कोरानाले हाम्रो वायुमण्डल स्वच्छ पार्यो



लक्ष्मण अधिकारी

आजभोलि काठमाडौको प्रकृति अपूर्व रुपमा आनन्दमय भएको छ । न धुलो उड्छ, न धुँवा, न मोटर गाडिहरुको कर्कस आवाजले दिक्क लगाउँछ, न त घडीको सुईसँगै दौडनु पर्ने हतारो छ । घरको आँगन, बरण्डा र कौसीमा निस्केर आनन्दसँग स्वच्छ बायु पान गर्न पाइन्छ जुन काठमाडौको विगत तीन दशकको बसाईमा कहिल्यै पाइएको थिएन ।

काठमाडौको धुँवा धुलोले विषाक्त बनेको फोक्सो शुद्ध गर्न कहिले ककनी माथीको डाँडोतिर त कलिहे त्रिशुलीको किनारतिर, कहिले पोखरा हुँदै घान्द्रुकतिर उक्लिने तलतल अहिले लाग्दैन । स्वच्छ हरियाली, शुद्ध बायु र कन्चन हिमालको रसस्वादन गर्न काठमाडौमै पाइन्छ ।

घरभित्रका अव्यवस्थित सामग्रीहरु मात्र होइन परिवारसँगै बसेर आपसी मनका अन्तरकुन्दर केलाएर शुद्धिकरण गर्ने र एक अर्कालाई गहिरिएर बुभ्mने अवसर पनि कोरोनाको कहर पछिको लकडाउनले जुराइदिएको छ, जुन आप्नो जीवन कालमा कहिल्यै भोगिएको थिएन । यसो हेर्दा लकडाउनले विग्रिएको दैनिकी र आम्दानीका श्रोतहरु खुम्चिदै जाने त्रासले घरिघरि डिप्रेसनमै लाने होकि भन्ने त्रास नहुने होइन तर जीवनमा कहिल्यै भोग्न नपाएको यस किसिमको अनुभूतिलाई मनन गर्दा त कहिलेकाहिँ यस्तो अवसर पनि आवश्यक नै रहेछ जस्तो महसुस हुन्छ ।

मानिसको अविछिन्न चाहना र लालसालाई हेर्दा जति कमाए पनि, जति भए पुग्ने रहेनछ र सधँै धन आर्जन र शक्ति आर्जनमा जीवनको मूल्य मान्यतालाई विर्सदै कृत्रिम जीवन पद्धतितिर बहकिने रहेछ जस्तो लाग्न थालेको छ । आज अमेरिका, फ्रान्स, इटली, स्पेन जस्ता शक्ति राष्ट्रहरु कोराना भाइरसलाई पराजित गर्न नसकेर आहत भइरहेका छन् ।

 

अष्ट्रेलियाले चार महिना सम्म लागेको आगो नियन्त्रण गर्न सकेन र अन्तत चर्को गर्मि सकिदै गएपछि आफैँ नियन्त्रण हुँदै आयो । अर्थ आर्जन र प्रविधिको विकासलाई मनन गर्दाहिजोसम्म लाग्थ्यो ती राष्ट्रले जस्तो सुकै समस्यालाई पनि तुरुन्तै समाप्त पार्छन होला, तर त्यसो होइन रहेछ । अमेरिका जस्तो राष्ट्रले चिन र भारतसँग हात पसार्नुपर्ने स्थिति आयो ।

प्रकृति माथिको मानिसको अतिक्रमणले मानिसले आफूलगायत सम्पूर्ण प्राणी जगतको अस्तित्व नै खतरामा पारिरहेको छ र आप्mनै जीवन पनि मेसिनतिर रुपान्तरण गर्दै अन्तहिन उपलब्धीको खोजीमा व्यस्त बनाइरहेको छ ।प्रकृतिमाथि मात्र होइन मानव जगत माथि नै लगाम लगाएर सर्वश्रेष्ठ बन्ने मानिसहरुको होडका बीच देखा परेको छ कोरोना भाइरस ।

कोरोना हाम्रो पुस्ताले भोगेको सवैभन्दा ठूलो महामारी हो, जसले विश्वभर एकैचोटी तहल्का मच्चाइरहेको छ, विश्वका मै हुँ भन्ने राष्ट्रहरुलाई पनि धुलो चटाइरहेको छ । विश्वका १४ लाख भन्दा बढी मानिसलाई संक्रमण गरेर ८२ हजार भन्दा बढीको ज्यान लिइसकेको छ कोरोनाभाइरसले । अझै आप्mनो फैलदो गतिलाई रोक्ने संकेत गरेको छैन ।

