भएको समाचार छ भने अमेरिका पनि त्यसको चपेटामा परिरहेको छ । वर्तमान अवस्थामा इटलीका सबै नागरिक घरभित्रै क्वरेन्टाइनमा छन् । यो आलेख तयार पार्दासम्म विश्वभरि दैनिक हजारभन्दा वढी मानवलाई कोरोनाले आफ्नो सिकार बनाइरहेको छ । मानवले यसमा विजय हासिल गरुन्जेल यसैको कारणले कतिले आफ्नो जीवन गुमाउनुपर्ने हो ? त्यसको कुनै यकिन छैन ।

राक्षसी कोरोनाविरुद्धको लडाइँमा आजको दिनसम्म आइपुग्दा लाखौं आलेख, हजारौं अन्तर्वार्ता, लाखौं सत्प्रयासका कदमहरु महामारीविरुद्ध जारी छन् । विश्वका सरकार प्रमुखहरुले आ–आफ्नो तर्पmबाट प्रयास जारी राखेका छन् भने विश्व जनमतले पनि आफ्ना कदमहरुलाई आ–आफ्ना स्थानबाट अगाडि बढाएका छन् । यो प्रक्रियाले निरन्तरता पाइरहनुपर्दछ र संक्रमण नियन्त्रित नभएसम्म जनजनको लडाइँ जारी नै राखिनुपर्दछ भन्नेमा विमति कतै छैन ।

विश्वका जनजनहरुबाट महामारीलाई नियन्त्रणमा लिने प्रयास जारी नै रहेको अवस्थामा महामारी नियन्त्रणको लागि हाम्रो देशमा पनि राज्यदेखि व्यक्तिसम्म सबैको उत्तिकै जिम्मेवारी र दायित्व स्वतः सिर्जना गरिदिएको छ । कोरोनाले धनी, गरिब, ओहदावाल वा पदवाल केही भन्दैन । बेलायतका स्वास्थ्यमन्त्रीदेखि अमेरिकी ह्वाइटहाउसका कर्मचारीसमेत कोरोना संक्रमणको सिकार भएका समाचारहरु सार्वजनिक भएका छन् ।

के कुरामा विमति छँदै छैन भने, प्राकृतिक र दैविप्रकोपमार्पmत मानवीय क्षति हुन जाने कुरालाई एकक्षण अपवादको रुपमा राख्ने हो भने बाँकी समस्या मानवबाटै सिर्जित हुने हुन् । त्यससँगसँगै अन्ततः सिर्जित समस्यालाई मानवले नै अन्त्य गर्ने क्षमता राख्छ भन्ने कुरा पनि त्यत्तिकै सत्य र मूल्यवान् भनाइ हुन् । यस अर्थमा अहिलेसम्मको वस्तुस्थितिलाई अध्ययन गर्दा र विशेषज्ञहरुको भनाइलाई आधार मान्दा कोरोनाले आक्रमण गर्ने भनेको मानवलाई लागेको रुघाखोकीकै कारणलाई माध्यम बनाई एक मानवबाट अर्को मानवमा प्रहार गर्नु हो भन्ने अहिलेसम्मको निष्कर्ष हो । वास्तवमा राक्षसरुपी कोरोनाविरुद्ध तत्काल जुध्न र यसको नियन्त्रणको लागि आवश्यक मूल स्रोत भनेका तत्कालका लागि पनि र भविष्यमा पनि हामी मानव नै लडाकूको रुपमा खटिने हो ।

विश्वका विभिन्न राष्ट्रहरुको प्रयासमार्पत कोरोनाविरुद्धको खोप या अन्य औषधि वा भ्याक्सिन तयारीमा जुट्दै गरेको समाचार पनि बाहिरिएको त छ । आवश्यक औषधि पत्ता लगाएर सकेसम्म चाँडो उत्पादन गरी संसारमा ल्याउने विषयको समाचार सुखद विषयको समाचार बने तापनि त्यसको लागि भने अभैm केही समय पर्खनै पर्दछ । कोरोनाले आक्रमण गर्नेबित्तिकै त्यसको विरुद्ध प्रहार गर्ने शक्ति उपस्थित नभएसम्म वर्तमानमा यसको नियन्त्रणमा हामी मानव नै लागिपर्र्नुको तत्काल विकल्प छँदै छैन । मानवको कर्तव्य नै हुन सक्ने सम्भावित मानव क्षतिको न्यूनीकरणको मूल आधार हो । हरेक मानवको इमानदारी भूमिका नै कोरोना नियन्त्रणको अचूक अस्त्र हो ।