यसले विरामीहरु र उनीहरुको उपचारमा संलग्नहरुको जीवन त चौपट बनाएकै छ, साथै अरु सर्वसाधारणको सार्वजनिक जीवन र आर्थिक संसारलाई लगभग तहसनहस नै पारेको छ । यो कहाँ पुगेर रोकिन्छ भन्ने कसैले अनुमान गर्न सकिरहेको छैन । तर यसले नराम्रो मात्र गरेको छैन, यसले प्रकृतिलाई सन्तुलित र स्वच्छ बनाउने कार्यमा अविष्मरणीय पाठ मानव समुदायलाई सिकाएर जाँदै छ । यस महामारीले मानिसलाई नयाँ ढंगबाट सोच्न र परिवर्तित र स्वच्छ विश्वको परिकल्पना साकार पार्न मानव समुदायलाई फेरि एकपटक झकझक्याएर अघि बढ्दै गएको छ ।

कोरोनाको महामारीपछि मानिसहरुलाई घरमै बस्न बाध्य पारेपछि स्थल, जल र हवाइ यातायता बन्द हुनुका साथै औद्योगिक मुलुकका विशाल उद्योगहरु समेत ठप्प हुन पुगे । विकाससील राष्ट्रका कल कारखाना, यातायातहरु पनिठप्प भए । जसको प्रत्यक्ष प्रभाव वायु प्रदूषण नियन्त्रणमा पर्न गएको छ । यातायात र औद्योगिक प्रदूषणले विषाक्त बनेको बायुमण्डललाई निर्मलिकरण गर्ने र स्वच्छ बनाउने अपूर्व अवसर सिर्जना भएको छ । यसलाई बर्तमान मानव समूदायले सकारात्मक रुपमा लिन सकिन्छ, किन भने बायु प्रदूषण नै आज मानिसका लागि नसर्ने रोगको प्रमुख कारक बनिरहेको छ ।

कुनै शक्तिशाली एक राष्ट्रले गरेको प्रदूषणको पीडा साना राष्ट्र र विश्वका सम्पूर्ण प्राणी जगतले भोग्नु परिरहेको बर्तमान अवस्थामा हाल भइरहेको लकडाउन यो पीडा कम गराउन र यसतर्फ थप सोच्न बाध्य गराउने एउटा अवसरका रुपमा पनि लिन सकिन्छ ।

घना आवादी र कलकारखाना भएको तथा स्थल र हवाइयातायातको अत्यधिक चाप भएको न्युयोर्कमा लकडाउन पूर्ण रुपमा कार्यान्वयन भइनसकेको भएता पनि त्यहाँको प्रदूषणको तह घट्न थालेको छ । अध्ययनकर्ताहरुले न्युयोर्कमा ३५ देखि ५० प्रतिशतसम्म कार्वोन मोनेअक्साइडको निस्कासनमा कमी आएको बताएका छन् । न्युयोर्कलाई अनपेक्षित रुपमा अत्यधिक कावोर्न मनोअक्साइड उत्पादन हुने शहरका रुपमा लिइन्छ ।

चिन भारत जस्ता अत्यधिक कोइलाको उपभोग हुने देशमा लकडाउन पछि यसको प्रयोगमा कमी भएपछि यसबाट उत्पादन हुने कार्वनडाइअक्साइड, कार्वन मनोअकसाइड र नाइट्रस अक्साइड जस्ता हानिकारक ग्यासहरुको निस्कासन पनि ह्वात्तै घटेको छ । लकडाउनकै कारण हिमाल आरोहण बन्द हुँदा सम्पूर्ण विश्वका हिमालमा छोडिने फोहर पनि कम भएको छ । मानव गतिविधि कम हुँदा नदि र समुन्द्रमा हुने फोहरको मात्रा पनि कम हुँदै गएको बताइको छ ।

लकडाउन पछि विश्वकै बायुप्रदूषणमा कमी आइरहेको सन्दर्भमा अध्ययनकर्ताहरुले कोरोनाको सघन प्रभाव परेका राष्ट्रहरुमा प्रदूषणको तहघटेको देखाउने तथ्यांकहरु र भूउपग्रहबाट खिचिएका तस्वीरहरु सार्वजनिक गरेका छन् ।

इटलीले मार्च १० देखि लक डाउन गरेको थियो त्यसपछि प्रदूषण घटेको देखिएको छ । स्पेनमा मार्च १४ देखि पूर्ण रुपमा लकडाउन लागू भएको थियो । फ्रान्समा मार्च १६ देखि पूर्ण रुपमा लकडाउन लागू भएको थियो । भारतमा पनि लकडाउन पछि पोलुसनको मात्रा ह्वाततै घटेको देखिएको छ ।

।चिन तथा उहानमा प्रदूषण घटेको देखाउने लकडाउन अघि र पछिका भूउपग्रह तस्वीर सन २०१९ र २० मा प्रदूषणको फरक स्थिति दर्शाउने क्रमशः इटली,दक्षिण कोरिया र बेलायतका भूउपग्रह तस्वीरहरु

 

श्रोतः नासा अर्थ, गार्जियन आदि ।

प्रतिक्रिया दिनुहोस्