हाम्रो देशको सन्दर्भमा सरकारमा रहेकाहरुले यो मामिलामा कतै–कतै त्रुटि नै गरेका होलान्, तर ढिलै भए पनि लकडाउनको कारण आजको दिनसम्म हाम्रो देशमा कुनै विपत् महामारीको खबर सुन्नुपरेको छैन । तथापि यो कुराचाहिँ दुर्भाग्य नै मान्नुपर्दछ, यस्तो संकटको अवस्थामा पनि मानवीय मूल्य र मान्यतालाई तिलाञ्जलि दिएर सामान्य आर्थिक प्रलोभनको लागि उपभोग्य वस्तुहरुको कृत्रिम अभाव सिर्जना गर्ने र स्वास्थ्य सामग्री खरिद विषयमा आफनो आर्थिक स्वार्थ साँध्ने प्रयास गरिएको वा भएको समाचारहरु सार्वजनिक हुन पुगेका छन्, जुन कुनै पनि स्तरको सरकारलाई सुहाउने विषय हुनै सक्दैन । स्वास्थ्य सामग्री खरिद विषयले अख्तियारमा पनि प्रवेश पायो । स्वार्थ संलग्नतामा रहेकालाई तत्काल कार्यवाहीको दायराले दह्रोसँग च्याप्ला भन्ने आशा जनजनमा छैन । सरकारको बोली र व्यवहारको फरकपनले जनजन आजित भैसकेका छन् ।

राज्य यस्तो संकटमा परेको बेलामा पनि राज्य सञ्चालकहरुले आफ्नो स्वार्थमा निहित धन्दालाई प्राथमिकता दिएको देख्दा नागरिकहरुले पनि आफ्नो कर्तव्य बिर्सने हुन् कि भन्ने डर पैदा भएको छ । घरभित्रै सुरक्षित रहनुपर्ने अवस्थामा जथाभावी बाहिर निस्किएर लकडाउन उल्लंघन गरिएका समाचारले त्यतैतर्पm संकेत गर्दछ । यदि नागरिक स्वयंले आफ्नो कर्तव्य निर्वाह गर्न चुक्ने हो भने भयावह अवस्था निम्तिन समय लाग्दैन ।

सामान्य रुघाखोकी, धूलो र धुवाँबाट सुरक्षित रहने मास्क लाखौंलाखको संख्यामा लुकाइएको अवस्थामा बरामद हुँदा पनि सामान्य रकम जरिबाना गरेर उन्मुक्ति दिनु भनेको ‘मिल्छ र मिलाउन सक्छस् भने जनता र नागरिक केही होइनन्, हामी नै सर्वेसर्वा हौं’ भन्ने सन्देश दिएको भन्ने कुरा जनजनले बुझेका छन् । यसको पछिल्लो प्रमाण स्वास्थ्य सामग्री खरिद घोटाला काण्डले पनि प्रमाणित गरिदिएको छ ।

यस्तो विपद्को समयमा सरकारी रवैयाको वर्तमान रुपलाई नियाल्दा मानवताको लागि यो भन्दा लज्जाको विषय के हुन सक्ला ? यसैको सेरोफेरोमा रहेर महामारीको रुपमा पैmलिरहेको कोरोना भाइरसले यस्ता खालका मानवीय भाइरसलाई मौका परेका बखत आक्रमण गर्दै गर्दैन त्यसलाई मात्र छुट दिन्छ त ? भन्ने जनजनले उठाएको आवाज सराहनीय लगायत सोह्रै आना सत्यतामा आधारित छ ।

देशका शासकहरुले जे–जस्तो गल्ती गरेका छन् तिनीहरुलाई यथासमयमा सजाय दिने हामीसँग रहेका नैसर्गिक अधिकार सुरक्षित छ । समय आएपछि यसको एक–एक हिसाबकिताब लिने कार्यमा अगाडि बढौंला तर अहिलेको वर्तमान समयमा वर्तमानमा देखा परेको महामारीबाट आपूm पनि जोगिने र सँगसँगै परिवार, समाज हुँदै पूरै देशलाई जोगाउने हामी प्रत्येक नगरिकको कर्तव्य एवं दायित्व हो । वर्तमान संविधान हामीले नै दिएका हौं । यस अवस्थामा नागरिकहरुको सामाजिक कर्तव्य र दायित्व मात्र होइन, संवैधानिक कर्तव्य पनि देखा परेको छ । हामी नागरिक कानुनको शासन स्थापना भएन भनेर लडाइँ लडिरहेको अवस्थामा हाम्रा पनि देशमा देखा परेको परिस्थितिलाई सार्थक सम्बोधन गर्न हाम्रा पनि केही संवैधानिक कर्तव्य छन् भन्ने कुरा प्रत्येक नागरिकले मनन गर्नै पर्दछ ।

संविधानको धारा ४८ ले नागरिकका पनि केही कर्तव्यहरुलाई परिभाषित गरेको छ । धारा ४८ को खण्ड (क) देखि (घ) सम्म गरी चार विभिन्न किसिमका कर्तव्यहरुको पालना गर्नुपर्ने कुरालाई औंल्याइएको छ । यसमध्ये धारा ४८ को खण्ड (ग) ले नागरिकले वर्तमानमा गर्नुपर्ने कर्तव्यलाई इंगित गरेको छ । खण्ड (ग) मा राज्यले चाहेको बखत अनिवार्य सेवा गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ । यस अर्थमा राज्यले वर्तमान अवस्थामा प्रत्येक नागरिकबाट सामान्य सहयोगको अपेक्षा गरेको छ । राज्य नागरिकको हो शासकको होइन भन्ने कुरालाई वर्तमानमा हृदयङ्गम गर्नु अनिवार्य छ । शासकलाई त नागरिकले चुन्ने हो भन्ने कदापि बिर्सनुहुँदैन । विगत र वर्तमानका विभिन्न राजनीतिक व्यवसायीहरुलाई शासकको दर्जा प्रदान गर्ने बेलामा छुट्टै हिसाबकिताब गर्ने अवस्था आउँदै छ । त्यति बेला क्षतिपूर्तिसहितको हिसाबकिताब गरौंला । वर्तमानमा नागरिकको कर्तव्य निर्वाह गर्न किञ्चित पछाडि नपरौं ।

सत्यको नजिक पुग्ने हो भने, वर्तमान अवस्थामा विश्वमानव दुई अवस्थामा मात्र बाँचिरहेका छन् । पहिलो– कोरोना संक्रमणरहित अवस्थामा बाँचिरहेका छन् र दोस्रो– कोरोना संक्रमणसहितको अवस्थामा बाँचिरहेका छन् । यो भयावह अवस्थाबाट मानवले विजय हासिल गर्न दुवै अवस्थाका मानवहरुको इमानदारिता र सहयोग अपरिहार्यता विश्वमै भएको छ । एकजना मानवले मात्र यो मामिलामा असहयोग गर्ने हो भने यसले निम्त्याउने भयावह स्थितिको आँकलन गर्न हम्मेहम्मे पर्दछ । यस मानेमा प्रत्येक व्यक्तिले मानवको निमित्त वर्तमानमा मेरो भूमिका भएर सोच्नु र सहयोग गर्नु अनिवार्य भएको छ ।

कतिपय मुलुकमा संक्रमित मानवहरुले आपूm संक्रमित भएको कुरा लुकाएर अन्य संक्रमित नभएका मानवहरुलाई समस्यामा पारिदिएको समाचारहरु सार्वजनिक भएका छन् । जसले गर्दा जो–जो मानवहरु संक्रमितसँग सम्पर्कमा आए, उनीहरु त्रसित अवस्थामा बाँचिरहन विवश भएका छन् । यस अर्थमा यदि संक्रमित जोसुकै भए पनि आपूm संक्रमित भएको कुरा नलुकाउनु र त्यसलाई सार्वजनिक गरेर प्राप्त उपचारमा लाग्नु भनेको अन्य मानवलाई बाँच्न योगदान दिएसरह हुनेछ । सँगसँगै संक्रमित नभएकाहरुले पनि संक्रमित भएको व्यक्तिको पहिचान भैसकेपछि संक्रमितलाई आफ्नो तर्पmबाट हुने हरसहयोग गर्न आनाकानी नर्गन अनि आफ्ना तर्पmबाट हुन सक्ने सहयोग प्रदान गर्न किञ्चित पनि हिच्किचाउनुहुँदैन । यदि एक–आपसमा यस किसिमका सहयोग आदानप्रदान हुन सकेमा हाल देखिइरहेका महामारी नियन्त्रणको लागि छोटो समयमै कोसेढुंगा साबित हुनेछ ।
(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)

 

प्रतिक्रिया दिनुहोस्